हचुवा लगानीले सहकारी बचतकर्ताको रकम जोखिममा
जुम्ला– जुम्लामा सहकारीहरूले हचुवामा लगानी गरेका कारण बचतकर्ताको करोडौं बचत जोखिममा परेको छ । पहुँचका भरमा अनुत्पादनशील क्षेत्रमा लगानी गरेकै कारण ऋण असुलीमा समस्या देखिएको हो । लगानी जोखिम हुन सक्ने आकलनसमेत नगरी हचुवामा ऋण लगानी गर्दा जुम्लाका सहकारीले बचतकर्ताको करोडौं बचत फिर्ता गर्न मुस्किल परेको छ ।
अनुत्पादक क्षेत्रमा गरेको लगानीले प्रतिफल नदिँदा अधिकांश ऋणी सहजै ऋण तिर्ने स्थितिमा छैनन् । कतिपय ऋणी पहुँचवाला छन् । जसले पटक पटक ताकेता गर्दा पनि ऋण तिर्न मानिरहेका छैनन् । ५/१० लाख ऋण तिर्नका लागि ५०/६० लाखको जग्गा लैजान भन्ने जवाफ दिने गरेका छन् । जसका कारण ऋण असुली खराब हुँदा बचत फिर्तामा समस्या भएको हो ।
हचुवामा गरेको लगानीका कारण पहुँचवालाले ऋण तिर्न आलटाल गर्दा बचत फिर्ताको विषय सहकारीलाई फलामको चिउरा चपाउनु सरह भएको छ । हाल जुम्लामा दियालो बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता गर्न नसक्दा बचतकर्ता आन्दोलित भएका छन् । कुल ४ हजार ५ सय बचतकर्ता रहेको सहकारीले करोडौ बजेट फिर्ता गर्नु पर्ने छ । तर सहकारीसँग सहजै बजेट फिर्ता गर्ने कुनै आधार देखिदैन् ।
यद्यपि आगामी चैतसम्म केही रकम र असारसम्म लगभग सबै बचत फिर्ता गर्ने सहकारीले बताउँदै आएको छ । सहकारीले विभिन्न प्रयोजनका लागि करिब ३६ करोड ऋण लगानी गरेको पाइएको छ । जसमा हालसम्म ७ करोडसम्म मात्रै ऋण असुली भएको छ । बितेको डेढ वर्षमा सहकारीले मुस्किलले डेढ करोड मात्रै ऋण असुली गरेको देखिन्छ । अझै सहकारीले २८ करोडसम्म ऋण असुली गर्न बाँकी छ । बचतकर्ताको मात्रै करिब १७/१८ करोड बचत फिर्ता गर्नु पर्नेछ ।
जसमा करिब ८ करोड बढी खुद बचत फिर्ता गर्नु पर्ने अनुमान गरिएको छ । उक्त सहकारीका प्रबन्धक दीपक शाहले ढिलोमा चैतसम्म सबै बचत फिर्ता गर्ने भने पनि विश्वास गर्ने वातावरण नरहेको बचतकर्ताहरू बताउँछन् । करिब २८ करोड ऋण असुली गर्न बाँकी छ । १७/१८ करोड बचत फिर्ता गर्नु पर्ने छ । तर ऋणीले पटक पटक ताकेता गर्दा पनि ऋण नबुझाएकोले समस्या निम्तिएको उनको भनाइ छ ।
बचतकर्ता र सहकारीबीच छलफल
आन्दोलित बचतकर्ता र दियालो सहकारी संस्थाका व्यवस्थापकबीच छलफल भएको छ । आइतबार जिल्ला प्रशासनमा भएको छलफलमा मुद्दा मामिलाभन्दा पनि सबैको सहयोगमा बचत फिर्ता गर्ने, ऋण असुलीमा सहयोगको सहमती जुटेको शाहले बताए । १/२ दिनपछि लिखित सहमति गर्ने कुरा भएको छ । उनले भने,‘हामीले ढिलोमा असारसम्म बचत फिर्ता गर्ने आधार प्रस्तुत गर्छौ । त्यसमा बचतकर्ता र अन्य सरोकारवालाको सहयोग आवश्यक छ । त्यस्तै ऋण असुलीलाई कडाइका साथअघि बढाउने र मुद्दा मामिला नगर्नेसहितको लिखित गर्ने कुरा भएको छ ।’
जिल्ला सहकारी संघका अध्यक्ष ऋषिराम पाण्डेले अधिकांश सहकारी बैंक बन्न खोजेका कारण समस्या निम्तिएको बताए । उनले भने,‘सहकारीले सदस्यको हितमा काम गर्ने हो । उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो । तर पहुँचका भरमा लगानी गर्ने, असुलीमा ध्यान नदिने, सञ्चालक समिति गम्भीर नहुने जस्ता समस्याले सहकारी समस्याग्रस्त र बचतकर्ताको बचत डुब्ने अवस्था पुगेको हो ।’ सहकारी ऐन–२०७४ ले कुनै एक सदस्य वा व्यक्तिबाट २५ लाखभन्दा बढी बचत गर्न नपाइने, एक व्यक्तिलाई १० लाखभन्दा बढी ऋण लगानी गर्न नपाइने प्रावधान भए पनि बचत र ऋण लगानीमा सहकारीको चरम लापरबाही देखिएको छ ।
जसका कारण जुम्लासहित देश भरका सहकारीमा बचत फिर्ता गर्नसमेत मुस्किल हुने स्थिति आएको अध्यक्ष पाण्डेले बताए । नयाँ योजना बैंकले ल्याउने हो । तर सहकारीहरूले ऐन विपरीत बैंक जस्तै योजना ल्याउने गरेका छन् । जुन गलत हो । सहकारी आफैमा सहकारी हुन छोडेर बैंक बन्न खोज्दा समस्या निम्तीएको सहकारी संघका अध्यक्ष पाण्डेलले बताए । जुम्लामा तीन सय बढी सहकारी रहे पनि ८४ वटा मात्रै संघमा आबद्ध छन् ।