Logo

पर्यटकको रोजाइमा कर्णाली, पूर्वाधारमा प्राथमिकता

वीरेन्द्रनगर– भौगोलिक रूपमा विकट मानिएको कर्णाली पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकको रोजाइमा परेको कारण प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो । कर्णाली घुम्नका लागि पनि उत्कृष्ट गन्तव्य हुँदै आएको छ । यहाँ धार्मिक पर्यटनको महत्त्व र आस्था छ ।

धार्मिक पर्यटकदेखि हिमालको आनन्द लिनेहरूका लागि मात्र नभई दैनिक कर्णालीका उच्च, समथर तथा मध्य भागमा सुन्दर कर्णालीको सपना देखेर संघर्ष गर्ने स्थानीयबासीका लागि पनि पुल, पुलेसा निर्माण गर्न प्रदेश सरकारले लगानी बढाउँदै आइरहेको छ । कर्णाली प्रदेश स्थापनादेखि हालसम्ममा दर्जनौं नदी नालामा वारपार गर्न झोलुंगे पुल बनाउँदै आएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले बताए ।

कर्णालीमा झोलुंगे पुलले बाटो मात्र छोटिदैन, मानिसका दैनिक संघर्षको समय पनि छोटिने उद्देश्यले प्रदेश सरकारले झोलुंगे पुलको कल्पना गर्दै लगानी गर्दै आएको उनको भनाइ छ । यहाँ भेरी, कर्णाली नदीदेखि साना नदीको मात्रा धेरै रहेका छन् । यी नदीका सहायक नदीहरू पनि थुपै रहेका छन् । शान्ति प्रक्रियापछि विकासको लयमा आउन थालेको कर्णाली प्रदेशमा संघीयताले थप टेवा पुर्‍याएको छ । गाउँ गाउँमा सडक निर्माणका कामहरू चलिरहेका छन् भने भौतिक पूर्वाधारका कामसमेत जारी रहेको छ ।

कर्णाली प्रदेश शुद्ध जलभण्डारको रूपमा रहेको मात्र नभई हिमालय पर्वतको कापबाट आउने शुद्ध पानीलाई अमृतको रूपमा लिइने गरिन्छ । चीनको सिमाना अर्थात् उत्तरदेखि पश्चिम बग्ने भेरी नदीदेखि सबैभन्दा लामो फेरो हाल्ने कर्णाली नदी यही रहेका छन् । कर्णालीका १० जिल्लामा चालु आर्थिक वर्षमा मात्र मन्त्रालयले ९० वटा पुल बनाउनका लागि बजेट विनियोजन गरी कार्यान्यवन तहमा पुर्‍याएको सूचना अधिकारी कार्कीले बताए ।

भूगोलको प्राथमिक र आवश्यकता आधारमा प्रदेश सरकारले झोलुंगे पुल निर्माण कार्यलाई जारी राखेको बताउदै कार्कीले भने,‘चालु आव र अघिल्लो आवमा गरी ९० वटा पुल निर्माण गर्न लागेको छौँ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवं सुधार गर्न झोलुंगे पुल निर्माण गर्न लागिएको हो । । अहिले मात्र पुल निर्माण गर्न मन्त्रालयसँग २० करोड ५० लाख बजेट विनियोजन गरिएको छ । चालु आवमा ४२ वटा नयाँ पुल निर्माण गर्ने कार्य योजना रहेको छ । मन्त्रालयले ग्रामीण क्षेत्रमा नागरिकलाई नदी वारपार गर्न झोलुंगे पुल निर्माण गरिरहेको छ ।’

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले आर्थिक वर्ष २०८०/८१ मा २७ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको बताए । मन्त्रालयले यो वर्ष ९४ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९/८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष पनि ४२ वटा नयाँ पुल निर्माणका लागि बजेट व्यवस्था गरिएको छ ।

मन्त्री बुढाका अनुसार ४२ वटा नयाँ पुलको बजेट निश्चित भएको छ । मन्त्री बुढाले भने,‘कर्णाली हेर्न डोल्पा, हुम्ला र मुगु जानु पर्छ ।’ कर्णालीका सबै ठाउँमा अझैँ सडकको पहुँच नपुगेको भन्दै मन्त्री बुढाले संघीय सरकराले न्याय गर्न नसकेको बताए । सीमा क्षेत्रमा अझैँ सरकारको उपस्थिति हुन नसकेको पूर्वमन्त्री वीरबहादुर शाहीले बताए । राज्यसँग उपल्लो डोल्पामा सुरक्षाका लागि व्यवस्था गरिदिन आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्