Logo

सकियो चितवन हात्ती तथा पर्यटन महोत्सव

चितवन– पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सकिएको छ । गत बिहीबारदेखि सुरु भएको महोत्सवमा आन्तरिकसँगै बाह्य पर्यटक गरी ३५ हजार सौराहामा भित्रिएको क्षेत्रिय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । सौराहामा वर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र अन्य जंगली जनावर अवलोकनका लागि पर्यटक सौराहा आउने गरेका छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सौराहाका होटल व्यवसायीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । दुई दशकअघिदेखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहासहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने गरेको महासचिव गुणराज थपलियाले बताए ।

हात्ती महोत्सवअन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग गोष्ठी पनि आयोजना गरिएको थियो । महोत्सवमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्