कृषि पर्यटन क्षेत्र निर्माणाधीन «

कृषि पर्यटन क्षेत्र निर्माणाधीन

झापाको गौरादह नगरपालिका–५ को नमुना एकीकृत सहकारी खेती नेपालको एकमात्र कृषि पर्यटन क्षेत्र हो । पछिल्लो समय यो कृषि पर्यटन क्षेत्रको रूपमा विकास हुँदैछ । स्थानीय किसानको जमिन एकीकृत गरी चक्लाबन्दी गरिएको, ठूला गरा, एकै स्थानमा कृषिका विभिन्न खेती सञ्चालन, किसानलाई रोजगारी र गुणस्तरीय उत्पादनमा जोड दिएपछि सरकारले उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको छ ।
गत वर्ष सरकारले मुलुकभरका एक सय पर्यटकीय गन्तव्य घोषणा गर्दा गौरादहको एकीकृत खेती कृषि पर्यटन क्षेत्रको रूपमा सूचीकृत भएको हो । उक्त घोषणाअनुसार खेतीमा कृषि पर्यटनका लागि अहिले आवश्यक भौतिक निर्माण एवं कार्यक्रम तयारी गरिँदै छ । एकीकृत खेती गर्दै आएका किसानले गत आर्थिक वर्षदेखि कृषि पर्यटनलाई पनि अघि बढाएका हुन् ।
नमुना एकीकृत सहकारी खेतीलाई कृषि पर्यटन क्षेत्र निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आवमा पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको नमुना एकीकृत सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईंले बताए । उक्त सहयोगमा सभाहल, होमस्टे निर्माण गरिएका छन् । एक रातमा करिब ५० जना पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण गरिएको अध्यक्ष चापागाईंले बताए । १० कट्ठा जमिनमा निर्माण गरिएका होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ठ जानकारी दिनका लागि व्यवस्थित सभाहल पनि निर्माण गरिएको छ । सभाहल निर्माण भइसकेको छ भने, पाहुना घर (होमस्टे) निर्माणकार्य जारी छ । उक्त संरचना निर्माणमा अहिलेसम्म २ करोड रुपैयाँ खर्च भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कृषि मन्त्रालय, र संस्थाले बजेट विनियोजन गर्दै आएका छन् ।

अवलोकन केन्द्र्र बन्दै
सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसानका लागि उक्त खेती अध्ययन, अवलोकनको केन्द्रसमेत बन्दै गएको छ । विशेषगरी साना सहकारी, किसान सहकारीका प्रतिनिधि, कृषि विज्ञ, किसान, विद्यार्थी, आउने गरेको संस्थाका अध्यक्ष चापागाईंले बताए । वार्षिक २० हजारभन्दा बढी खेती अवलोकनका लागि आउने गरेको नमुना एकीकृत सहकारी खेतीका व्यवस्थापक अर्जुन खतिवडाले जानकारी दिए । उक्त खेतीलाई गौरादहस्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवद्र्धन गरेको छ । ०७१ सालमा स्थानीय ७४ घरपरिवारको ८० बिघा जमिनलाई एकीकृत गरी खेती गर्दै आएको खतिवडाले बताए । किसानका साना–साना टुक्रा खेतलाई जोडेर चक्लाबन्दी बनाइएको छ ।

रोजगारीको अवसर
स्थानीय किसानले एकीकृत खेती प्रणालीमा रोजगारीसमेत पाएका छन् । संस्थाले ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ । खेत संस्थालाई दिएपछि दैनिक काम गर्न इच्छुक किसानलाई संस्थाले प्रतिघण्टा ज्यालादारीमा काम दिने गरेको छ । वार्षिक एक सय घण्टा काम गर्ने किसानलाई श्रमबोनस १० प्रतिशत र सेयर बोनसबाट ४० प्रतिशत मुनाफासमेत बाँड्ने खतिवडाको भनाइ छ । एकीकृत गरी खेती गर्न थालेपछि किसानको जमिनको उत्पादकत्व बढेको छ । खेतीको लागि जग्गा सहकारीलाई दिएवापत किसानलाई संस्थाले वार्षिक प्रतिबिघा ३२ मन धान उपलब्ध गराउँदै आएको थियो । यस वर्षदेखि ३३ मन धान उपलब्ध गराउन सुरु गरिएको सहकारीले जनाएको छ । प्रत्येक वर्ष १ मन धान थप गर्दै लाने नियम बनाइएको छ ।

हाइब्रेट बीउ उत्पादन गर्दै
सहकारीले धानबाली अनुसन्धान केन्द्रसँग सहकार्य गरेर हाइब्रेट धानको बीउसमेत उत्पादन गर्दै आएको छ । वार्षिक ५ बिघा क्षेत्रफलमा गहुँको मूल बीउ उत्पादन गर्ने गरेको छ । संस्थाले मकैबाली अनुसन्धान केन्द्रसँगको सहकार्यमा हाइब्रेट मकैको बीउसमेत उत्पादन गर्दछ । खेतीमा समान रूपमा सबै तिर सिँचाइ पुग्ने गरी खेत सम्याइएको छ । खेतसम्म गाडी पुग्ने बाटोको व्यवस्था गरिएको छ । ग्रामीण भेगका खेत बाँझो राख्ने अवस्थालाई शून्यमा झारेको सहकारीका अधयक्ष चापागाईंको भनाइ छ । धान, मकै, गहुँमो अलावा तरकारी, तोरी, घाँस खेतीसमेत गर्दै आएको अध्यक्ष चापागाईंले बताए । किसान महिला दिदीबहिनीलाई स्वरोजगार बनाउन संस्थाले नमुना अचार उद्योग सञ्चालनमा ल्याएको छ । उद्योगले उत्पादन गरेको अचार अहिले देशका मुख्य सुपरमार्केटमा बिक्री हुँदै आएको छ । सहकारीले सामूहिक गाईपालनसमेत गरेको छ । त्यस्तै संस्थाले माछापालन पनि गरिरहेको छ । सहकारीले चिउरा मिल निर्माणसमेत गर्दैछ । उन्नति परियोजनाको सुगन्धित तेल उत्पादन गर्ने काम पनि सुरु गरेको छ । उक्त मेसिनबाट निस्कने सुगन्धित पानीबाट साबुन बनाइन्छ । गत वर्ष सहकारीले बहुमूल्य क्यामोमाइल फूलसमेत लगाएको थियो । यस फूलबाट निस्कने तेल प्रतिकिलो सहकारीले ४० हजार रुपैयाँमा बिक्री गरेको थियो । पाँच बिघामा लगाइएको फूलबाट ७ किलो बढी तेल उत्पादन गरेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्