Logo

महिलाका भरमा जुम्लाका गाउँघर

जुम्ला– गाउँमा रोजगारी नभएपछि कर्णालीका गाउँ बस्ती युवाविहीन बनेका छन् । स्थानीय सरकारले युवाको सीप क्षमता र दक्षतानुसार रोजगारी दिन नसकेपछि कालापहाड (भारत) र तेस्रो देशमा युवा पलायन बढेपछि गाउँ युवाविहीन बनेका हुन् । युवा पलायन भएपछि बुढापाका र महिलाले गाउँ कुरिरहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकनुसार कर्णाली प्रदेशका ९४ हजार युवा रोजगारीको खोजीमा वैदेशिक मुलुकमा छन् । कर्णालीबाट कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जानेको संख्या उल्लेखनीय भए पनि सरकारी तथ्यांक छैन । बढ्दो युवा पलायनकै बीच गत बुधबार कर्णाली प्रदेशको मुगुमा एउटा कारुणिक तस्बिर सार्वजनिक भयो । मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका–४ माझचौर गाउँका महिलाले स्टे्रचरमा बिरामी बोकेर उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजाँदै गरेको तस्बिरले सबैको ध्यान खिच्यो ।

बुझ्दै जाँदा गाउँमा दु:ख बिरामी पर्दा विरामीलाई अस्पताल लैजान पनि युवा नभएपछि महिलाले स्ट्रेचरमा बोकेर उपचार गराउन लगिएको भेटियो । ती महिलाले खत्याड गाउँपालिका–३ माथिखर्क गाउँकी ७० वर्षकी पन्चा टमटा दमले थला परेर अवस्था जटिल भएपछि महिला मिलेर बोकेर औषधि पसल पुर्‍याएर उपचार गराएका थिए । पन्चाका छोरा चन्द्रबहादुर विक आफू घरमै भए पनि दमले थला परेकी आमालाई स्वास्थ्य संस्था पुर्‍याउन एक्लै सम्भव नभएको र गाउँमा अरु युवा नभएकाले गाउँकै महिला दिदीबहिनीले बोकेर मेडिकलसम्म पुर्‍याउन सहयोग गरेको बताए ।

मुगु खत्याड माथिखर्कका ६० घरधुरी सबै युवा यतिबेला युवाविहीन छन् । भौगोलिक रूपमा विकट कर्णालीका बस्तीमा युवाविहीन हुँदा महिलाले धानिरहेको गाउँ र बोक्नु परेका कष्टको एउटा उदाहरण मात्रै । नदेखिएका कारुणिक घटना थुप्रै छन् । जसका कारण मुगु खत्याड गाउँपालिका–३ माथि खर्क गाउँका स्थानीय महिलाले युवाििहीन गाउँको बाध्यता बुझ्दै दु:ख विरामी हुँदा अस्पताल पुर्‍याउने मात्र नभई जिउँदाको जन्तीदेखि मर्दाको मलामीसम्म बन्न तयार छन् ।

महिलाले बिरामी बोक्नु पर्ने बाध्यतामात्र छैन । मुगुका रातापानीका कमल कार्की भन्छन्, ‘गाउँमा रोजगारी नहुँदा बालादेखि बुढासम्म कमाउन गएका छन् । बिरामी बोकेको दृष्य उदाहरणमात्र हो । गाउँको रेखदेख पनि महिलाकै भरमा छ । विकास निर्माणका काम पनि उनीहरूले गरिरहेका छन् । महिलाले गाउँ कुर्नुपर्ने र युवाले घर छोड्नु पर्ने हाम्रो नियति बनेको छ ।’ गाउँमा बिरामी भएका बेला अस्पतालसम्म लिने युवा नहुनु दु:खद पक्ष हो । यसमा राज्य चुकिरहेको छ । तीनै तहका सरकार टुक्रे योजना र कार्यकर्ता पोस्ने खालका कार्यक्रममै रमाएका छन् । तर उत्पादनमुखी कार्यक्रममा लगानी बढाएर युवा जनशक्ति र सीपको पलायन रोक्न स्थानीय तहले ध्यान दिन नसकेको उनको भनाइ छ ।

कृषि, पर्यटन, जडिबुटी, विकास निर्माण लगायतका क्षेत्रसँंग युवालाई जोडेर आर्थिक समृद्धि र रोजगारी सृजनाका कार्यक्रम गर्न सकिने भए पनि स्थानीय तहले त्यसतर्फ ध्यान नदिँदा बेरोजगारीको समस्या चुलिँदै गएको छ । उनले थपे, ‘गाउँमा युवा कसरी बसुन् । रोजगारी छैन, श्रम गरेर ५/६ महिना पनि खान पुग्दैन । ज्याला मजदुुरी गरेका ठाउँमा भनेकै बेला ज्याला मिल्दैन । परिवार पाल्नै पर्‍यो । ऋण तिर्ने पर्‍यो । बाध्य भएर कर्णालीका युवा गाउँ छोड्नु परेको छ । यो विषयमा स्थानीय सरकार संवेदशील हुनैपर्छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक वर्षमा १० हजार युवालाई रोजगारी दिने महत्त्वकाँक्षी योजना ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । युवाको सीप र क्षमताको परिचालन गरी कर्णालीको गरिबी, बेरोजगारी न्यूनीकरण गर्ने लक्ष्य राखिएको कर्णाली समृद्धि परियोजना नीतिमै सीमित भएको छ । मुख्यमन्त्री कँडेल सत्तामा आएको महिनौ बिते पनि कार्यविधि निर्माणको अभावले हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्