वित्त कम्पनीको गैरबैंकिङ सम्पत्ति सवा दुई अर्ब
काठमाडौं– ऋण असुली नहुँदा फाइनान्स (वित्त) क्षेत्र थलिन थालेको छ । यो क्षेत्रमा गैरबैंकिङ सम्पत्तिको चाङ लाग्दा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको तथ्यांकले देखाएको छ ।
निष्क्रिय कर्जा बढ्दै गएका कारण गैरबैंकिङ सम्पत्ति निरन्तर बढेको फाइनान्स कम्पनीहरूको वित्तीय विवरणमा देखिन्छ । गत कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १०.८४ प्रतिशत छ । यस्तै, गैरबैंकिङ सम्पत्ति दुई अर्ब २६ करोड रुपैयाँ छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ९४ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष कात्तिकमा फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ८.३७ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति एक अर्ब ३१ करोड रुपैयाँ हाराहारी थियो ।
नेपाल वित्तीय संस्था संघका पूर्वअध्यक्ष सरोजकाजी तुलाधारले अर्थतन्त्र चलायमान नबन्दा वित्त क्षेत्रमा समस्या चुलिएको बताए । यो क्षेत्रमात्र नभई अर्थतन्त्रको सुस्तताको असर समग्र प्रणालीमा परेको उनको भनाइ छ । उनले भने, ‘अर्थतन्त्र चलायमान छैन । कर्जाको माग पनि छैन । ऋणीको ऋण तिर्ने क्षमता पनि कम भएको छ । यसले समग्र क्षेत्रलाई असर पुगेको छ ।’ वित्त कम्पनीहरूको ९९ प्रतिशत घरजग्गा धितोमा राखिने भएकाले पनि त्यस क्षेत्रको व्यवसाय बिग्रँदा समस्या थपिएको उनले बताए । ‘घरजग्गा बेचेर ऋण तिर्छु भन्नेलाई पनि बिक्री नभएको अवस्था छ । अर्थतन्त्र चलायमान हुँदा त्यस्तो हुँदैन । घरजग्गा नै मुख्य धितो भएकाले पनि यस क्षेत्रमा समस्या बढी देखियो,’ तुलाधरले भने ।
अहिले समस्या वित्त कम्पनीमा मात्र नभएर समग्र बैंकिङ क्षेत्रमा परेको बताउँदै उनले निष्क्रिय कर्जा बढेको भनेर डराउनुभन्दा खुद निष्क्रिय कर्जा बढ्न नदिनतर्फ काम गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘नेट एनपीए कति छ भनेर हेर्नु अहिले उपयुक्त हुन्छ । ऋणका लागि प्रोभिजन राखिएको हुन्छ । अर्थतन्त्र चलायमान हुनेबित्तिकै कर्जा तिर्ने क्रम बढ्ने र क्रमशः प्रोभिजन घट्ने अवस्था सिर्जना हुन्छ । त्यसकारण बाँकीको चाहिँ समस्या हो ।’ अहिले अर्थतन्त्र चलाउनका लागि नीति निर्माणको तहदेखि अन्य सबै मिलेर रणनीतिक रुपमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार गत कात्तिकमा नेपाल फाइनान्सको गैरबैंकिङ सम्पत्ति पाँच करोड ४४ लाख रुपैयाँबराबर छ । एक वर्षअघि यस्तो सम्पत्ति ६ करोड ४२ लाख थियो । यसैगरी गत कात्तिकसम्म गोर्खाज फाइनान्सको गैरबैंकिङ सम्पत्ति ३८ करोड ९६ लाख रुपैयाँको छ । गत वर्ष कात्तिकमा ४५ करोड २९ लाख रुपैयाँ थियो । गुडविल फाइनान्सको गैरबैंकिङ सम्पत्ति ५८ करोड ५७ लाख रुपैयाँ छ । गत वर्ष कात्तिकमा १० करोड ४५ लाख थियो । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको एक करोड ५३ लाखको गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष कात्तिकमा एक करोड ५६ लाख रुपैयाँको थियो । बेस्ट फाइनान्समा ३० करोड ८१ लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ। गत वर्ष कात्तिकमा २३ करोड ७९ लाख रुपैयाँको थियो ।
प्रोग्रेसिभ फाइनान्सको गत कात्तिकसम्म ३४ करोड ४७ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ, जुन एक वर्षअघि ११ करोड ९५ लाख थियो । जानकी फाइनान्समा नौ लाख ७० हजार रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ, जुन एक वर्षअघि पनि त्यति नै थियो । पोखरा फाइनान्सको गैरबैंकिङ सम्पत्ति आठ करोड १३ लाख रुपैयाँबराबर छ । गत वर्ष कात्तिकमा यस्तो सम्पत्ति शून्य थियो । सेन्ट्रल फाइनान्समा गत कात्तिकसम्म दुई करोड १८ लाखको गैरबैंकिङ सम्पत्ति छ, जुन एक वर्षअघि एक करोड ६३ लाखको थियो । मल्टीपर्पस फाइनान्ससँग एक करोड १६ लाखको गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि कात्तिकमा ८५ लाख ४० हजार रुपैयाँको थियो ।
समृद्धि फाइनान्समा १० करोड ८८ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष कात्तिकमा नौ करोड ८७ लाख रुपैयाँको थियो । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको दुई करोड तीन लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ, जुन गत वर्ष कात्तिकमा पनि त्यति नै थियो ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको गत कात्तिकमा एक करोड २१ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि यो कम्पनीको गैरबैंकिङ सम्पत्ति थिएन । आइसीएफसी फाइनान्सको गैरबैंकिङ सम्पत्ति एक करोड ७६ लाख रुपैयाँको छ, जुन गत वर्ष कात्तिकमा ४२ लाख ७० हजार रुपैयाँ थियो ।
मञ्जुश्री फाइनान्सको नौ करोड ३२ लाखको गैरबैंकिङ सम्पत्ति छ, जुन एक वर्षअघि दुई करोड ५९ लाखको थियो । रिलायन्स फाइनान्समा १९ करोड ५९ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ, जुन एक वर्षअघि १४ करोड २२ लाख थियो ।
राष्ट्र बैंकले कारबाही गरी व्यवस्थापन नियन्त्रणमा लिएको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति भने शून्य छ ।