स्थायी राजधानी र नामाकरण टुङ्ग्याइँदै «

स्थायी राजधानी र नामाकरण टुङ्ग्याइँदै

 
प्रदेश–३ को हिउँदे अधिवेशन आजबाट

हेटौंडा-प्रदेश नम्बर ३ को हिउँदे अधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ । गत भदौ २५ गते वर्षे अधिवेशन सकिएसँगै स्थगित भएको प्रदेशसभा चार महिनापश्चात आज आह्वान गरिएको हो ।
यस अधिवेशनबाट स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाइनेछ । लामो समयदेखि अन्यौलमा रहँदै आएको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउनेबारे अधिवेशनको पहिलो बैठकबाटै प्रक्रिया सुरु हुनेछ । नेकपाको केन्द्रीय सचिवालय बैठकबाट प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती प्रदेश कायम गर्न सिफारिस गरेसँगै प्रदेशसभा आह्वान गरी प्रक्रियामा जान लागिएको हो । स्थायी राजधानी कहाँ कायम गर्ने र नाम के राख्ने भन्नेबारेमा प्रदेशमा दुई तिहाई मत रहेको नेकपाले निर्णय गर्न नसकेपछि पार्टीको केन्द्रीय सचिवालयले एक हप्ताअघि नाम र राजधानी टुङ्गो लगाई प्रदेश समिति र प्रदेश संसदीय दललाई सिफारिस गरेको थियो ।
आज दिउँसो ३ बजे आह्वान गरिएको प्रदेशसभामा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानको लागि पठाइएको पत्र पढेर सुनाउनेछन् । त्यसलगतै औद्योगिक व्यवसाय स्थापना र सञ्चालन सम्बन्धी विधेयकको प्रदेश प्रमुखबाट प्रमाणीकरण भई आएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
आजकै बैठकमा सभामुख श्रेष्ठले प्रदेशको नामाकरण सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि प्रदेशसभामा पेश गर्नेछन् । प्रदेशको स्थायी राजधानी टुङ्ग्याउनेबारे प्रदेशसभाबाट गत जेठ ८ गते नै कार्यविधि पारित भइसके पनि नामाकरणबारे भने कार्यविधि नबनाइएकाले आजको बैठकमा नामाकरणसम्बन्धी कार्यविधि पेश गर्ने तयारी गरिएको हो ।
सभामा नामाकरणबारे कार्यविधि पेश गरेसँगै राजधानी सम्भाव्यता अध्ययन समितिले २०७५ असार २६ गत नै प्रदेशसभामा पेश गरेको प्रतिवेदनमाथि छलफल सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । “त्यतिबेला प्रदेशसभामा राजधानी सम्भाव्यता अध्ययन समितिले बनाएको प्रतिवेदन सभामा पेश मात्र गरेका थियौं, त्यसमाथि छलफल भएको थिएन, सोमबारको बैठकमा भने सबै दलको प्रतिनिधित्व हुने गरी प्रतिवेदनमाथिको धारणा सुन्ने कार्यसूची राखेका छौं,” सभामुख श्रेष्ठले भने, “सबैको धारणा सुनिसकेपछि समितिका सभापति दीपक निरौलाले त्यसको जवाफ दिनुहुनेछ ।”
यसअघि नै पािरत भइसकेको राजधानीसम्बन्धी कार्यविधि र सोमबारको बैठकबाट पारित गरिने नामाकरण सम्बन्धी कार्यविधिभित्र रही मंगलबार प्रदेश स्थायी राजधानी र नामाकरणबारे मतदान हुनेछ । मंगलबारको बैठकमा नामाकरणबारे प्रस्ताव आह्वान गरिनेछ भने कार्यविधिमा तोकिएको पाँच जिल्लामध्येबाट राजधानी रहने स्थानको प्रस्ताव आह्वान गरिनेछ । सम्भाव्यता अध्ययन विशेष समितिले सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लालाई राखेको छ । सोही जिल्लाभित्र पर्ने जुनसुकै स्थानलाई राजधानी तोक्न सांसदले प्रस्ताव गर्न सक्नेछन् । पाँच जिल्लाभन्दा बाहिरको स्थानलाई भने प्रस्ताव गर्न पाइने छैन ।
नामाकरण र राजधानीबारे परेको प्रस्तावमाथि पालैपालो मतदान हुनेछ । नेपाली अक्षरको वर्णानुक्रमअनुसार हुने मतदानमा जून स्थानलाई दुई तिहाई मत प्राप्त हुन्छ सोही स्थान प्रदेशको स्थायी राजधानी हुनेछ । प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउन आवश्यक विधि र प्रक्रिया तय गरिए पनि प्रदेश स्थायी राजधानी हेटौंडा मात्रै प्रस्ताव गर्ने र नाम बागमती प्रदेश राख्नेबारे सहमति बनाउन नेपाल कम्युनिष्ट पार्टीले छलफल गरिरहेको छ । सोही विषयलाई टुङ्गो लगाउन नेकपाको संसदीय दलको बैठक तीन दिनदेखि हेटौंडामा जारी छ ।
प्रदेश ३ मा छवटा राजनीतिक दल र एकजना स्वतन्त्र सांसद् रहेका छन् । प्रदेशसभामा रहेको कुल एकसय दश सांसदमध्ये नेकपाको ८० मत रहेको छ भने कांग्रेसको २२, विवकेशील साझाको तीन, नेपाल मजदुर किसान पार्टीको दुई, राप्रपा संयुक्त र राप्रपा नेपालको एक÷एक मत रहेको छ । तत्कालीन नयाँ शक्ति पार्टीले स्वतन्त्र रुपमा उठाएको एक सांसद रहेका छन् । स्थायी राजधानी र नामाकरणबारे मतदान भए ७४ मत भए पुग्छ । नेकपा सचिवालयको निर्णयलाई मान्दै नेकपाको मात्रै सांसदहरुले हेटौंडाको पक्षमा भतदान गरेमा दुई तिहाईभन्दा बढी मत हेटौंडाको पक्षमा खस्नेछ ।

