Logo

साधारणसभा पुस २९ मै किन ?

यस वर्षको पुस २९ गते लगभग तीन दर्जन कम्पनीले आफ्नो वार्षिक साधारणसभा गर्ने भएका छन् । केही दिनपहिले भएको एउटा कम्पनीको साधारणसभामा केही सेयरधनीमाझ पुस २९ गते परेको साधारणसभाका बारेमा चर्चा चलेको थियो । एकै दिन यतिका कम्पनीको साधारणसभा परेका कारण सेयरधनीहरू अलमलमा परेका थिए । कोही मसँग दुई दर्जन कम्पनीको सेयर छ त कोही ३० वटा कम्पनीको सेयर छ, कहाँ जाने भनेर गुनासो गरिरहेका छन् भने कतिपयले जहाँ टन्न खाना खुवाउँछन् त्यहीँ जाने नि भनेर ठट्टा पनि गरिरहेका थिए । त्यसो त केही सेयरधनी सभामा प्रस्ताव र एजेन्डामा भन्दा पनि खाना र खाजामा नै झुम्मिने पनि नभएका होइनन् ।

कतिपयले साधारणसभामा बोल्ने वक्ता सेयरलाई सबैभन्दा बढी घाटा भयो भनेर व्यंग्य गरेको सुनियो भने कतिपयले साधारणसभामा बोल्ने गरेका सेयरधनीलाई कम्पनीले भत्ता दिने गरेको बताइरहेको पनि सुनियो । यो कत्तिको साँचो हो, उनीहरू नै जानून् । त्यसो त यस्ता चर्चा सबैजसो साधारणसभामा हुने गरेका छन् । पुस २९ गते थुप्रै कम्पनीको साधारणसभा विगतका वर्षहरूमा पनि हुने गरेका थियो । यस वर्ष पनि पुस २९ गते नै तीन दर्जनजति कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । एकै दिन एकै समयमा यति धेरै कम्पनीले किन साधारणसभा गर्नुपरेको भनेर पनि असन्तुष्टि जाहेर गरेका छन् ।

आर्थिक वर्ष समाप्तिपछिको ६ महिनाभित्र अर्थात् पुस मसान्तभित्र कम्पनीहरूले आआफ्नो वार्षिक साधारणसभा गर्नुपर्ने कम्पनी ऐनमा व्यवस्था गरेको छ । पुसभित्र वार्षिक साधारणसभा गर्न नसके जरिवाना तिर्नुपर्ने हुन्छ । यस कारणले पनि हतारहतारमा भए पनि सबैजसो कम्पनीले पुस मसान्तमा भए पनि साधारणसभा गर्ने गरेका हुन् भन्दा फरक नपर्ला । जरिवानाबाट पनि बच्ने र समयमै साधारणसभा गरेको पनि देखिने हुनाले सबैजसो कम्पनीले पुसभित्रै साधारणसभा गरेका देखिन्छ । त्यसो त कतिपयले आर्थिक वर्ष समाप्तिपछि ६–६ महिनाको समयावधि भए पनि किन पुस मसान्तमा नै धेरैले साधारणसभा गर्ने गरेको, अगाडि नै गरेको भए त भइहाल्छ नि भन्ने पनि गरेका छन् । त्यसो त कतिपय कम्पनीले पुसभन्दा अगाडि नै साधारणसभा गर्ने गरेका छन् । कतिपय कम्पनीले त दसैंअगाडि नै आफ्नो वार्षिक साधारणसभा गर्ने गरेका छन् । कतिपय कम्पनीले त दसैंमा नै सेयरधनीको हात–हातमा नगद लाभांश पुगोस् भनेर दसैंअगाडि नै साधारणसभा गर्ने गरेका छन् ।

नेप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले एक आर्थिक वर्षको समाप्तिपछि वार्षिक साधारणसभा गर्नुपर्छ । चालु आर्थिक वर्ष समाप्तिपछि गरिने वार्षिक साधारणसभामा कम्पनीले समीक्षा वर्षमा भएगरेका काम–कारबाही, गतिविधिको प्रतिवेदन साधारणसभामा पेस गर्नुपर्ने हुन्छ । त्यसैगरी वार्षिक साधारणसभामा कम्पनीले भावी योजनाका बारेमा पनि साधारणसभामा जानकारी दिने गरेका छन् भने समीक्षा वर्षमा कम्पनीले गरेको गतिविधिको प्रतिवेदन प्रस्ताव साधारणसभामा बहुमतले पारित गर्नुपर्छ । त्यसपछि मात्र लागू हुने प्रावधान छ । यसका लागि पनि वार्षिक साधारणसभा महत्वको हुन्छ । वार्षिक साधारणसभा कम्पनीहरूका लागि मात्र नभई सेयरधनी लगानीकर्ताका लागि पनि महत्वपूर्ण हुन्छ ।

