Logo

विकासको लय समाउँदै इस्मा

गुल्मी– लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको उत्तर पश्चिम क्षेत्रमा अवस्थित इस्मा गाउँपालिका ऐतिहासिक पृष्ठमूमिबाट नामकरण भएको क्षेत्र हो । बाइसे चौबिसे राज्यअन्तर्गत इस्मा प्रारम्भमा सात सय कुरिया र २४ मौजाले बनेको थियो ।

सुरुवाति समयमा यस राज्यमा अर्याल जातिको शासन रहेको थियो भने गोरखा राज्यमा विलय हुनुपूर्व ठकुरी जातिको शासन रहेको इतिहास छ । विसं १८७२ असोज ४ गते इस्मा राज्य गोरखा राज्यमा विलय भएको थियो । विसं २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणाबमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो ।

यस गाउँपालिकाको पूर्वमा मुसिकोट र रेसुङ्गा नगरपालिका, दक्षिणमा धुर्कोट गाउँपालिका, पश्चिममा धुर्कोट र मालिका गाउँपालिका र उत्तरमा मुसिकोट नगरपालिका रहेका छन् । यस गाउँपालिकामा ६ वटा वडा रहेका छन् । जसमा साविकको हस्तिचौर गाविसलाई २ वटा वडा १ र २ मा विभाजन गरिएको छ भने दर्लामचौर, दोहोली, इस्मा रजस्थल, अमरपुर गाविसलाई क्रमश: ३, ४, ५, ६ वडामा विभाजन गरिएको छ ।

यस गाउँपालिकाको कुल क्षेत्रफल ८१.८८ वर्ग किलोमिटर रहेको छ । यहाँको जनसंख्या महिला १२ हजार ५६ र पुरुष ८ हजार ९०८ गरी जम्मा २० हजार ९६४ रहेको छ । यसको औसत उचाइ समुद्री सतहबाट १५ सय मिटर रहेको छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको पवित्र तपोभूमि रेसुंगाको काखमा रहेको गुल्मीको सदरमुकाम तम्घासबाट मात्रै १० किलोमिटरको यात्रामा इस्मा गाउँपालिका पुग्न सकिन्छ । छल्दी, पनाह र निस्ती खोलाले घेरेको इस्मा गाउँपालिकाको छल्दी किनार मदन भण्डारी राजमार्गले छिचोलेर सालझण्डी–ढोरपाटन राजमार्ग भेटाउन सकिछ भने यसको अलावा छल्दीबाट इन्देगौंडा हुँदै मध्यपहाडी लोकमार्गलाई पनि भेटाउन सकिन्छ ।

साथै इस्मा गाउँपालिकाको छल्दीबाट छल्दी–ठाडढुङ्गा–इस्मा मैदान सडकले इस्मा गाउँपालिकाका सबै वडालाई सहज सडकको पहुँचमा ल्याउन सहयोग गरेको छ । छल्दी किनार छिचोलेको मदन भण्डारी राजमार्गको हुलाके खण्डबाट अम्मपुर हुँदै मालिकाको अर्जेै पोखरावारी र हुलाकेबाटै इस्मा रजस्थल हुँदै मैदान निस्कने सडकले पनि इस्मावासीलाई थप सुगमको अनुभूति गराइरहेको छ । साथै छल्दी किनारकै छिनुवाबाट ठाडढुङ्गा निस्कने सडकले पनि थप सहज सडककको अनुभूति स्थानीयलाई गराएको छ ।

यहाँका मुख्य स्थानका रूपमा इस्मा कोटलाई लिन सकिन्छ । इस्मा कोटबाटै गाउँपालिकाको नाम इस्मा रहन गएको हो । इतिहास बोकेको इस्मा कोटको हाल थप व्यवस्थापनसहित निर्माण भइरहेको छ । इस्मा कोट ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो । अहिले इस्मा कोटलाई चिटिक्क बनेको इस्मा कोट पुजा समितिका सचिव देवीराम घिमिरेले बताए । विगतमा इस्मा राज्यका रुपमा खडा भएको यो इस्मा कोट हाल इस्मा गाउँपालिकाको सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र हो । हाल इस्मा कोट निर्माण तथा व्यवस्थापनअन्तर्गत संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम भइरहेको घिमिरेले बताए ।

इस्मा कोटबाहेकका मुख्य क्षेत्रको रुपमा इस्मा गाउँपालिकाको वडा नम्बर १ मा रहेको अखिल विश्व शक्तिपीठलाई लिन सकिन्छ । गायत्री आश्रमले परिचित यो शक्तिपीठ २०७१ चैतमा स्थापना भएको थियो । यसका संस्थापक नरहरि घिमिरे र नारायण पन्थी हुन् ।

