पर्वतमा अर्को अग्लो र लामो पुल बन्दै

पर्वत-अग्ला र लामा पुलले ख्याती कमाएको पर्वतमा फेरि अर्को उस्तै अग्लो र लामो पुल निर्माण हुने भएको छ ।
पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी पुल बन्न थालेको हो । कुश्माको बडागाउ“स्थित लभ्लीडा“डादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा अर्को पुल बनाउनका लागि सर्वेक्षण गरिएको छ । करिब पाँच सय २५ मिटर लम्बाइ र दुई सय मिटर उचाइमा निर्माण हुने पुलको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको हो ।
कुश्माको ३ स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको स्टिमेट गरिने सर्वेक्षणमा खटिएका इन्जिनियर हेमराज शर्माले जानकारी दिए । “तीनवटै स्थानबाट पाँच सय मिटरभन्दा धेरै लम्बाइ देखिएको छ,” उनले भने, “उपयुक्त लोकेसन छनोट गरेर डिजाइन दिन्छौं ।” उनले कुश्माका विभिन्न स्थानमध्ये लभ्लीडा“डास्थीत माउण्टेट भ्यू होटल साइटको क्षेत्र उपयुक्त हुनसक्ने बताए ।
बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर केसीका अनुसार कुकुरगाढे क्षेत्रको स्थानको क्षेत्र विभिन्न व्यक्तिको आवादी क्षेत्र भएकोले पुल त्यहीं उपयुक्त हुन्छ । “पुल बनिसकेपछि बस्ती विस्तार र अरु विकास पनि चाहिन्छ,” उनले भने, “अन्यत्र सार्वजनिक जग्गा छ । हामीले व्यावसायिक र बस्ती विस्तारका लागि उपयुक्त जग्गा छनोट गर्नुपर्छ ।” कुश्मा–५ की अध्यक्ष चित्रकला भारती शर्माले पनि सबै कुश्मालाई समेट्ने गरी पुल बनाउन जमिनको छनोट भइरहेको बताइन् । “बलेवाको बिमानस्थललाई समेट्नुप-यो,” उनले भने, “कुश्माको व्यावसायिक हितमा पनि सोच्नुपर्छ ।” यो पुल निर्माण भए कुश्मा बजार बागलुङ नगरपालिकाका दुई वडासँग प्रत्यक्ष जोडिने छ भने करिब ३० हजार सर्वसाधारण लाभान्वित हुनेछन् ।
पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण मानिने भएकाले पुल आवश्यक भएको स्थानीय अगुवाले बताएका छन् । “अहिलेसम्म बनेको भन्दा यो पुल अग्लो र लामो हुन्छ,” बलेवाका बलबहादुर पाठकले भने, “बागलुङ र कुश्मामा पर्यटनबाट समृद्धि चाहनेले यो पुललाई प्राथमिकतामा राख्नुपर्छ ।” उनका अनुसार बागलुङ क्षेत्र नम्बर–१ का संघीय सांसद सूर्य पाठकको सक्रियतामा पुलको डिजाइन हुन लागेको हो ।
दुई ठुला नदीले घेरिएको कुश्मालाई अग्ला पुलले वारिपारिका बस्तीसँंग नजिक बनाउने क्रम अग्ला पुलकै कारण बढ्दो छ । दशकअघि बनेको कुश्मा–ज्ञादी पुलले कुश्मा र कटुवाचौपारी आसपासका बासिन्दालाई सुविधा पुगेपछि अहिले कुश्मामा आधा दर्जन आकाशे पुल बनिसकेका छन् । कालिगण्डकी र मोदी खोलाको बीचमा पर्ने कुश्मालाई एकातर्फ बागलुङ र अर्कोतर्फ कुश्माकै अन्य वडाका साथै फलेबास नगरपालिका जोड्न धमाधम पुल बनिरहेका छन् ।
मुलुककै अग्लो दाबी गरिएको ३४४ मिटर लम्बाइ र १३५ मिटर उचाइको कुश्मा–ज्ञा“दी पुल बनेको दशक नबित्दै कुश्मा आसपासमा उस्तै प्रकृतिका आधा दर्जन पुल बनिसकेका छन् । कुश्मा–मुडिकुवा, कुश्मा–कैया, खरेहा–अधिकारीफाँट पुल बनेर सञ्चालनमा आइसकेका छन् । कुश्मा–कैयाले कुश्मालाई बाग्लुङ नगरपालिकाको वडा नम्बर १४ लाई जोडेको छ । कुश्मा–मुडिकुवाले कुश्मा र फलेबास नगरपालिका जोडेको छ । कुश्मा–अधिकारीफाँटले कुश्माकै वडा नम्बर १० पिपलटारी जोडेको छ ।
कुश्माकै उपल्लो बजारबाट बञ्जीजम्पसहितको झोलुंगे पुल निजी क्षेत्रबाट बन्दैछ । स्थानीय व्यवसायीले करिब १५ करोडको लगानीमा पुल निर्माण गरेर बन्जी र स्काई साइक्लिङ लगायतका पर्यटकीय खेल सञ्चालनको तयारी थालेका हुन् । कुश्मा ७ खरेहा र कुश्मा ९ कटुवाचौपारीस्थीत अधिकारीफाँट जोड्ने गरी मोदीखोलामा पुल निर्माण भइसकेको छ ।
पर्वतकै कुश्मा १ पाङबाट बाग्लुङ बजार जोड्न ५४४ मिटर लामो र १६० मिटर उचाइको पुलको काम सुरु भइसकेको कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । उनका अनुसार यो पुल सिंगल स्पानबाट बन्ने पुलमा विश्वकै किर्तिमानी पुल बन्नेछ । पाँच करोडको स्टिमेट अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बाग्लुङबासीलाई यात्रामा सहज मात्रै नभएर जीविकोपार्जनमा पनि धेरै सुधार आउने अपेक्षा गरिएको छ । नया“ पुलसहित कुश्मा बजार आसपासमा अग्ला पुलको संख्या आठ पुग्नेछ ।