शक्तिखोर औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ

भरतपुर-पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम यही वर्षबाट सुरु गर्नुपर्ने बताएका छन् । २०७३ फागुन ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।
“चितवन राजधानी बन्न त सकेन,” उनले भने, “शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने कुरा प्राविधिक कारणले ढिलाइ भइरहेको छ, यही वर्ष शिलान्यास गर्ने गरी कामको गति बढाउनुपर्छ ।” उनले ईआइए (वातावरणीय प्रभाव मूल्यांकन) प्रतिवेदनलाई छिटो पूर्णता दिनुपर्ने बताए ।
२०७४ माघबाटै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ईआइए प्रतिवेदन बनाउने काम अघि बढेको थियो । ६ महिनामै अध्ययन सक्ने लक्ष्य थियो । गत वर्षको मंसिरमा डीपीआर स्वीकृत भए पनि वन तथा वातावरण मन्त्रालयबाट कार्यादेश नदिँदा ईआइए प्रतिवेदन आउन ढिलाइ भएको हो । तर, अहिले ईआइए प्रतिवेदन अन्तिम चरणमा पुगिसकेको छ ।
करिब २५ अर्ब लागतमा बनाउने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रमा १८ प्रकृतिका ७ सय २२ उद्योग रहने गरी डिजाइन गरिएको छ । पूर्वअर्थमन्त्री पाण्डेले पूर्वाधार, उद्योग र उत्पादनलाई समानरूपमा विकास गर्न नसके समृद्धिको यात्रामा अघि बढ्न नसकिने बताए ।
उनले चितवन उदाउँदो जिल्लाका रूपमा रहेकाले उद्योग विस्तार गर्ने वातावरणको खाँचो रहेको बताए । संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्र निजी सरकारी साझेदारी (पीपीआर) अवधारणामा सञ्चालन गर्न संघ तयार रहेको बताए । “शिलान्यास छिटो गरेर उद्योग खोल्ने वातावरण बनाउन सरकारसँग माग गर्छौं,” उनले भने, “उद्योग स्थापना करिब ५ सय उद्योगी इच्छुक बनिसकेका छन्, छिटै भेला गरेर औद्योगिक क्षेत्र स्थापना गर्न दबाब सिर्जना गरिनेछ ।”
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोरले औद्योगिक वातावरण सोचे अनुसार हुन नसकेको दुखेसो पोखे । “पहिले सरकारको अस्थिरता थियो, उद्योगमैत्री वातावरण पाउन सकिएन”, उनले भने, “अहिले स्थायी सरकार छ, आशावादी छौँ, तर सोचेजस्तो मैत्रीपूर्ण वातावरण अझै बनेन ।” उनले भूमी व्यवस्थापन र इआइए र आइइए प्रतिवेदनको झण्झटले सहजै उद्योग स्थापना गर्न कठिन हुने गरेको बताए । उनले सरकारले बनाउने भनेका औद्योगिक क्षेत्रको कामलाई छिटो सुरु गर्न माग गरे ।
चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल
चितवन उद्योग संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्षमा राजु पौडेल चयन भएका छन् । यस्तै उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युगराज वस्ती चयन भएका छन् । १५ औं अधिवेसनले २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सदस्यहरुमा प्रतिभा श्रेष्ठ, प्रकाशचन्द्र भट्टराइृ, टंकप्रसाद उप्रेती, भोजराज खनाल, अम्बरबहादुर अधिकारी, मदन चिरञ्जी पोखरेल, विष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपालप्रसाद गैरे, डा. प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणी भट्ट, महेन्द्रबहादुर बानियाँ, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधा सुवेदी पौडेल, अमर घिमिरे छन् ।
अध्यक्ष राजु पौडेलद्वारा सहयोगको घोषणा
संघको अध्यक्ष बनेका राजु पौडेलले भरतपुर–१५ मा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि २ लाख रुपैयाँ व्यक्तिगत सहयोग गर्ने घोषणा गरेका छन् । संघले रंगशालालाई ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । संघले साउनमा १२ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिसकेको छ । संघले प्रतिवद्धता गरेको सम्पूर्ण रकम छिटै हस्तान्तरण गरिने बताए ।
निर्माणाधिन चितवन प्रदर्शनी केन्द्र निर्माणमा थप १३ लाख २८ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । यसअघि उनले १५ लाख रुपैयाँ सहयोग गरिसकेका थिए । पीपी अवधारणा अनुसार २०७३ सालदेखि निर्माण थालिएको थियो । उनले बुबाको नामबाट उद्योगी व्यवसायीका समाचार उजागर गर्ने पत्रकारलाई विशेष पुरस्कार दिन २ लाख ५० हजार र आमाको नामबाट महिला उद्यमीलाई उत्प्रेरित गर्न २ लाख ५० हजार बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
यी दुवै पुरस्कारबाट वर्षेनी २५ हजार नगदसहित पुरस्कृत गरिने बताए । उनले उद्योगीलाई उद्योग विस्तारका क्रममा सहयोग गर्ने गरी बीउ पुँजीका रुपमा १ लाख सहयोग गर्ने बताए । उनले कार्यसमितिबाट कम्तिमा १० हजार रुपैयाँ बराबरको सहयोग लिएर बीउ पुँजीको रकम बढाइने बताए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले नेपालमा उत्पादित वस्तुको बजारीकरणका लागि चितवन प्रदर्शनी केन्द्रमा छुट्टै ‘मेड इन नेपाल’ परिसर बनाउन संघले भूमिका खेल्ने बताए । भरतपुर–२९ जुरेथुम्कामा रहेको संघको जग्गामा औद्योगिक शिक्षालय बनाउन पहल गरिने बताए । दक्ष प्राविधिकको अभाव कम गर्न शिक्षालय स्थापना गर्न लागिएको बताए ।