गुलियो उखुको उधारो व्यापार
जनकपुरधाम– महोत्तरीका किसान यो पटक पनि स्थानीय चिनी मिललाई उधारोमा उखु बिक्री गर्न बाध्य भएका छन् । उखु भएको खेत खाली गरेर गहुँ मुसुरो बाली लगाउने चटारोमा रहेकोले चिनी मिललाई उधारोमा उखु बिक्री गर्न किसान बाध्य भएका हुन् । किसान रामविनोद महतो भन्छन्, ‘समयमै उखु काटेर मिललाई नदिए मिलले चलान दिँदैन । त्यसैले पुरानै मूल्य र त्यसमा पनि उधारोमा उखु बिक्री गर्नु परेको छ ।’
महोत्तरी गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगलाई चित्त नबुझे पनि बाध्य भएर उखु बिक्री गरेको अर्का किसान अरुण गिरीले बताए । उनले भने,‘हामीले आफ्नो उत्पादनको मूल्य आफैं तोक्न सकेका छैंनौ । संघीय सरकारले उखु बिक्री गर्ने दर रेटमा उखु बिक्री गर्दा लागत मूल्य पनि नउठ्ने भएपछि बाध्य भएर उधारोमा किसानहरूले उखु बिक्री गर्दै आएका छन् ।
उखु उत्पादक कृषक संघ जिल्ला अध्यक्ष नरेश सिंह कुशवाहाले सरकारले किसानप्रति सौताको व्यवहार गर्ने गरेकोले उखुको लागत अनुसारको मूल्य पाउन नसकेको बताए । अघिल्लो वर्षको उत्पादन काटेर तत्काल अन्य बालीको रूपमा गहुँ, मसुरो लगाउनु पर्ने हुँदा मूल्यमा चित्त नबुझे पनि उधारोमा चिनी मिललाई उखु बिक्री गर्नु पर्ने बाध्यता रहेको दुखेसो अर्का किसान गौशाला– १ का चन्देश्वर महतोको छ ।
पुस तेस्रो सातासम्म खेत खाली गरेर उखु र दलहन बाली लगाउनुपर्ने भएकोले हतार हतारमा उखु काटेर मिललाई बुझाउनुपर्ने बाध्यतामा किसनाहरू छन् । प्रत्येक वर्ष महोत्तरी जिल्लाबाट १८ लाख क्विन्टल उखु एभरेष्ट सुगर मिललाई प्राप्त हुँदै आएको छ । मिललाई महोत्तरी बाहेक सर्लाही, धनुषा, रौतहट र बारा जिल्लाबाट समेत उखु प्राप्त हुने गरेको छ ।
गत वर्ष उद्योगले २६ लाख ३० हजार क्विन्टल उखु क्रसिङ गरी २ लाख ४२ हजार क्विन्टल चिनी उत्पादन गरेको थियो । यसपाली उखुको उत्पादन बढेकाले चिनी उत्पादनसमेत बढ्ने उद्योग प्रशासनले जनाएको छ । सरकारले समयमै किसानहरूको लागतलाई ध्यानमा नराखी मूल्य नतोक्दा उनीहरू विचल्लीमा परेका छन् । उद्योगीहरूले भने यही छेको पारेर गत वर्षकै मूल्यमा किसानसँग उखु किन्ने गरेका छन् ।
मंसिरदेखि उखु क्रसिङ सुरु भएर चैतसम्म चल्छ । उखु क्रसिङ सुरु हुनु अगावै सरकारले उखु किसानले पाउने न्यूनतम मूल्य तोक्नु पर्ने उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेश सिंह कुशवाहाले बताए । तर विडम्बना उद्योगसँगको मिलोमतोमा सरकारले मूल्य तोक्ने गरेको छ । किसानहरू मूल्य नपाएपनि बाध्य भएर सम्बन्धित मिललाई उधारोमा उखु बिक्री गर्न बाध्य भएको उनको भनाइ छ ।
प्राय: गरी सर्लाही, मोरंग, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी, कैलाली, कन्चनपुरलगायतका जिल्लामा किसानहरूले व्यावसायिक रूपमा उखुको खेती गर्ने गरेका छन् । लागत अनुसारको उचित मूल्य नपाउँदा र उधारोमा किसानहरूले उखु बिक्री गर्नु पर्ने बाध्यताको कारण उनीहरूको उखु खेतीप्रति आकर्षण घट्दै गएको छ ।