पर्यटन विकासमा सीमापार कारोबार
पर्यटन
नेपाल पर्यटन विकासका लागि प्रशस्त सम्भावना बोकेको देश हो । यहाँ प्राकृतिक, धार्मिक, साहसिक तथा धार्मिक पर्यटन क्षेत्र, जलयात्रा, ग्रामीण पर्यटन क्षेत्र, हिमालयन हिमश्रृंखलाका क्षेत्र, सांस्कृतिक तथा अन्य विभिन्न क्षेत्रमार्फत स्वदेशी तथा विदेशी पर्यटक भिœयाउन सक्ने सम्भावना छ । यहाँको मुद्राको क्रयशक्ति कम छ । विदेशीलाई नेपालमा ल्याउन सके उनीहरूको थोरै रकमले धेरै घुम्न सक्ने अवस्था रहेकाले विदेशमा अधिकांश कारोबार क्यासलेस भइसके भने नेपालमा बल्ल वामे सर्दै छ ।
विदेशीहरू नेपाल आउँदा नगद नै बोकेर आउनुपर्ने अवस्था छ । तसर्थ पनि सीमापार (क्रस बोर्डर) कारोबारले विदेशीलाई आफ्नो भ्रमणको खर्च नगदमा नभई विभिन्न किसिमका वालेट तथा मोबाइल बैंकिङको माध्यमबाट नेपालमा आएर क्युआरमा भुक्तानी गर्न सके सहज र सरलसमेत हुन जान्छ । हाल सीमापार कारोबारको केही सुरुवात भइसकेको छ भने दीर्घकालीन रूपमा अन्य देशसँग पनि कारोबार गराउन सके अझ धेरै पर्यटक भित्र्याउँदै पर्यटनको विकास गर्न सकिन्छ ।
नेपालले साहसिक खेलकुद पर्यटन (पर्वतारोहण, जलयात्रा, ट्रेकिङ र साइकिलिङ), धार्मिक पर्यटनका रूपमा लुम्बिनी क्षेत्र, पशुपति तथा जनकपुर क्षेत्रलाई प्रवद्र्धन गर्दै आएको छ । पर्यटन विकास बोर्डले पनि विभिन्न किसिमका कार्ययोजना बनाई पर्यटन प्रवद्र्धन गरिरहेको छ । पछिल्ला केही वर्षदेखि स्थानीय समुदायको सहभागिता र वातावरणीय सन्तुलन कायम गर्दै दिगो पर्यटन विकासको अवधारणा पनि अगाडि सारेको देखिन्छ । पर्यटन क्षेत्रलाई अझ विकास गर्नका लागि निजी क्षेत्र, सरकार र स्थानीय समुदायको सहकार्य र समन्वय अति आवश्यक देखिएको छ । केन्द्रीय सरकारले नै उपयुक्त ढाँचाको पर्यटन विकास नीति अवलम्बन गरी हरेक क्षेत्रलाई सहभागी गराउँदै पूर्वाधार निर्माण, पर्यटक सेवाको गुणस्तर सुधार, अतिथि सत्कार, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार तथा सीमापार कारोबारको सहज भुक्तानी हुने प्रणालीको विकास गर्न जरुरी देखिन्छ ।
नेपालजस्तो देशका लागि पर्यटन प्रवद्र्धन गर्न सीमापार कारोबारको महत्वपूर्ण भूमिका हुन्छ । यसले पर्यटन विकाससँगै पारदर्शी रूपमा भुक्तानी प्राप्त गर्ने र यसका माध्यमबाट आर्थिक, सांस्कृतिक तथा भौतिक पूर्वाधारको विकास गर्न सकिन्छ । नगदरहित भुक्तानी प्रक्रिया सहज हुनेबित्तिकै पर्यटक आगमनमा वृद्धि र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । नेपालले प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक स्थल, पर्वतारोहण, पदयात्रा र साहसिक खेलकुदमार्फत न्यून खर्चमा पर्यटकलाई आकर्षित गर्न सक्छ ।
पर्यटन सम्भावनाका क्षेत्र
नेपालमा अन्य देशहरूको भन्दा फरक अनुभूतिसहितको पर्यटन विकासका लागि देखिएका क्षेत्रहरूमा धार्मिक, प्राकृतिक, सांस्कृतिक, साहसिक र ऐतिहासिक क्षेत्रहरू पर्छन्, जुन अन्य देशहरूको भन्दा पृथक् र आकर्षक पनि छन् । यिनीहरूको पर्याप्त प्रचारप्रसार र पूर्वाधार विकासको अभावले पर्यटन गन्तव्यले पर्याप्त पहिचान पाउन सकेका छैनन् ।
