जागिर छोडेर सुन्तला खेतीमा रमाउँदै

सन्धिखर्क-अर्घाखाँची जिल्लाका व्यावसायिक कृषकहरु सुन्तला खेतीबाटै सन्तुष्ट छन् । जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्रका कृषकहरु सुन्तला टिप्न र बिक्री गर्नमै व्यस्त छन् । यहाँका सबैजसो कृषकहरु व्यावसायिक रुपमा सुन्तला खेती गर्छन् । सुन्तला टिप्ने सिजन भएकाले यहाँ युवा, महिलादेखि वृद्धवृद्धाहरु पनि सुन्तला टिप्न र बिक्री गर्नमै व्यस्त छन् । यहाँका कृषकहरुले न्यूनतम २ लाखदेखि १२ लाखसम्म वार्षिक आम्दानी गर्ने गर्छन् ।
वैदेहिक रोजगारीमा ११ वर्ष बिताएका खगेन्द्र पौडेलले ६ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । मकै र गहुँ रोपेर २० हजार आम्दानी नगर्ने पौडेलले अहिले सुन्तला खेतीबाट ७ लाख आम्दानी हुने बताए । उनी भन्छन्, “विदेश जानुभन्दा स्वदेशमै हुने आम्दानीबाट सन्तुष्ट भएर बसेका छौँ ।”
गतवर्ष ७ लाखको आम्दानी गरेका सिम्लेका कृषक भोजराज पौडेलले यस वर्ष पनि राम्रो उत्पादन हुनेमा विश्वस्त छन् । “सुन्तला फुल्ने समयमा असिना पानीले फूलमै क्षति गरेका कारण सुन्तला उत्पादनमा कमी हुने भयो”, पौडेलले भने, “काम गर्ने हो भने देशमै सुन फलाउन सकिन्छ, परिश्रम गरे जहाँपनि आम्दानी गर्न सकिन्छ विदेश धाउनुपर्दैन ।”
भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने सुनेका कारण पल्टनको जागिर त्यागेर स्वदेश फर्किएका पणेनाका ७४ वर्षका हुमनाथ पौडेल पनि अहिले अर्घाखाँचीकै सफल नमूना सुन्तला किसान बनका छन् ।
१३ वर्षसम्म सवारी चालmक रहेका चोलनाथ पौडेल २०६९ सालदेखि व्यावसायिक सुन्तला खेतीमा सक्रिय छन् । उनले गत वर्ष भन्दा करिब ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आउने बताए । यस वर्ष ५० क्वीन्टल सुन्तला बिक्री गर्ने बताए ।
पणेनाका झण्डै दुई सय र साविकको वडा नम्बर १ सिम्लेमा मात्रै ४६ जना किसानले अहिले सुन्तला खेतीबाट १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
यहाँ उत्पादन भएको सुन्तलाप्रति किलो ४५ रुपैयाँदेखि ६० रुपैयाँमा बुटबलको बजारमा बिक्री भइरहेको छ । सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला र सुन्तला जातका बिरुवाको नर्सरी राखि बिरुवा बेचेर पनि सिम्लेका किसान रेवतीराज पौडेलले वार्षिक चार, पाँच लाख रुपैयाँ कमाउने गरेका छन् ।
प्रदेश नं. ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा यहाँ शिवशक्ती शित भण्डारको निर्माण कार्य जारी छ । “असार मसान्तमा सक्ने गरी शित भण्डारको काम अगाडी बढेको छ” प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले भने, “यहाँ शित भण्डार बनेपछि ५० रुपैयाँ किलो सुन्तला बिक्री गर्नुपर्दैन, बेसिजनमा विक्री गर्दा सुन्तलाको मुल्य दोव्वर हुन्छ ।”
प्रदेश सरकारले यहाँको सुन्तला उत्पादनलाई व्यावसायिक बनाउनका लागि १ करोड ८७ लाख ७५ हजार, पूर्वाधार विकास कोषबाट ५० लाख र पाणिनी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन भएको छ । कृषकले आगामी वर्ष उत्पादन हुने सुन्तला कोल्ड स्टोरमा राख्न पाउँछन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन लगाएतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो । अर्घाखाँचीमा १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ । यहाँ उत्पादन भएको सुन्तला रुपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घासलगायतका ठाउँमा निर्यात हुँदै आएको छ । अर्घाखाँचीमा गतवर्ष २४ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।