जाडोयाममा बच्चाको हेरचाह र लगानी «

जाडोयाममा बच्चाको हेरचाह र लगानी

 

जाडोयाममा नुहाएर जाडो हुन्छ भन्ने भ्रम हो । शरीर जति सफा हुन्छ उति छिटो तात्छ ।

चिसोका कारण बच्चालाई रुघाखोकी र निमोनियाँ हुने होइन । रोगको भाइरस चिसोमा बढी सक्रिय हुने मात्र हो । भाइरस नै छैन भने चिसोले रोग लाग्दैन । त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

विश्वको तुलनामा नेपालको तापक्रम जीवनयापन अनुकूल छ । मानिसको शरीरको तापमान ३७ डिग्री सेल्सियस हुन्छ । मानिसका लागि उत्तम हावापानी २० देखि ३० डिग्री सेल्सियस हो । सामान्यतया ग्रीष्ममा तराईको तापक्रम ४०, पहाडको ३० र हिमालको २० डिग्री सेल्सियससम्म पुग्छ । त्यस्तै, जाडोयाममा तराईमा १०, पहाडमा ० र हिमालमा माइनस १० डिग्री सेल्सियससम्म तापमान झर्ने गर्छ । तथापि गर्मीयाममा केही महिना र जाडोयाममा केही महिना शरीरको सुरक्षाका लागि प्रयास भने गर्नुपर्छ । यस लेखमा जाडोयाममा शिशु र बालबालिकालाई पीडा र रोगबाट बचाउन ध्यान दिनुपर्ने घरेलु उपायबारे चर्चा गरिएको छ ।
सुताउँदा खप्टाएर सुरुवाल, टिसर्ट वा अन्य लुगा लगाइदिनु हुँदैन । सुतेको समयमा छालाको बाहिरी तहबाट रक्तसञ्चार हुने हुँदा सकेसम्म इलास्टिक नभएको लुगा लगाइदिनुपर्छ । उठेको बेलाभन्दा सुतेको बेला इस्लास्टिक र लुगा खुकुलो हुनुपर्छ । लुगा जति खप्टायो, इलास्टिक उति कसिलो हुँदै जान्छ । शरीरमा लुगा कसिलो र धेरै भयो भने सुतेको बेला यताउति सर्दा र कोल्टे फेर्दा आफ्नै लुगाले शरीरका भाग बाँधिने, तानिने र पाछ्ने हुन्छ ।
कतिपय बच्चाको सिरक फाल्ने बानी हुन्छ । उनीहरूलाई जबरजस्ती सिरक ओढाइदिंदा पैताला पोल्ने गर्छ । उनीहरू मस्त निदाउन सक्दैनन् र निद्रामा बाधा पर्छ । त्यसैले सिरकको साटो शरीर पूरै छोप्ने खुकुलो नाइट ड्रेसको व्यवस्था गर्नु राम्रो हुन्छ । सुत्दा मोजा लगाइदिनु हुँदैन । यसले पैतालामा रक्तसञ्चारलाई अवरोध गर्छ । सबै बच्चालाई बराबर चिसो लाग्छ भन्ने हुँदैन । बाक्लो सिरक फाल्ने बच्चालाई पातलो सिरक ओढाइदिनुपर्छ ।
चिसोका कारण बच्चालाई रुघाखोकी र निमोनियाँ हुने होइन । रोगको भाइरस चिसोमा बढी सक्रिय हुने मात्र हो । भाइरस नै छैन भने चिसोले रोग लाग्दैन । त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । बाहिरी चिसोभन्दा पसिनाका कारण हुने चिसोले बच्चालाई बढी हानि गर्छ । लुगाले गुम्सेर शरीरमा पसिना आउने र त्यो पसिना सेलाएर बच्चालाई चिसो लाग्न सक्छ । त्यसैले हावा नछिर्ने र पोलिस्टरको लुगा सकेसम्म लगाइदिनु हुँदैन ।
जाडोमा पनि हातमुख धुन, नुहाउन र लुगा धुन ढिला गर्नु हुन्न । फोहोरले रोगको सम्भावना बढाउँछ । जाडोयाममा नुहाएर जाडो हुन्छ भन्ने भ्रम हो । शरीर जति सफा हुन्छ उति छिटो तात्छ । बच्चालाई नुहाइदिँदा सम्भव भए शरीर नै तातो पानीमा दुई÷चार मिनेट डुबाइदिनुपर्छ । त्यसो गर्न नसके हातखुट्टा मात्र भए पनि डुबाउन दिने र धेरै पटक तातोपानी खन्याइदिने गर्नुपर्छ । त्यसपछि साबुन लगाएर मिच्दासम्म शरीर चिसो हुँदैन । यसरी नुहाउँदा बच्चाले रमाइलो पनि मान्छन् । बच्चालाई तातोपानीमा खुट्टा र हात जति पटक र समय डुबाउन दिनुहुन्छ, बच्चालाई उति रमाइलो र बाँकी समय समेत शरीर तातो हुन मद्दत गर्छ ।
घाम लागेको भनेर खुला ठाउँमा नुहाइदिनु वा घाम तपाउने भनेर नांगै घाममा राख्नु हुँदैन । घाम लागे पनि खुला ठाउँमा बतास चलिरहने हुँदा बच्चालाई चिसो भइरहन्छ । नुहाएर सक्नासाथ न्यानो सुती कपडाले बच्चाको शरीर पुछिहाल्नुपर्छ । तेल घसेर लुगा लगाइदिने भन्दै केही समय बच्चालाई नांगै राख्दा चिसो हुन्छ । तत्काल लुगा लगाइदिएर तताउने र पछि तेल लगाउने बेला मात्र लुगा खोलिदिनु उपयुक्त हुन्छ ।
