पाँच महिनामा ६ अर्बको बीमा सरेण्डर
काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ को मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुको ६ अर्ब १० करोड रुपैयाँभन्दा बढी रकम बीमालेख सरेण्डरबाट बाहिरिएको छ । यो अवधिमा ४५ हजार ६० वटा बीमालेख सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांक छ ।
गत साउनमा जीवन बीमा कम्पनीहरुको १० हजार २९२ वटा बीमालेख सरेण्डर हुँदा १ अर्ब ५४ करोड बीमा कोषबाट बाहिरिएको थियो । त्यसयता सरेण्डर बढ्दै जाँदा ६ अर्बभन्दा बढी बाहिरिएको हो । बीमा पोलिसी सरेण्डर हुनु यो क्षेत्रका लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, बाध्यतामा पोलिसी खरिद, प्रलोभन लगायतका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ ।
प्राधिकरणका अनुसार पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्ने क्रमले प्रोत्साहन पाउँदै गएको छ । अर्थतन्त्रमा आएको सुस्तता तथा बीमा क्षेत्रप्रतिकै वितृष्णाका कारण पोलिसी सरेण्डर हुने क्रम बढेको प्राधिकरणका उच्च अधिकारीहरू स्वीकार्छन् । चालु आवको पाँच महिनामा एलआईसी नेपालको सरेण्डर सर्वाधिक देखिएको छ । यो कम्पनीको ११ हजार ७९३ वटा पोलिसीबराबर १ अर्ब ९३ करोड रुपैयाँ सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेण्डर रकमको ३१.६६ प्रतिशत हो ।
त्यस्तै, नेपाल लाइफको १० हजार ३१७ वटा बीमा पोलिसीबापत १ अर्ब ६७ करोड रुपैयाँ त्याग भएको छ, जुन कुल सरेण्डर रकमको २७.५० प्रतिशत हो । राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसीबापत ५१ करोड ३२ लाख रुपैयाँ समर्पण भएको छ । यो जीवन बीमा क्षेत्रको कुल सरेण्डर रकमको ८.४० प्रतिशत हिस्सा हो । एशियन लाइफको ३ हजार ७५२ वटा बीमा पोलिसीबापत ४० करोड १४ लाख रुपैयाँ त्याग भएको छ । यो कुल सरेण्डर रकमको ६.५७ प्रतिशत हो ।
नेशनल लाइफको २ हजार ५४१ वटा पोलिसीबापत ३७ करोड ११ लाख रुपैयाँ समर्पण भएको छ, जुन कुल सरेण्डर रकमकोे ६.०८ प्रतिशत हो । सूर्यज्योति लाइफको २ हजार ४८८ वटा पोलिसीबापत ३२ करोड ६४ लाख रुपैयाँ सरेण्डर भएको छ । यो जीवन बीमा क्षेत्रको कुल सरेण्डर रकमको ५.३५ प्रतिशत हो । हिमालयन लाइफको ३ हजार ३३ वटा बीमा पोलिसीबापत २८ करोड ३० लाख रुपैयाँ त्याग भएको छ । मेट लाइफको १५ सय १६ वटा बीमा पोलिसीबापत १७ करोड २३ लाख रुपैयाँ त्याग भएको छ ।
सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसीबापत १० करोड ९५ लाख रुपैयाँ सरेण्डर भएको छ । आइएमई लाइफको ७६३ वटा बीमा पोलिसीबापत ८ करोड ४३ लाख रुपैयाँको सरेण्डर भएको छ । सिटिजन लाइफको ११ सय ८ वटा बीमा पोलिसीबापत ८ करोड रुपैयाँ सरेण्डर भएको छ । प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बीमा पोलिसीबापत ७ करोड ८० लाख रुपैयाँको सरेण्डर भएको छ ।
चालु आवको पाँच महिनासम्ममा रिलायबल नेपाल लाइफको ७०८ वटा बीमा पोलिसीबापत ४ करोड ४६ लाख रुपैयाँ सरेण्डर भएको छ । सन नेपाल लाइफको २९५ वटा बीमा पोलिसीबापत २ करोड ९४ लाख रुपैयाँ सरेण्डर भएको छ ।
किन बढ्यो सरेण्डर ?
अर्थतन्त्रमा आएको सुस्तता र बीमाप्रति उत्साह जगाउन सरोकारवाला निकाय चुक्दा बीमाबाट बाहिरिनेको संख्या बढ्दो रहेको जानकारहरू बताउँछन् । पछिल्ला वर्षहरूमा सरकारले नै बीमा क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्न नसक्दा यसप्रति वितृष्णा थपिएको हो । उदाहरणका लागि कोरोना महामारीको समयमा तत्कालीन बीमा समितिले कोरोना बीमा पोलिसी जारी गरेको थियो । कम्पनीहरूमा कोरोना बीमा गराउनेको भीड बढ्यो । तर, जब बिमित कोरोना संक्रमित भए, बीमाबापतको दाबी भुक्तानी पाउनका लागि निकै मुस्किल भयो । बिमितमध्ये कतिपयले अझै दाबी भुक्तानी पाएका छैनन् । सोही कारण उनीहरूले अन्य बीमा पोलिसीबाट पनि हात झिकेर बाहिरिएको जानकारहरू बताउँछन् ।
यसबाहेक बीमा कम्पनीहरूले सुरूमा बीमा गराउन चासो दिए पनि पछि बेवास्ता गर्दा यसप्रतिको वितृष्णा झनै बढेको हो । एकातिर अर्थतन्त्रको सुस्तताका कारण उपभोक्ताको क्रयशक्ति कमजोर भइरहेको छ भने अर्कातिर सरोकारवालाले यसप्रति चासो दिन नसक्दा बीमालेख सरेण्डर गर्नेको संख्या बढ्दो छ ।