धार्मिक पर्यटनका क्षेत्रः परापूर्व कालदेखिको धार्मिक आस्था र महत्वको क्षेत्रमा पशुपतिनाथको मन्दिर पर्छ । विशेष गरी हिन्दूहरूको आस्थाको केन्द्रमा रहेको मन्दिर हो यो । यहाँ नेपाल, भारत र अन्य एसियाली मुलुकका हिन्दू दर्शनार्थीको भीडभाड हुने गर्छ । यसलाई अझ सफा, सुन्दर र व्यवस्थित बनाउन सके धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ । बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर विश्व शान्ति स्तूप लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । यहाँ बौद्ध धर्मका अलावा हिन्दू धर्म मान्नेहरूको पनि घुइँचो देख्न सकिन्छ । विश्वप्रसिद्ध शान्ति क्षेत्र तथा धार्मिक स्थलको रूपमा लुम्बिनीलाई लिइए पनि प्रचारप्रसारको अभावमा यसको पहिचान विश्वस्तरमा अझै पुग्न सकेको छैन । यसका अतिरिक्त मुक्तिनाथ, मनकामना, पाथिभरा तथा स्वर्गद्वारी मन्दिर र अन्य विभिन्न धार्मिक तथा तीर्थाटन गर्ने क्षेत्रहरूले पनि पर्यटकको मन जित्न सक्छन् ।
सांस्कृतिक पर्यटनका क्षेत्रः नेपालमा विभिन्न किसिमका सांस्कृतिक क्षेत्र रहेका छन् । विभिन्न किसिमका भाषा, धर्म, वेशभूषा र चाडबाडहरूले नेपाललाई विश्वमा चिनाउन सहयोग गर्न सक्छ । खासगरी काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने विभिन्न किसिमका जात्रा, तिनीहरूको पोसाक र सांस्कृतिक झाँकीहरूले पनि नेपालको संस्कृतिलाई थप विकास गरिरहेको देखिन्छ । यसका साथसाथै बन्दिपुर, लमजुङ र गोर्खामा रहेका विभिन्न किसिमका संस्कृतिले पर्यटकको मन लोभ्याउन सक्छन् ।
प्राकृतिक पर्यटनका क्षेत्रः प्रकृतिका हिसाबले नेपाल अति सुन्दर देश हो । विश्वप्रसिद्ध हिमशिखर सगरमाथा र ८ हजार मिटरभन्दा अग्ला केही हिमाल पनि नेपालमै रहेकाले हिमाल आरोहण गर्न रुचाउनेहरूका लागि अवसर पनि हो । यसका माध्यमबाट विदेशी मुद्रा आय आर्जन गर्न मद्दत मिलेको छ । यसका अतिरिक्त एभरेस्ट बेस क्याम्प, तिलिचो बेस क्याम्प तथा विश्वकै अग्लो स्थानमा रहेको तिलिचो यात्रा अझै रोमाञ्चक छ । नाम्चे बजार, अन्नपूर्ण क्षेत्र, घान्द्रुक, पुन हिल, मुस्ताङ, सौराहा, बर्दिया राष्ट्रिय निकुन्ज, जंगल सफारी, रारा ताल तथा रारा राष्ट्रिय निकुन्ज र सो क्षेत्रको भ्रमण तथा अन्य विभिन्न प्राकृतिक छटाले भरिपूर्ण क्षेत्रहरूको भ्रमण गर्न सकिन्छ ।
ऐतिहासिक पर्यटनका क्षेत्रः नेपालमा परापूर्व कालदेखि इतिहासमा नाम लेखाउन सफल भएका ठाउँहरू छन्, जसको चिनारीसहितको उपयुक्त विकास र प्रचारप्रसार गर्दै पर्यटनको विकास गर्न सकिन्छ । जस्तै— बन्दीपुर, गोर्खा दरबार, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, लमजुङ दरबार, मकवानपुर गढी, सिन्धुलीगढी र पहिलेका बाइसी–चौबिसी राज्य भएका ऐतिहासिक ठाउँहरूको उपयुक्त विकासका साथै संरक्षण र संवद्र्धन गर्न जरुरी छ ।
साहसिक पर्यटनका क्षेत्रः पर्वतारोहणसहित विभिन्न ठाउँमा रहेका बन्जी जम्प, उच्च हिमाली तथा पहाडी क्षेत्रमा हुने साइकल यात्रा, पोखरा तथा अन्य क्षेत्रमा हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइटका माध्यमबाट हिमाली तथा पहाडी क्षेत्रहरूको अवलोकनजस्ता कार्यहरू पर्यटकलाई मन लोभ्याउन सक्छन् ।