शरीरमा लगाएको लुगा शरीरको तापले तातेको हुन्छ । त्यो लुगा खोलेर अर्को लुगा लगाउँदा बच्चालाई चिसो हुन्छ । नयाँ लुगाले केही समय शरीरबाट तातो सोसेर आफू तातो हुन्छ । बच्चाको लुगा अभिभावकले सिरकभित्र राखेर सुत्नुपर्छ । बिहान बच्चा उठ्नेबित्तिकै सिरकभित्र तातेको लुगा लगाइदिएर मात्र बच्चालाई सिरक बाहिर निकाल्नुपर्छ । राति बच्चाले ओछ्यानमा पिसाब गरिहाल्यो भने लुगा र ओछ्यान फेर्नु हुँदैन । त्यही पोजिसनमा सुतिरहँदा पिसाबले चिसो हुँदैन, थोरै पिसाब बाफ भएर सिद्धिन्छ ।
तातो बनाउन कोइला, मकल, ग्यास हिटर वा मटीतेल हिटर बाल्ने हो भने अनिवार्य दोहोरो हावा खेल्ने गरी झ्याल खोल्नुपर्छ । कुनै पनि प्रकारको आगो बाल्दा कोठामा भएको अक्सिजन बलेर सकिन्छ । इलेक्ट्रिक हिटर (इन्फ्रारेड हिटर) ले अक्सिजन नष्ट गर्दैन, तर हावाको सापेक्षिक आद्रता भने कम गर्छ । मानिसलाई ५० प्रतिशतभन्दा बढी सापेक्षिक आद्रता चाहिन्छ । आद्रताको पूर्ति गर्न कोठामा पानी भरेका भाँडा राख्नुपर्छ । आद्रता कम भएमा शरीरको ओसिलोपन उडेर जान्छ । नाक, मुख र घाँटी सुक्का हुने तथा ओठ र छाला फुट्ने हुन्छ ।
एयर कन्डिसनर (एसी) स्वास्थ्यका लागि हानिरहित हुन्छ तर यसको मूल्य १ लाख रुपैयाँमाथि पर्ने र बिजुली धेरै खपत गर्ने हुँदा आममानिसका लागि पहुँचयोग्य हुँदैन । त्यस्तै आयल रेडियटर हिटर कम हानिकारक हुन्छ । थोरै मात्रामा आद्रता यसले पनि घटाउँछ । त्यसैले यस्तो हिटर राख्दा समेत कोठामा पानी भरेका भाँडा राख्नु लाभदायक हुन्छ । यो हिटरले इन्फ्रारेड हिटरले जस्तो आँखालाई नोक्सान गर्दैन । यसको मूल्य २० हजार रुपैयाँ माथि पर्ने र बिजुली धेरै खपत गर्ने हुँदा आममानिसका लागि पहुँचयोग्य नहुन सक्छ ।
बच्चालाई तातै खुवाउनका लागि माटो वा हार्ड प्लास्टिकको भाँडो प्रयोग गर्नु राम्रो हुन्छ । धातुको भाँडामा खुवाउने हो भने तातोपानी उपयोग गर्नुपर्छ । अलिक ठूलो भाँडामा तातोपानी भर्ने र त्यसमाथि बच्चाको खानाको भाँडा राख्दा लामो समय खाना चिसो हुँदैन । खाना सेलाउँछ भनेर छिटो–छिटो खुवाउने र अन्तिमतिर एकै पटक धेरै खुवाइदिने गर्दा बच्चालाई पीडा र बान्ता हुने सम्भावना रहन्छ ।
मौसमअनुसार बच्चाको ध्यान राख्न नजान्दा धेरै दम्पतीलाई आफ्नो काम तथा परिवारमा सन्तुलन मिलाउन गा-हो पर्छ । तसर्थ, दम्पती अझ विशेष दुवै कामकाजी दम्पतीको हकमा बच्चालाई जाडोयाममा विशेष ध्यान नदिँदा आफ्नो काममा पनि असर गर्छ । तसर्थ समयमै सचेत दम्पतीलाई आफ्नो काम तथा घरपरिवारबीच सन्तुलन कायम गर्न पनि आफ्ना बच्चाका बारेमा पहिल्यै सचेतता अपनाउनु आवश्यक हुन्छ । स्वस्थ बालक भोलिको ऊर्जाशील तथा कर्मशील नागरिक हो । विभिन्न मुलुकमा फ्रम उम्ब टु टुम्ब अर्थात् गर्भदेखि चिहान (मरण) सम्मका लागि लगानी गर्ने भनेको बच्चा गर्भमा आएदेखि विशेषतः ६ वर्षको उमेरसम्ममा हो भनिन्छ । किनकि बच्चा गर्भमा आएदेखि ६ वर्षसम्ममा उसको सबै प्रकारको शारीरिक तथा मानसिक विकासको आधारशिला हो । अभिभावकले यतिबेला बच्चाका लागी जति लगानी गर्छन्, त्यसैको आधारमा बच्चाले आफ्नो बाँकी जीवनमा शारीरिक तथा मानसिक विकास गर्छ, त्यो नै उसको सम्पूर्ण जीवन बाँच्ने आधारशिला हो भन्नेबारेमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शोधपत्र तथा स्वास्थ्यका विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्