खाडीका आधा दर्जन श्रम गन्तव्यको हिस्सा ७१ प्रतिशत
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये खाडीका आधा दर्जन श्रम गन्तव्यको हिस्सा ७१ प्रतिशत देखिन्छ भने दोस्रोमा युरोप हुन थालेको छ ।
नेपालका प्रमुख १० श्रम गन्तव्यमा क्रमशः यूएई, साउदी अरब, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, कोरिया र बहराइन छन् । कोरिया र जापानको हिस्सा ४ प्रतिशत रहेको छ । कोरियाभन्दा जापान जाने बढी छन् ।
कोभिड संक्रमणपछि ओरालो लागेको आफ्नो अर्थतन्त्र सुधार गर्न खाडीका यूएई, साउदी अरब, कतार र बहराइनले सेवा तथा निर्माण क्षेत्रमा र कुवेतले घरायसी कामदारका रुपमा नेपाली माग गर्ने गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको अध्ययन प्रतिवेदनले नेपालका श्रम गन्तव्य परम्परागत रुपमा खाडी मुलुक रहेकोमा अब युरोपतिर मोडिँदै गएको औंल्याएको छ । जिफन्टका महासचिव जनक चौधरीले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालीको मुख्य गन्तव्य मुलुक भने खाडी नै रहेको बताए । उनका अनुसार खाडी मुलुक जानुको मुख्य कारण ती राष्ट्रले अल्पकालीन श्रम सम्झौताका आधारमा विदेशी श्रमिकलाई रोजगारी दिने नीति हो । ‘यी देशले ठूला निर्माण परियोजना, सेवा र घरेलु काममा प्रवासी श्रमिक धेरै लिएका छन्,’ उनले भने, ‘यसले गर्दा विकासोन्मुख देशका मानिसका लागि रोजगारीको अवसर भएको छ ।’
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल सेवा क्षेत्रसहित निर्माणका ठूला परियोजनामा लगानी गरिरहेकाले खाडी जाने नेपालीको संख्या बढेको बताउँछन् । उनका अनुसार यूएईले विश्वको सबैभन्दा ठूलो सिटी परियोजना ल्याएका कारण निर्माण क्षेत्रमा त्यहाँ जाने नेपाली धेरै छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी यूएईमा १ लाख ९३ हजार नेपालीले पुनः सहित श्रमस्वीकृति लिएका छन् । यसैगरी दोस्रोमा साउदी अरब १ लाख ४२ हजार र तेस्रोमा कतारका लागि १ लाख ३४ हजारले स्वीकृति लिएका छन् । यसैगरी मलेसिया १ लाख ३ हजार, कुवेत ४० हजार, क्रोएसिया १५ हजार, रोमानिया, जापान र कोरियाको संख्या १३–१३ हजार रहेको छ ।
भिजिट र अन्य भिसाको माध्यमबाट यूएई जाने प्रवृत्ति, कतारमा भएको विश्वकप फुटबल र कुवेतमा घरेलु कामदारको मागले गर्दा खाडीको रोजगारी निरन्तर रहेको देखिन्छ । अघिल्लो वर्ष मलेसिया सरकारले एकै वर्षमा लगभग २५ प्रतिशत अर्थात् ९ हजार रुपैयाँ तलब वृद्धि गरेपछि त्यहाँ जाने नेपालीको संख्या अन्यभन्दा धेरै भएको थियो । हाल मलेसियामा कार्यरत नेपालीको न्यूनतम पारिश्रमिक मासिक ४५ हजार रुपैयाँभन्दा बढी छ । विगत ३ वर्षयता नेपालीको प्रमुख श्रम गन्तव्य अस्थिर रहेका कारण स्थायी श्रम गन्तव्यको खोजी गर्नुपर्ने व्यवसायीको भनाइ छ ।
खाडीको श्रम गन्तव्य यूरोपतिर मोडिँदै
पछिल्लो समय यूएईबाहेक खाडी देश तथा मलेसियामा केन्द्रित नेपालको श्रम गन्तव्य युरोपतिर मोडिन थालेको छ । नेपाली श्रमिकले मध्यम कमाइ र मर्यादित कामलाई प्राथमिकता दिँदा खाडीजस्ता आउटडोर कार्यक्षेत्र भएका देशमा जाने क्रम कम भएको हो ।
तुलनात्मक रुपमा साउदी र कतारबाहेक यूएईमा इनडोर काम बढी हुने भएकाले सो देश जाने नेपालीको संख्या बढेको छ । विगत ३ वर्षयता युरोपका आधा दर्जन श्रम गन्तव्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या वृद्धि हँुदा कतार जानेको संख्या घटेको छ । पछिल्लो समय पोल्याण्ड, साइप्रस, माल्टा, क्रोएसिया, रोमानिया र बेलायत जाने नेपालीको संख्या वृद्धि हुँदै गएर खाडी जानेको संख्या घटेको देखिन्छ ।
नेपाली श्रमिकका लागि युरोपको पहिलो गन्तव्य मुलुक क्रोएसिया भएको छ । आव २०७८–७९ मा ५ हजार ३ सय ४४ नेपाली श्रमस्वीकृति लिएर क्रोएसिया रोजगारीका लागि गएको देखिन्छ । गत आर्थिक वर्षमा सो संख्या बढेर १५ हजार पुगेको छ । गत आर्थिक वर्षमा रोजगारीका लागि विदेशिएका नेपालीमध्ये युरोपको दोस्रो गन्तव्य मुलुक रोमानिया रहेको छ । रोमानियाका लागि श्रमस्वीकृति लिनेको संख्या १३ हजार ४ सय ७५ थियो । नेपाली श्रमिकको युरोपको अर्को गन्तव्य मुलुक भने माल्टा भएको छ ।