वार्षिक प्रतिव्यक्ति २ सय २० लिटर दूध उत्पादन

दूध उत्पादनले आत्मनिर्भर इलाममा दुग्धजन्य उत्पादनबाटै अर्बौं आम्दानी हुने गरेको छ । किसानले दूध उत्पादनका लागि व्यावसायिक खेती नगरे पनि मलका लागि पालेका दुधालु गाई तथा भैंसीबाट दैनिक दूध बिक्री गरेर जीविकोपार्जनको माध्यम बनाएका हुन् । पछिल्लो समयमा दूधबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक गाईपालनसमेत सुरु भएको छ ।
जिल्लामा जनसंख्याको अनुपातमा वार्षिक प्रतिव्यक्ति २ सय २० लिटर दूध उत्पादन हुने गरेको छ । स्वास्थ्यका हिसावले वार्षिक १ व्यक्तिले ९१ लिटर दूध सेवन गरे पनि प्रतिव्यक्ति १ सय २९ लिटर नाफा हुने गरेको छ । आवश्यक दूध सेवन गरेर दूधबाटै वार्षिक एक व्यक्तिले ४ हजार ९ सय २ रुपैयाँ नाफा कमाउने जिल्ला पशु सेवा कार्यालयको तथ्यांक छ ।
जिल्लामा यो वर्ष १ लाख २३ हजार ७ सय मेट्रिक टन दूध उत्पादन भएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ७५ अंकले बढी हो । आर्थिक वर्ष ०७२/७३ मा भने १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन मात्र दूध उत्पादन भएको थियो । सरदर प्रतिलिटर ३८ रुपैयाँका दरले बिक्री हुने गरेको दूधले मात्रै यो वर्ष ४ अर्ब ७० करोड ६० हजार रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षभन्दा ८१ करोड २ लाख ४४ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष ०७२/७३ मा भने ४ अर्ब ६१ करोड ९३ लाख ५६ हजारको दूध बिक्री भएको तथ्यांक छ ।
उत्पादित दूध मध्ये दैनिक ६७ हजार १ सय ५० लिटर जिल्लाका विभिन्न दुग्धजन्य उद्योगमा खपत हुने गरेको छ । जसमध्ये जिल्लामा रहेको २५ वटा चिज उद्योगले प्रतिदिन २५ हजार लिटर दूध खपत गर्ने गरेका छन् । छुर्पी र घ्यूका लागि खोलिएका उद्योगले पनि दैनिक २५ हजार लिटर दूध खपत गर्ने गरेका छन् । बाँकी १० हजार लिटर ललिपप उद्योग र १ सय ५० लिटर पनिर बनाउन खर्च हुने गरेको छ । दिनको सात हजार लिटर मात्र जिल्लाको बजार क्षेत्रमा सेवनका लागि दूध खपत हुने गरेको छ ।
प्रतिदिन ३३ हजार लिटर दूध जिल्ला बाहिर जानेको गरेको छ । जसमध्ये दैनिक सरदर २३ हजार लिटर दूध विराटनगर डिडिसीले लाने गरेको छ । बाँकी १० हजार लिटर दूध झापाका विभिन्न दुग्धजन्य उद्योगमा जाने गरेको छ । दूध उत्पादनका लागि जिल्लामा अहिलेसम्ममा उन्नत जातको ४० हजार दुधालु गाई रहेको कार्यालयले जनाएको छ । दुधालु गाईको बिमा भने चार हजारले मात्रै गरेको बताइएको छ ।
जिल्ला ग्रामीण भेगका किसानले भने अझै पनि दूधबाट सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन् । उनीहरूले यातायात र बजारको अभावले आम्दानी लिन नसकेका हुन् । यातायातको पूर्वाधारको अभावले गाउँमा दुग्धजन्य उद्योगको स्थापना हुन सकेका छैनन् । जहाँ घाँस र पशुपालनको राम्रो सम्भावना भए पनि स्रोत र प्राविधिक जनशक्तिको अभावले किसानले दूधलाई बजारसम्म पु¥याउन नसकेका बताउँछन् ।