सुनसरीको बर्जुताललाई आकर्षक बनाउने गरी विस्तृत अध्ययन पूरा
४ अर्ब ८० करोड लगानीका लागि प्रस्ताव
विराटनगर– पर्यटनको प्रचुर सम्भावना रहेको सुनसरीको बर्जुताल संरक्षण र त्यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परियोजनाका लागि प्रदेश लगानी बोर्डले विस्तृत अध्ययन पूरा गरेको छ । बर्जुतालको संरक्षण गरी त्यस वरिपरि निर्माण गर्ने संरचनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी कार्यान्वयनमा लैजाने तयारीमा प्रदेश लगानी बोर्डले काम अगाडि बढाएको छ ।
प्राकृतिक र ऐतिहासिक महत्त्व बोकेको बर्जुताल कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले त्यसको संरक्षण र विकासलाई प्राथमिकतामा राखेको छ । पूर्व र पश्चिम बर्जुतालको प्राकृतिक स्वरुपमा कुनै परिवर्तन नगरी त्यसलाई थप हरियालीकरण गर्ने र पानी तथा जलचरहरूको संरक्षणमा काम गरी जैविक विविधता संरक्षणमा काम गर्ने कार्यलाई विशेष ध्यान दिइने गरी डीपीआर तयार पारिएको छ ।
त्यसबाहेक संरक्षित तालभित्र कुनै पनि कंक्रिट संरचना नबनाइने र तालबाट बाहिर बफर जोनको रूपमा निश्चित क्षेत्र छोडेर निजी जमिनमा थप संरचना निर्माण गर्ने गरी डीपीआर तयार भएको लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सरोज कोइरालाले जानकारी दिए । ‘चराको प्रमुख बासस्थानको रूपमा परिचित बर्जुलाई आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने उद्देश्यले काम अगाडि बढिसकेको छ,’ उनले भने, ‘तालभन्दा बाहिरको पेरिफेरिमा खुला चिडियाखाना (ओपन जू), कल्चरल भिलेजलगायतका विभिन्न संरचना निर्माण हुनेछ ।’
बर्जु तालमा बस्ने चरा तथा जीवजन्तुलाई असर पर्ने गरी ठूलो आवाज आउने होटल, रेस्टुराँ वा अन्य संरचना नजिकै निर्माण नगर्ने गरी प्रतिवेदन तयार पारिएको छ । अहिले बर्जुताल नजिक कंक्रिट संरचना र होटल निर्माण भएका छन् यो प्रस्ताव कार्यान्वयनमा गएपछि ती संरचनासमेत त्यहाँ नरहने गरी डीपीआर तयार भएको बताइएको छ ।
‘बर्जुतालको प्राकृतिक संरचनामा कुनै ह्रास नआउने बरु अझ त्यसलाई व्यवस्थित गरी प्राकृतिक स्वरुपलाई सुरक्षित गर्ने ढंगबाट प्रस्ताव तयार भएको छ,’ कोइरालाले भने, ‘यस क्षेत्रमा कोलाहल नियन्त्रण गर्ने र यसलाई देशकै कोसी टप्पु सिमसारसँग जोड्ने ढंगबाट डीपीआर तयार भएको छ ।’ प्रदेश लगानी बोर्डले बर्जुताल संरक्षण र पर्यटकीय केन्द्रको रूपमा विकास गर्न ४ अर्ब ८० करोड रुपैयाँ लगानीको प्रस्ताव तयार पारेको छ ।
उक्त लगानी प्रस्ताव प्रदेश लगानी सम्मेलनकै समयमा सम्झौता गरी अगाडि बढाउने तयारी बोर्डको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि बोर्डले ताल सञ्चालन कार्ययोजना तर्जुमा गर्न तीन सदस्यीय समिति गठन गरिसकेको छ । बर्जुताल विकास समितिले सिफारिस गरेको एकजना सदस्य, बर्जु गाउँपालिकाले सिफारिस गरेको एकजना सदस्य प्रदेश लगानी बोर्डको लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा रहने गरी समिति गठन गरिएको हो ।
उक्त समितिले संघीय कानुन अध्ययन, इच्छुक संस्थाले पेस गरेको वित्तीय प्रस्ताव अध्ययन गर्ने र विभिन्न विज्ञहरूसँग छलफल गरी संचालनको मोडालिटी टुंग्याउने छ । त्यसका लागि समितिले कन्सल्टेन्सी नियुक्त गरी काम थप अध्ययन गर्ने तयारी गरेको छ । यस्तै समितिले उक्त ताल संरक्षण र विकासका लागि लगानी गर्ने कम्पनीलाई कति समयसम्म रोयल्टी छुट दिने, कति रोयल्टी निर्धारण गर्ने आदि निर्णय गर्नेछ । बर्जुताल प्रदेश राजधानी विराटनगरबाट करिब पाँच किलोमिटर पश्चिममा अवस्थित छ ।
अहिले पनि वनभोज र घुमघामका लागि बर्जुतालमा भीड लाग्ने गर्दछ । एक वर्षअघि नेपाली सेनाले बर्जुतालको सफाई गरेको थियो । बर्जुताललाई व्यवस्थित बनाएर पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्नेमा पर्यटक व्यवसायीले विगतदेखि नै माग गर्दै आएका थिए । बर्जुताललाई व्यवस्थित र आकर्षक बनाउन सकिए सीमावर्ती भारतीय पर्यटकसमेत भित्र्याउन सकिने पर्यटक व्यवसायी भविसकुमार श्रेष्ठ बताउँछन् । उनले भने, ‘डीपीआर तयार भएर मात्रै भएन । अब ताललाई आकर्षक बनाउने कार्य धमाधम हुनुपर्यो ।’