Logo

ब्राण्डिङ खोज्दै धनकुटाको एभोकाडो

धनकुटा– धनकुटामा कुनै समय गुणस्तरीय उत्पादन र नगदे बालिका रूपमा रहेको सुन्तलामा मौषम परिवर्तन, रोग कीराको प्रकोप, तापक्रम वृद्धिलगायतका कारण सुन्तलाखेती मासिँदै गएपछि धनकुटाका किसानका लागि एभोकाडो खेती नयाँ अवसर बनेको छ ।

धनकुटामा एभोकाडो खेतीको क्षेत्र विस्तार र उत्पादन पनि उत्साहजनक भए पनि जात पहिचान, ग्रेरडिङ र ब्राण्डिङको काम नहुँदा किसानले अपेक्षित फाइदा लिन भने सकेका छैनन् । धनकुटा नगरपालिकामा अहिले ४९ सय २६ किसान परिवारले १२ हजार ९९ रोपनीमा एभोकाडो खेती गरेका छन् । धनकुटा नगरपालिकामा मात्रै एभोकाडोको बिरुवा र फल बिक्रीबाट वार्षिक करिब आठ करोड रुपैयाँको कारोबार हुन्छ । तर किसान एभोकाडोको जात, प्रकार, खेती प्रविधि र यसमा लाग्ने रोगकीराका बारेमा जानकार छैनन् ।

धनकुटाको कर्मिटारका एभोकाडो उत्पादक किसान टीका श्रेष्ठले भने, ‘अहिले सुन्तला खेतीको विकल्पमा किसान र सरोकारवाला निकायले एभोकाडोको रोज्दै आए पनि उत्पादन गर्ने किसान एभोकाडोको जात, प्रकार, खेतिप्रविधि बारे जानकारी नहुँदा समस्यामा भइरहेको छ ।’ एभोकाडो उच्च पोषणयुक्त फल हो । विभिन्न खालका भिटामिन, चिल्लो पदार्थ र खनिज पाइने हुनाले यसका उपभोक्ता पनि दिन प्रतिदिन बढ्दै गएका छन् ।

बढ्दो बजार मागका कारण खेतीमा लाग्न चाहने किसानको संख्या पनि थपिँदै गएको छ योसँगै अवसर र चुनौती दुवै थपिएको श्रेष्ठ बताउँछन् । एभोकाडोको बोटले लामो समयसम्म फल दिन्छ । एकपटक विरुवा हुर्काएपछि लामो समयसम्म उत्पादन लिन सकिने भएपछि किसान एभोकाडो खेतीमा आकर्षित छन् । तर कुन हावापानीमा कुन र कस्तो जातको एभोकाडो लगाउने भन्नेमा किसानमा अन्योल छ । धनकुटाको टेकुनालाका किसान रसबहादुर राई एभोकाडो खेतीमा आफ्नो लगाव भए पनि जात र प्रविधिका बारेमा आफू प्रष्ट नभएको बताउँछन् ।

एभोकाडो उत्पादनमा देखिएका चुनौती त छँदैछन् । अब उत्पादनको पहिचान र विश्वसनीयताका लागि ब्राण्डिङ अनिवार्य सर्त हो धनकुटामा एभोकाडो खेतीले व्यावसायिकरूप लिन थाले पनि ग्रेडिङ र ब्राण्डिङकोमा काम हुन सकेको छैन । जसका कारण उत्पादक किसानले एभोकाडो बिक्रीबाट अपेक्षा गरिएअनुसार लाभ हासिल गर्न नसकेको धनकुटा नगरपालिका–७ का अर्का एभोकाडो उत्पादनक किसान दिनेश श्रेष्ठले बताए ।

धनकुटामा एभोकाडो फलको खेती विस्तार र उत्पादनले व्यासायिक रूप लिँदै गएको छ । तर धनकुटामा उत्पादित एभोकाडो आफ्नै पहिचान लिएर उपभोक्तामाझ पुग्न सकेको छैन । धनकुटामा उत्पादित एभोकाडोको ट्रेडमार्कका बारेमा स्थानीयस्तरमा औपचारिक र अनौपचारिक छलफल हुने गरेका भए पनि यसको ठोस कार्यक्रम भने नभएको श्रेष्ठले बताए ।

यसैबीच गुणस्तरीय एभोकाडो उत्पादन, लेभलिङ र ब्राण्डिङका साथै बाह्यबजार प्रवर्द्धनका लागि प्रकृयागत काम अघि बढाइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । एभोकाडो खेती प्रवर्द्धनदेखि लिएर लेभलिङ र ब्राण्डिङ लगायतका काममा स्थानीय सरकारले आफ्नो तहबाट गर्नसक्ने कार्य गरिरहेको प्रमुख तामाङको भनाइ छ । अहिले धनकुटाका किसानलाई गुणस्तरीय एभोकाडो उत्पादन गर्नुपर्ने चुनौती छ ।

एभोकाडो गुणस्तर सुधार गरी यसको ब्राण्डिङ र लेभलिङ गर्नसके मूल्य श्रृङ्खला बढाएर किसानको आम्दानीमा थप सुधार ल्याउन सकिन्छ । आन्तरिक बजारमा प्रतिस्पर्धात्मक लाभ लिन सकिने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा निर्यातका अवसर प्राप्त हुन सक्छन् । बजारमा बिक्रीको अवसर सुनिश्चित गर्न धनकुटाले एभोकाडो ब्राण्डिङको काममा ढिलाइ गर्न नहुने कृषि अभियान्ता जीवनप्रसाद राईले बताए ।

प्रतिक्रिया दिनुहोस्