ग्रामीण पर्यटनका क्षेत्रः पर्यटनको विकाससँगै नेपालमा अति विकट ग्रामीण क्षेत्रहरूमा पदमार्गको विकास भएको छ भने बाटोघाटोको पनि विकास भएसँगै मनै लोभ्याउने पर्यटनको विकास र होमस्टेको विकास पनि भएको छ । प्रसिद्ध होमस्टेहरूमा घलेगाउँ, सिरुबारी, मनाङ तथा मुस्ताङका माथिल्ला क्षेत्रहरू रहेका छन् । स्थानीय प्रकृतिसँग रमाउँदै ग्रामीण स्वादका परिकार पाइने हुँदा यी क्षेत्रमा पनि पर्यटकको आकर्षण बढ्न सक्छ ।
जलयात्रा र पर्वतारोहण पर्यटनका क्षेत्रः नेपालमा जलयात्राको पनि उत्तिकै सम्भावना छ । त्रिशूली, भोटेकोसी, सुनकोसी, तामाकोसी, नारायणी तथा कर्णाली नदी साहसिक जलयात्राका लागि प्रख्यात छन् । आवश्यक पूर्वाधार विकास गरी पर्यटक आकर्षण बढाउन सके लाभदायी हुन्छ ।
अन्य आकर्षक पर्यटनका क्षेत्रः पोखराको फेवाताल, वेगनासताल, रुपाताल, डेबिड फल्स, शान्ति स्तूप, डोल्पाको शे फोक्सुन्डो ताल, इलामको चियाबारी, तिलौराकोट, काँक्रेबिहार, बुलबुले ताल, चतराधाम, धरान, धनकुटा, हिले लगायतका अन्य क्षेत्रहरूमा पनि पर्यटनको विकास गरी प्रशस्त पर्यटक भित्र्याउन सकिन्छ ।
पर्यटन प्रवद्र्धनका चुनौती
नेपालमा अपेक्षित रूपमा पर्यटनको विकास र प्रवद्र्धन गर्नका लागि विभिन्न किसिमका चुनौती पनि सँगसँगै रहेका छन् ।
पूर्वाधार विकासको कमीः भौगोलिक सीमितताका कारण कमजोर सडकको अवस्था, आवश्यक पदमार्गको विकास नहुनु, सीमित यातायातका साधन तथा सुविधा, ग्रामीण क्षेत्रमा आवास तथा गुणस्तरीय आधारभूत सुविधाहरूको कमी र औषधि–उपचारको अभाव तथा आपत्कालीन उद्धार गर्न नसक्ने कठिनाइहरू रहेका छन् ।
पर्यावरणीय विनाशः केही क्षेत्रमा पर्यटन पूर्वाधार विकासको नाममा वनविनाश, पोहोरमैला गर्ने, प्रदूषण बढाउने, पदमार्गको निर्माणमा सावधानी नअपनाउने र अनुगमन तथा नियन्त्रण हुन नसक्ने जस्ता कार्य पनि भएका छन् ।
राजनीतिक अस्थिरताः राजनीतिक अवस्था अनियन्त्रित भई सरकारमा बदली भइरहँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा गतिहीन बन्न पुग्छ । आमहड्ताल, विरोध प्रदर्शन, चक्काजाम तथा नेपाल बन्दजस्ता कार्यले प्रत्यक्ष रूपमा पर्यटकको गन्तव्य नै मोडिदिन्छन् ।
प्रचारप्रसारको अभावः भ्रमण वर्ष, २०२० तय भए पनि रोकियो । सरकारले प्रचारप्रसार गर्न खोजे पनि विभिन्न कारणले गर्दा यसमा कमी आइरहेको छ । डिजिटल माध्यमबाट हुने प्रचारप्रसार र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रयोग गर्न नसकिएको अवस्था विद्यमान छ ।
मौसमले साथ नदिनुः कहिलेकाहीं पर्यटनको मौसम सुरु भए पनि बर्सात या बाढीपहिरोले गर्दा पर्यटकको आगमनका कमी आएको छ । नेपालमा खासगरी वसन्त र शरद् ऋतुमा पर्यटकको चहलपहल बढ्ने गर्छ । अन्य ऋतुमा खासै पर्यटकीय मौसम हुँदैन ।
पर्यटन विकासको लगानीमा कमीः पर्यटनबाट राम्रो आम्दानी हुने भए पनि लगानी बढी चाहिने हुँदा लगानीको अभाव हुन्छ । दीर्घकालीन रूपमा लगानी गर्नुपर्ने हुँदा सरकारले वार्षिक रूपमा बजेट अरू छुट्याउँदै जान आवश्यक छ ।
नीतिगत तादात्म्यता नहुनुः अपेक्षित रूपमा पर्यटनको विकास गर्न सरकारले नीति तथा निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्छ, जसमा विभिन्न किसिमका चुनौती देखिइरहन्छन् ।
