पर्यटकलाई सिमानामै सास्ती
भैरहवा– भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्ने बित्तिकै विदेशी तथा भारतीय पर्यटकले सास्ती व्यहोर्नु परेको छ । बेलहियास्थित अध्यागमन कार्यालयमा नेपाल प्रवेशका लागि प्रवेशाज्ञा लिने विदेशी नागरीक हुन या आफ्नै सवारी साधन लिएर नेपाल घुम्न आएका भारतीय पर्यटक सबैले सिमानाबाट सास्ती पाउँदै आएका छन् ।
अध्यागमन कार्यालयमा दरबन्दी कम हुँदा सीमित कर्मचारीले दिने सेवामा घण्टौं लाग्ने हुँदा विदेशी पर्यटकलाई भिसाका लागि ३/४ घण्टा लाग्ने गरेको छ । लामो समय घण्टौं लाइन लाग्दा सहज नभएको गुनासो पर्यटकको छ । केही समयअघि एकै दिन ८ सय पर्यटक नेपाल भित्रिदा उनीहरूको भिसा व्यवस्थापनका लागि ८ घण्टासम्म लागेको थियो ।
अध्यागमनमा ढिलाइ हुँदा पर्यटकलाई दु:खसँगै पर्यटक लिन त्यहाँ पुगेका टुरगाइड, पर्यटक लिन आएका होटेल तथा ट्याक्सी व्यवसायीसमेत घण्टौं बस्नुपर्ने बाध्यता देखिएको छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायणप्रसाद पाण्डेले सेवा लिन आउने पर्यटकको तुलनामा कार्यालयमा उपलब्ध जनशक्ति कम रहेको र एकै पटक धेरैजना पर्यटक आइपुग्दा यस खालको समस्या पहिलेदेखि नै हुने गरेको बताए ।
कार्यालयमा जनशक्ति कम छ, एकैपटक धेरैजना पर्यटक आउँदा धेरै समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता भएको पाण्डेले बताए । कार्यालयमा प्रमुखसहित पाँच जनामात्र कर्मचारी छन् । एकजना कर्मचारीले दैनिक १४ घण्टासम्म सेवा दिनु परेको र चार वटा डेस्कबाट सेवा उपलब्ध गराइएको पाण्डेले बताए । ‘थप तीन जना कर्मचारी उपलब्ध भएमा तत्कालका लागि समस्या समाधान हुने थियो’ पाण्डेले भने,‘यसका लागि विभाग र मन्त्रालयसँग बारम्बार माग गर्दै आइरहेको अवस्था छ ।’
अध्यागमन कार्यालयले विभागसँग बारम्बार कर्मचारी अभाव भएको जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएकोले पर्यटकले सास्ती पाएका उनले बताए । सन् २०२४ को नोभेम्बरसम्ममा यस नाकाबाट नेपाल भित्रने पर्यटकको संख्या भारतीय बाहेक ८३ हजार रहेका छन् । नेपाल प्रवेश गर्दा जुन उमंग पर्यटकमा हुनु पथ्र्यो त्यो उमंग पर्यटकमा छैन । होटलमा पर्यटक छिर्दा निराश र थकित भएर आउने गरेको सिद्धार्थ होटल संघ नेपाल सानका अध्यक्ष एवं नान्स होटलका प्रबन्ध निर्देशक चन्द्रप्रकाश श्रेष्ठले बताए ।
तत्कालका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा रहेका कर्मचारीहरू ल्याएर भए पनि त्यहाँ रहेको ढिलाइ हटाउन पर्ने देखिएको श्रेष्ठले बताए । ‘साँझ ६ बजेका लागि खानाको अग्रिम अर्डर गरेका पर्यटक अध्यागमन कार्यालयमा हुने ढिलाइका कारण राती दश बजे तिर आएर भोकै सुत्ने गर्छन्’ अध्यागमन कार्यालयदेखि करिबक डेढ किमीको दुरीमा रहेको होटल ल्याण्डमार्कका सञ्चालक आशा गुरुङले भने ।
आफ्नो होटलमा आउने पर्यटक भोकभोकै अध्यागमन कार्यालयमा घण्टौंसम्म लाइनमा उभिनु परेपछि चिया नास्ता बोकेर लाइनमैं वितरण गर्ने गरेको गुरुङको भनाइ छ । सीमित कर्मचारीका कारण अध्यागमनमा ढिलाइ हुँदा पर्यटकलाई नेपाल प्रवेशमा सास्ती भएको लुम्बिनीका पर्यटन व्यवसायी प्रवीण शाक्यले बताए । भारतीय अध्यागमनमा आधा घण्टामै काम हुन्छ । हाम्रोमा ४/५ घण्टा लाग्ने गरेको पर्यटकको गुनासो रहेको उनले सुनाए ।
भारतीय पर्यटकलाई बढी चेकिङ
स्थलमार्ग भैरहवा हुँदै सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन् । यद्यपि स्थलमार्गबाट कती भारतीय पर्यटक नेपाल भित्रिए भन्ने कुलै अभिलेख छैन । यो नाका हुँदै आउने पर्यटकहरू भैरहवा क्यासिनोमा रमाउन, लुम्बिनी, पोखरा, मुक्तिनाथलगायतका स्थानमा जान आउने गर्छन् । तर उनीहरूले आफै लिएर आउने सवारी साधन भने बेलहिया नाकाबाटै सुरक्षाका नाममा गरिने अनावश्यक चेकजाँचले गर्दा सास्ती पाएको पर्यटकहरूले बताएका छन् । नेपाल प्रवेश गर्ने बित्तिकै नाकामै सुरक्षा निकायले रोक्छन्, त्यसपछि भन्सार पास र त्यही रहेको यातायात कार्यालयमा पटके पासका लागि रोकिन्छन् ।
त्यहाँबाट निस्कने बित्तिकैै बेलहिया बाइपासमा प्रहरीले चेकिङ गर्छ । त्यहाँ सबै कागजात देखाई सुरक्षा जाँच गरेपछि डन्डा चेकपोष्टमा फेरि सशस्त्र प्रहरीले चेकजाँच गर्छ । एक ठाउँमा सुरक्षा चेकजाँचपछि बारम्बार चेक गरी पर्यटकलाई सास्ती दिने काम भइरहेको नेपाल भारत मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल बताउँछन् । भारतीय पर्यटकहरू नेपालमा भ्रमणका लागी अधिक आउँछन, तर उनीहरूलाई विभिन्न बहानामा दु:ख दिने काम भइरहेको अग्रवालले बताए । पाइलै पिच्छेको चेकिङले एक पटक नेपाल आएका भारतीय पर्यटक पुन: नेपाल आउन नखोज्ने उनको भनाइ छ ।