Logo

झापामा विना खनजोत खेती प्रभावकारी

झापा– सामान्यतया: बाली लगाउन राँगा, गोरु वा ट्याक्टरले खेत जोत्ने गरिन्छ । तर झापामा भने पछिल्लो समयमा बिना खनजोत बाली लगाउन थालिएको छ । धान काटेर बसेका झापाका किसानले बिना खनजोत नै मकैखेती गरेका हुन् । धान काटेको खेतमा सामन्य खोस्रेर ट्याक्टरमा जोडिएको मेसिनबाट एकैसाथ मल र बीउ लगाएर उनीहरूले मकैखेती गरेका हुन् ।

झापाको बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । ती स्थानमा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रूपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उनले बताए ।

धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकै पटक मकैको बीउ मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५–२० सेन्टिमिटर बनाएर हालिएको थियो भने डीएपी मल र बीउ एकै पटक राखिएको उनले बताए । पछिल्लो समय झापामा विना खनजोत प्रविधि प्रभावकारी बन्दै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । यो प्रविधिले उत्पादन लागत कम हुने भएकाले यस वर्ष झापाका किसानले धान काटेको स्थानमा सिधै मकै रोपेको उनले जानकारी दिए ।

धान काटेको जमिनमा खनजोत नगरी मकै रोप्ने कार्याक्रम यस वर्ष कृषि ज्ञान केन्द्रले थप विस्तार गरेको बताउँदै उनले झापाका बिर्तामोड, कचनकवल र बाह्रदशी गाउँपालिकामा यो वर्ष बिना खनजोत प्रविधिमा उन्नत स्वदेशी जातको मकै रोप्ने काम भएको जनाए । यो प्रविधिबाट खेती गर्दा खनजोत गर्न नपर्ने, मलखाद तथा बिजमा समेत बचत हुने भएकाले किसानलाई लाभ मिल्ने बताउँदै उनले यो प्रविधिले किसानको समयको बचत र लागत खर्चसमेत कम हुनुका साथै माटोको स्वास्थ्यसमेत सुधार हुने जनाए ।

माटो नखनी खेती गर्दा माटोको गुणस्तर वृद्धिमा समेत टेवा पुग्ने उनको भनाइ छ । यही प्रविधि अपनाएर झापामा गत वर्ष ४४ हजार हेक्टरमा मकैखेती गरिएको र उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको उनले जानकारी दिए । खनजोत नै नगरी खेती गर्न मिल्छ भन्दा सुरुमा किसानले नपत्याएको तर पछिल्लो समय गहुँ र मकैखेती बिना खनजोत प्रविधिबाट राम्रो उत्पादन भएपछि पछिल्लो समय किसानले यस प्रविधिमा खेती गर्न थालेको मकै जोन समन्वय समितिका पूर्वअध्यक्ष खगेन्द्र सिलवालले बताए ।

विना खनजोत प्रविधिमा राम्रो उत्पादन भएकाले खेती गर्ने चलन बढ्दै गएको बताउँदै उनले यो प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै माटोको उर्वर शक्तिसमेत क्षय नहुने जनाए । प्रविधिको प्रयोगबाट बिना खनजोत मकैखेती गर्न पाउँदा झापाका किसान खुशी भएका छन् । पटक पटक खनजोत गर्दा थप समय लाग्ने हुँदा कम लागत र राम्रो उत्पादन हुने भएकाले बिना खनजोत खेती गर्न पाउँदा उनीहरू खुशी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्