नेकपा अनिर्णित
प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा राख्न पार्टीको सचिवालयले गरेको निर्णयलाई अनुमोदन गराउन नेपाल कम्युनिष्ट पार्टीको ३ नम्बर प्रदेश संसदीय दलको बैठक निष्कर्षबिनै टुङ्गिएको छ । गत शुत्रक्रबारदेखि हेटौंडामा जारी बैठक मंगलबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो ।
बैठकमा प्रदेशसभा सदस्यले पालैपालो आफ्नो धारणा राखेका थिए । आइतबार मात्रै २३ जना सांसदले स्थायी राजधानी र नामाकरणबारे आफ्नो मत राखेका थिए । तीन दिनसम्म ६३ जना सांसदले आफ्नो धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश सांसद्हरुले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशन विरुद्ध नजाने बताएका छन् । पार्टी सचिवालयको निर्णयप्रति विशेष गरी काभ्रे, भक्तपुर, रसुवाका सांसद्हरुले आपत्ति जनाएका थिए । मकवानपुर, ललितपुर, सिन्धुली, चितवन र काठमाडौंका सांसद्हरुले भने पार्टी सचिवालयले गरेको निर्णयलाई स्वीकारेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
विभिन्न कारणले विरोधमा उत्रिएपनि अन्तमा सचिवालयको निर्णलाई मान्नुको विकल्प नभएको भन्दै सोही अनुसार अगाडि बढ्नुपर्ने धारणा अधिकांश सांसदहरुको रहेको छ । स्रोतका अनुसार सचिवालयको निर्णयविरुद्ध खरो रुपमा उभिइरहेकी नेकपा प्रदेश ३ की संयोजक तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यसमेत सकारात्मक भइसकेकी छन् । पार्टीले आधिकारिक निर्णय नै गरेको हो भने त्यसको पालना गर्ने संकेत शाक्यले गरेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्