गाउँको हाटबजारः जे फल्छ त्यही बिक्छ
हेटौंडा– स्थानीय स्तरमा उत्पादित अर्गानिक कृषि उत्पादन बजारसम्म पु्र्याउन नसक्दा विकट गाउँका बासिन्दाको हातमा नगद पर्नु दुर्लभ कुरा हो । नगद नहुँदा नुन, तेल, मसला किनेर खान उनीहरुलाई मुस्किल छ । तर, गाउँका खोला–खोल्सीमा आफैं उम्रने सिस्नुदेखि गुन्द्रुक, पिँडालुसमेत बिक्री हुन थालेपछि मकवानपुरको राक्सिराङ गाउँपालिकाका पिछडिएका चेपाङ र तामाङ जातिका बासिन्दा निकै दंग छन् ।
पछिल्ला तीन वर्षदेखि राक्सिराङ गाउँपालिकाले नियमित हाटबजारको व्यवस्था गरेपछि उनीहरुले जेसुकै उत्पादन गरे पनि सजिलै बिक्री भइरहेको छ । पाखा–पखेरामा उसै फल्ने गिट्ठा, भ्याकुरको समेत परिकार बनाएर पैसा आउन थालेपछि स्थानीय विभिन्न समूह बनाएर उत्पादन गर्नमा जोशिएका छन् । अहिले गाउँमा गुन्द्रुक, चिउरीको फूलबाट बनेको मह, मास, मस्याङ, घैया, पिँडालु, तरुल, कोदो, फापरजस्ता कृषि उपजको उत्पादन पनि बढ्दो अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।
गाउँमा कृषि सहकारी र समूहको संख्या पनि बढ्दो छ । हाटबजारमा स्टल राख्नको लागि आउने स्थानीयको संख्या गत वर्षको तुलनामा यो वर्ष बढेको छ । सोमबार भएको हाटबजारमा कोदोको सेलरोटी र फापरको फुरौला बिक्री गरेर एक घण्टाभित्रै ७ सय रुपैयाँ कमाएपछि राक्सिराङ–७ कि सावित्री चेपाङको मुहारमा बेग्लै खुसी देखिन्थ्यो । हाटबाट भएको आम्दानीले नुन, तेल र मसला किनेर लैजाने उनले सुनाइन् ।
हाटबजारमै चिउरीको फूलबाट बनेको मह, गोलभेडा, साग, पिँडालुजस्ता उत्पादन बिक्री गर्न आएका राक्सिराङकै मानसिंह घलान पनि आफ्नो सामान बिक्रीबाट सन्तुष्ट देखिए । गत वर्षभन्दा यो वर्ष झनै बढी खरिदबिक्री हुने उनले अनुमान गरे । हाटबजार व्यवस्थापनको जिम्मेवारीसमेत लिएका राक्सिराङ–३ का सन्तोष थापाले सोमबारमात्रै बजारमा ३ लाख रुपैयाँ बढीको कारोबार भएको बताए ।
स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने तथा स्थानीय उत्पादनको उपभोगलाई प्रोत्साहित गर्ने उद्देश्यले राक्सिराङ गाउँपालिकाले पाक्षिक रुपमा हाटबजार गर्दै आएको छ । गाउँपालिकाको संरक्षकत्वमा गाउँपालिका केन्द्र ५ नम्बर वडास्थित चैनपुरमा विगतका हिउँदहरुमा झैं यो वर्ष पनि हाटबजार सुरु गरिएको हो ।
बामगती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले २०८१ सालको पहिलो हाटबजारको सोमबार उद्घाटन गरेका हुन् । राक्सिराङ गाउँपालिकाको संरक्षकत्वमा २०६९ वैशाखदेखि पाक्षिक हाटबजार सुरु भएको थियो । हरेक वर्ष वर्षायाम सुरु भएसँगै केही महिना बजार बन्द हुने गर्छ । यो वर्ष पनि वर्षायाम सुरु नहुँदासम्म हाटबजार निरन्तर रहने जनाइएको छ । बजार हरेक महिनाको १ गते र १५ गते सञ्चालन हुनेछ ।
हाटबजारका लागि ३० वटा स्टल निर्माण गरिएकोमा सोमबार पहिलो दिन सबै स्टल भरिएका थिए । हाटबजारमा स्थानीय उत्पादनहरु सिस्नुको फाँडो, गुन्द्रुक, तरुल, पिँडालु, गहत, मास, फापर, कोदो, आलु, बेतबाँसका सामग्री, आरनमा बनाइएका फलामे औजारहरु बिक्रीका लागि राखिएका थिए । स्थानीय परिकार गिट्ठा, भ्याकुर, स्थानीय जातका खसीबोका, लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादित मौरीको महलगायत स्थानीय उत्पादन हाटबजारमा बिक्री गरिएको थियो ।
पश्चिम मकवानपुरको मनहरी बजार हरेक महिनाको १ गते र १५ गते बन्द हुने गर्छ । मनहरीबाट ६ किलोमिटर दूरीमा रहेको राक्सिराङका ग्राहक, उपभोक्ता र व्यापारीलाई समेत आकर्षण गर्ने लक्ष्यका साथ हाटबजार राखिएको हो । बजार उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले विकट गाउँको अर्थतन्त्र चलायमान बनाउन हाटबजारको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।