सरकारलाई धान बेच्न किसान अनिच्छुक
वीरगन्ज– सरकारलाई धान बिक्री गर्न किसान अनिच्छुक रहेका छन् । सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बजारमा धानको मूल्य बढी रहेको कारण किसान सरकारलाई धान बिक्री गर्न अनिच्छुक रहेका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जले मंसिर २० देखि नै धान खरिद सुरु गरे पनि किसानले भने न्यून परिमाणमा मात्रै धान बिक्री गरिरहेका छन् । कम्पनीले अहिलेसम्म करिब एक हजार पाँच सय क्विण्टल मात्रै धान खरिद गरेको कम्पनीका प्रमुख पंकज झाले जानकारी दिए ।
उनका अनुसार कम्पनीले अहिले सोना मन्सुली धान मात्रै खरिद गरिरहेको छ । सरकारले सोना मन्सुली मध्यम धानको समर्थन मूल्य ३ हजार पाँच सय ८० रुपैयाँ निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा रहेको स्थानीय बजार मूल्य निर्धारण समितिले जिरा मसिनो चामलको ४ हजार रुपैयाँ प्रति क्विण्टल मूल्य निर्धारण गरे पनि अहिलेसम्म धान बिक्रीका लागि भने किसानले नल्याएको प्रमुख झाले बताए ।
वीरगन्जस्थित खाद्य व्यापार कम्पनीलाई यस वर्ष ४२ हजार क्विण्टल धान खरिदको लक्ष्य दिएको छ । प्रथम चरणमा सोना मन्सुली (मध्यम) धान ३२ हजार क्विण्टल र जिरा मसिनो धान १० हजार क्विण्टल खरिद गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख झाले बताए । गत वर्ष पनि किसानले बजारमै धेरै मूल्य पाएपछि सरकारलाई कम मात्रामा धान बिक्री गरेका थिए । सरकारले तोकेको समर्थन मूल्यभन्दा बजार मूल्य बढी भएकोले किसानले धान बिक्रीका लागि नल्याएका हुन् ।
धान बिक्रीका लागि कम्पनीसम्म ल्याउँदा बाटोमा प्रहरीले समेत दु:ख दिने गरेको किसानहरूको गुनासो छ । सशस्त्र प्रहरी र र नेपाल प्रहरीले धान लोड गरेर ल्याउने ट्याक्टरहरूलाई विना कारण रोकेर दु:ख दिने गरेका कारण किसानहरूले गाउँबाट धान बिक्रीका लागि ल्याउन खोज्दैनन् । खुला सीमाका कारण भारतीय धान नेपालमा ल्याउने भएकोले सीमाक्षेत्रमा सुरक्षा निकायले कडाई गर्ने क्रममा किसानहरू मारमा पर्ने गरेका हुन् ।
सीमासँगै जोडिएको खेतमा उब्जनी भएको धान बिक्रीका लागि वीरगन्ज ल्याउने क्रममा ठाउँ ठाउँमा हुने चेकिङले गर्दा उनीहरू झण्झण्ट मान्ने गर्छन् । वीरगन्ज पथलैया औद्योगिक करिडोरका खाद्य उद्योगहरूमा नेपाली सोना मन्सुली धान खपत हुने भए पनि जिरा मसिनोका लागि भने भारतबाटै आयात हुन्छ । ओम एग्रो प्रोडक्ट प्रालिका निर्देशक नारायाण रुङगटा नेपालमा जिरा मसिनो धानको उत्पादनले चामल उद्योगहरूलाई नपुग्ने भएकोले अधिकांश भारतबाटै आयात गर्ने गरेको बताए ।
अहिले बजारमा सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा धान खरिद गर्नु परेको उनी बताउँछन् । रुङटाका अनुसार सोना मन्सुलीकै अहिले बजारमा ३ हजार ७ सय प्रति क्विण्टल खरिद मूल्य पर्ने गरेको छ । जिरा मसिनोको भने ४ हजार ३ सय रुपैयाँ प्रति क्विण्टल खरिद दर छ । जिरा मसिनोको तुलनामा सोना मन्सुलीको मूल्य महँगो भएको उनको बुझाइ छ । जिरा मसिनो र सोना मन्सुलीको मूल्यमा कम फरक भयो भने धेरै उपभोक्ताहरू जिरा मसिनो मात्रै खान खोज्ने रुङगटा बताउँछन् ।