सांस्कृतिक तथा सामाजिक चुनौतीः स्थानीय निकाय र स्थानीयवासीमा समन्वयको अभावमा सांस्कृतिक तथा सामाजिक चुनौतीहरू आउने गर्छन् । दर्ता प्रक्रिया तथा करले गर्दा अहिले स्थानीय व्यापार व्यवसाय गर्न हिचकिचाउँछन् ।
जलवायु परिवर्तनको असरः संसारमा अहिले ग्लोबल वार्मिङको असर देखिइरहेको छ । यसको प्रत्यक्ष असर नेपालजस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देशलाई परिरहेको छ । जाडो याममा नेपालका हिमश्रृंखलाहरू सेताम्मे हुने अवस्थामा अहिले कालो पहाड मात्र देखिने गरेका छन् । नदी, खोलानालाहरूले आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य छन् ।
जटिल भिसा र भुक्तानी प्रक्रियाः अहिले पनि विदेशी पर्यटक नेपाल आउँदा भिसा लगाउने र भुक्तानी गर्ने प्रक्रिया सहज हुन सकेको छैन । अनलाइनबाट आवेदन र विदेशी मुद्रामा राजस्व भुक्तानी गर्न सक्ने गरी भरपर्दो सीमापार कारोबार गराउने भुक्तानी प्रणाली व्यवस्था नहँुदासम्म पर्यटकको सहज आवागमन नहुन सक्छ ।
भाषा र सञ्चारमा जटिलताः ग्रामीण क्षेत्रमा अशिक्षाको अभावमा भाषा समस्या देखा परिरहेको छ । दोभासे वा गाइड प्रयोग गर्दा खर्च बढ्ने हुँदा यसलाई सहजीकरण गर्न चुनौती रहेको छ ।
सुरक्षासम्बन्धी चुनौतीः भौगोलिक विविधताले गर्दा कतै बाढीपहिरो, कतै हिमपात, सुक्खा खडेरी र पदमार्गमा हिउँ पर्नाले पनि चुनौती थपिरहेको हुन्छ । आपत्कालीन अवस्थामा तत्काल उद्धारको व्यवस्था सुनिश्चित गर्न गाह्रो छ ।
अस्वस्थ प्रतिस्पर्धाः स्वदेश तथा विदेशमै पनि पर्यटन प्रवद्र्धनमा अस्वस्थ प्रतिस्पर्धा रहेको छ । ट्राभल्स एजेन्टहरूले जहाँ नाफा बढी वा पठाउन सजिलो हुन्छ, त्यहीं पठाउने हुँदा पनि पर्यटकलाई मन पर्ने ठाउँमा जान गाह्रो छ ।
पर्यटन प्रवद्र्धन गर्ने उपाय
यथेष्ट रूपमा पर्यटकको आवागमन सहज बनाउन विभिन्न किसिमका उपाय अवलम्बन गर्न सकिन्छ, ताकि सहज पहुँचसहितको सुरक्षित र व्यवस्थित पर्यटनको विकास होस् । पर्यटन पूर्वाधारको विकास र सहज यातायातको व्यवस्थामा जोड दिने, प्रसिद्ध पर्यटकीय क्षेत्र र स्थानको स्वदेश तथा विदेशमा व्यापक प्रचार–प्रसार गर्ने, पर्यटकका लागि आवश्यक बसाइका लागि अति आवश्यक स्टे र खाना तथा ठाउँ–ठाउँमा होटलको व्यवस्था, स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन, व्यवस्थित होमस्टेको व्यवस्था, इको टुरिज्म र वातावरणीय संरक्षणमा पहल, डिजिटल प्रचार सामग्रीको निर्माण, स्थानीय जनसमुदायको अपनत्व र सहभागितामा जोड दिने, सरल भिसा र भुक्तानी प्रणालीको विकास, आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने, विभिन्न किसिमका डिजिटल माध्यमको भरपुर उपयोग गरी पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्ने, निजी क्षेत्रलाई आकर्षित गरी लगानीमैत्री वातावरण बनाउने, पूर्वाधार निर्माण गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने र अन्तर्राष्ट्रिय स्तरका पर्यटनसम्बन्धी कार्यक्रमहरूमा देशको सहभागिता बढाउनेतर्फ विशेष ध्यान दिन जरुरी देखिन्छ ।
सीमापार कारोबार भुक्तानी प्रणाली कसरी सहज बनाउने ?