अधिकांश सेयरधनीले कम्पनीहरूले एकै दिन एकै समयमा वार्षिक साधारणसभा नपारेको भए हुन्थ्यो भन्ने गरेका छन् । पुँजीबजारका धेरैजसो सेयरधनी लगानीकर्तासँग एक–दुई कम्पनीको मात्र नभई थुप्रै कम्पनीको सेयर हुने गरेको छ । कतिपय सेयरधनी लगानीकर्तासँग त सयभन्दा बढी कम्पनीका सेयर पनि हुने गरेका पनि छन् भने १०–१२ कम्पनीको सेयर हुनु भनेको त सामान्य नै हो भन्दा फरक नपर्ला । एकै व्यक्तिसँग धेरै कम्पनीको सेयर हुने गरेकाले पनि एकै दिन एकै समयमा धेरै कम्पनीको वार्षिक साधारणसभा हुने गरेका कारण आफू कुन कम्पनीको साधारणसभामा भाग लिन पुग्ने हो, अलमलमा पर्ने गरेको धेरैजसो सेयरधनीको भनाइ छ ।

सबै साधारणसभामा भाग लिन सम्भव पनि हुँदैन । त्यसो त साधारणसभामा भाग लिनु सेयरधनी लगानीकर्ताको अधिकार पनि हो भने कतिपय कम्पनीमा त सञ्चालकको निर्वाचन पनि हुने गर्छ । सञ्चालकको निर्वाचनमा भाग लिनु सेयरधनीको अधिकार हो । एकै दिन धेरै कम्पनीको साधारणसभा हुने गरेकाले सेयरधनीहरू आफ्नो अधिकारबाट वञ्चित हुनुपरेको छ । साधारणसभामा सेयरधनीको उपस्थिति न्यून मात्र हुने गरेको छ । त्यसैले कम्पनीले आफ्ना सेयरधनीको सुविधालाई ध्यान दिनुपर्छ भने साधारणसभामा बढीभन्दा बढी सेयरधनीको उपस्थिति होस् भन्नेमा पनि ध्यान दिनुपर्छ । सेयरधनीको मान राख्नु पनि कम्पनीहरूको दायित्व हो । सेयरधनी भनेका कम्पनीका हिस्सेदार हुन् ।

त्यसो त सेयरधनीसँग कतिवटा कम्पनीको सेयर छ, धेरै कम्पनीको सेयर भएकाले साधारणसभामा भाग लिनबाट वन्चित होस् भन्ने सरोकारवाला कम्पनीलाई त्यति चासोको विषय पनि होइन । कम्पनीले आफ्नो परिस्थिति, समय आफूलाई उपयुक्त भएअनुसार वार्षिक साधारणसभा गर्ने गरिन्छ भनेर पनि भन्ने गरेका छन् । कम्पनी ऐनले सेयर संख्याको ५१ प्रतिशत र तीन जना सेयरधनीको उपस्थिति भए साधारणसभा सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ । अधिकांश कम्पनीमा संस्थापक सेयरधनी ५१ प्रतिशत हुने हुनाले सबै संस्थापक सेयरधनी र तीन जना सर्वसाधारण सेयरधनीको उपस्थित भए र कतिपयले प्रोक्सीमार्फत पनि आफ्नो उपस्थिति जनाउने भएकाले सभा सञ्चालन गर्न बाधा हुँदैन । त्यसो त साधारणसभा गर्ने कम्पनीले अरू कम्पनीसँग सल्लाह गरेर साधारणसभा गर्ने कुरा पनि आएन नि, कि कसो ? तर पनि पुस महिना त २९ दिनको हुन्छ, अनि किन पुस २९ गते नै गर्नुपरेको भनेर पनि सेयरधनीहरूले भन्ने गरेका छन् । आउने वर्षहरूमा कम्पनीहरूले यसमा ध्यान दिन्छन् होला नै ।

प्रतिक्रिया दिनुहोस्