पाँच करोड लागतमा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण
पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा पहिलो चरणमा ४० जनाको क्षमताको सुविधा सम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण भएको छ । स्वीजरल्याण्डका किसानको साझा संस्था एहमान फाउण्डेसनको आर्थिक सहयोगमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ देउपुजेमा निर्माण गरिएको उक्त केन्द्र एक समारोहका बीच आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक समारोहका बीच उक्त भवनसहित केन्द्र उद्घाटन गरेका छन् । दाताको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वशन्तराज दवाडीले बताए ।
उक्त अवसरमा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो । सेवा केन्द्रका चारवटा भवन छन् । प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको हो भने सेवा केन्द्रमा ६५ वर्ष उमेरमाथिका असहाय, गरिब तथा विपन्न नागरिकलाई आवासीय सुविधासहित राखिने प्रतिष्ठानका संस्थापक अध्यक्ष दवाडीले बताए ।
हाल ४० जना क्षमताको उक्त भवन हाल पाँच करोडको लागतमा निर्माण भएको उनले जनाए । भैरव बिल्डर्स र सिद्धि विनायक कन्सल्टेन्सी एण्ड बिल्डर्स प्रालिले उक्त भवन बनाउने जिम्मा लिएका थिए । सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवन रहेका छन् भने एउटा कर्मचारी तथा किचन एवं अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको उनले जनाए । गरिब, विपन्न र असहाय वृद्धवृद्धाका लागि लक्षित गरिए पनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेर पनि वृद्धवृद्धा राख्न सकिने संस्थापक अध्यक्ष दवाडीले बताए ।
सेवा केन्द्र सञ्चालनका लागि सुरुवाति तीन वर्षको सम्पूर्ण खर्च इहमान फाउण्डेसनले नै बेहोर्ने प्रतिष्ठानले जनाएको छ । दवाडीले सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन शुल्क तिरेर पनि राख्न सकिने बताउँदै पैसा नहुनेलाई सहयोग गर्ने उल्लेख गरे । सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकलाई क्लिनिक र फार्मेसीसहितको नर्सिङ सेवा, परामर्श सुविधा, पुस्तकालयको सुविधा छ ।
अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवाषचन्द्र लम्सालले बताए । ढिलोमा अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । भवनको झ्याल ढोकाको काम बाँकी छ भने किचनका सामान किन्नुपर्ने र ज्येष्ठ नागरिक राख्नका लागि प्रक्रिया पूरा गर्दा सञ्चालनमा आउन तीन महिना समय लाग्ने सचिव लम्सालले जनाए ।
सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका परिवारजन कर्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङले चार रोपनी जग्गा दान गरेका थिए । आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । जसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धा आएर बस्ने गरेको स्थानीय कृष्ण दवाडीले बताए ।