पर्यटकका लागि भिसा आवेदन प्रक्रिया र राजस्व भुक्तानी प्रणालीलाई सरल र अनलाइन बनाउन सके एक कदम अगाडि बढ्न सकिन्छ । हालै मात्र विदेशी पर्यटकले नेपालमा गर्नुपर्ने भुक्तानीलाई सहज बनाउन भुक्तानी प्रणालीको सुरुवात हुन लागेको छ । भारतलगायत केही एसियाली मुलुक र अलिपे प्लस नेटवर्कमार्फत विदेशीले आफ्ना वालेट तथा मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्न पाउने भएका छन् । यसलाई विश्वासिलो र समयमै भुक्तानी प्राप्त गर्न सक्ने बनाउनुपर्छ ।
विदेशी मुद्रामा हुने कारोबारको सेटलमेन्ट कार्यमा केही दिन लाग्ने हुँदा ग्राहकले प्राप्त गर्ने समयमा केही ढिला हुन सक्छ । यसलाई क्युआर मर्चेन्टले विश्वासका साथ स्वीकार गर्नुपर्छ । सकेसम्म भुक्तानी तथा प्राप्तकर्ताले तिर्नुपर्ने फी तथा शुल्क पनि न्यूनतम बनाउनुपर्छ । सुरक्षित डिजिटल पूर्वाधारको विकासमा सरकारले ध्यान दिन जरुरी छ । विभिन्न किसिमका ई–भुक्तानी प्लेटफर्मसँग सहकार्य, अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीको पहुँच बढाउने र नेटवर्किङमा नेपाल राष्ट्र बैंकले विशेष जोड दिने । विदेशी मुद्रा सञ्चय तथा यसबाट हुने सञ्चित जोखिममा पनि विषेश ध्यान दिने । साइबर सुरक्षा जोखिमलाई न्यूनीकरण गर्दै विदेशी मुद्रा विनिमयको अव्यवस्थित प्रक्रिया र जहाँ पायो त्यहीं सटही हुने प्रक्रिया रोक्ने । विदेशी पर्यटकलाई ठगी हुनबाट जोगाई नेपालप्रतिको विश्वास बढाउन जरुरी देखिन्छ ।
अन्त्यमा पर्यटन पूर्वाधार विकास र निर्माणमा जोड दिँदै निजी क्षेत्र, सरकार र स्थानीय वासिन्दासँगको सहकार्य र समन्वयमा डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा नेपालको पहिचान र पर्यटकीय क्षेत्रको पहिचान बढाउँदै बाह्य पर्यटक बढाउनुपर्ने आजको आवश्यकता हो । यसका लागि डिजिटल मार्केटिङ अभियान सञ्चालन गर्ने, आन्तरिक टुरिजम बढाउने, भ्लगरलाई पुरस्कृत र पहिचानमा ल्याइदिने, सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्दै नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानमा जोड दिने, गुगलसँगको सहकार्यमा गुगल विज्ञापनमा जोड दिने, आधिकारिक पर्यटकीय वेबसाइटमार्फत जानकारी तथा प्रशस्त भिडियो तथा फोटो बनाई प्रचारप्रसारमा जोड दिने, पर्यटकलाई आफ्ना अनुभव साट्न प्रोत्साहित गर्ने, भर्चुअल टुर तथा ३६० डिग्री भिडियो बनाई अपलोड गर्ने, ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न संयन्त्र तयार गर्ने, अनलाइन बुकिङ प्रणालीलाई थप व्यवस्थित र बढावा दिने, युनिफाइड र इन्ट्रिग्रेटेज डाटा विश्लेणको प्रयोग गरी पर्यटकको रुचिअनुसारका विषयलाई समावेश गर्दै जाने तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार गर्दै सम्बन्ध विस्तार र पर्यटक आवागमनमा जोड दिई सीमापार भुक्तानी प्रणालीलाई सहज बनाइदिनाले पक्कै पनि नेपालमा प्रशस्त सम्भावना बोकेको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सकिन्छ ।
(लेखक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभागीय प्रमुख हुन् ।)