शक्तिपीठमा अखण्ड दीप प्रज्वलन्, बिहान, दिउँसो र साँझ पूजा, युग परिवर्तन आफैंबाट गर्नुपर्छ भन्ने सोचको विकास, गायत्री मन्दिर, यज्ञशाला, सभाहल, विश्राम कक्ष, गौशला, आध्यात्मिक अध्ययनका लागि साहित्य केन्द्र, गायत्री विद्यापीठ र दुई सय जना भन्दा बढी अट्ने सभाहल रहेका छन् । गायत्री विद्यापीठ ४७ रोपनी जग्गा, सार्वजनिक गुठीको रूपमा दर्ता, विद्यापीठ भवनको निर्माण, जडिबुटी तथा फलफूल क्षेत्र विस्तार र मौरी पालनको प्रारम्भलगायत काम शक्तिपीठ क्षेत्रमा भइरहेको अखिल विश्व शक्तिपीठका संस्थापक नरहरि घिमिरेले बताए ।

इस्मा मैदान, दोहोली, नयाँपोखरा, रामकोट, ठाडढुङ्गा, हस्तिचौर, रातडाँडा, छल्दी पनाह, छिनुवा, हुलाके, बुल्म, अमरपुर, चाँपटारी, दोवाटा र उजुङ रहेका छन् । यस गाउँपालिकामा मावि सातवटा, आधारभूत विद्यालय १७ वटा गरी निजी तथा समुदायिक गरी कुल जम्मा ४६ वटा शैक्षिक संस्था रहेका छन् भने पाँचवटा स्वास्थ्य चौकी, एउटा आधारभूत स्वास्थ्य इकाई र १ वटा सामुदायिक स्वास्थ्य संस्था रहेका छन् ।

इस्मा गाउँपालिका स्थानीय तह निर्वाचनको दोस्रो कार्यकालकोे रूपमा २०७९ वैशाखमा भएको निर्वाचनबाट इस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्का निर्वाचित भएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकी पार्वती कुँवर निर्वाचित भएकी थिइन् ।

सोही कार्यपालिकाको बैठकबाट टपरी उद्योगको स्थापना, माध्यमिक तहसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने अभियान सुरु, स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, प्रत्येक वडामा विद्युत र खानेपानीका कर्मचारी, वडा नम्बर ६ अम्मरपुर बुल्ममा कृषि सेवा केन्द्रको स्थापना र वडा नम्बर ३ दर्लामचौर आलमदेवीको नजिकमा पशु सेवा केन्द्रको स्थापना गर्ने निर्णय गरेको थियो । जुन निर्णय अहिले कार्यान्वयन भइरहेका छन् ।

इस्मा गाउँपालिका अन्तर्गतमा सबै वडामा विपद् न्यूनीकरण पूर्वतयारीका लागि वडाध्यक्षहरूले रेडक्रस, क्लब र सबै प्रकारका सामाजिक संघसंस्थासँग सहकार्य गर्ने, सडक/कुलो मर्मतका लागि लेन्थवर्करको व्यवस्था गर्ने, ‘शीघ्र सेवा तीव्र विकास’ को अवधारणा अनुसार गाउँपालिकामा हेल्प डेस्क राख्ने, कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्ने, न्यायिक इजलासको स्थापना गर्ने र हस्तिचौरमा प्रहरी चौकी निर्माणका लागि सिफारिसलगायतका निर्णय इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का नेतृत्वको कार्यपालिकाको पहिलो बैठकबाट भएका थिए । जुन अहिले कार्यान्वयन भइरहेका छन् ।

इस्मा गाउँपालिकामा घर–घरमा स्वास्थ्य परीक्षण, विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा, नि:शुल्क शिक्षा कार्यान्वयन, नि:शुल्क र सहज खानेपानी, स्थानीय रोजगार, कृषि र पशु बिमा, कृषिमा उद्यमशीलता, सडक स्तरोन्नति र कालोपत्रे, पर्यटन पूर्वाधार विकास र घरेलु उद्योगहरूको स्थापनालगायतका अवधारणा बोकेर इस्मा गाउँपालिकाले काम गरिररहेको छ ।

गाउँपालिकाले किसानलाई व्यावसायिक रूपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ । पछिल्लो पटक पालिकाभित्र पाँचभन्दा धेरै दुहुना गाईभैंसी पाल्ने किसानलाई मासिक १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय हाल कार्यान्वयन भइरहेको छ ।

नि:शुल्क स्यानिटरी प्याड
गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड नि:शुल्क वितरण गर्दै आएको छ । गाउँपालिकाका जनप्रतिनिधिले आफू निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै नागरिक सहायता कक्षको स्थापना, सामाजिक सुरक्षा भत्ता टोलटोलमा पुगेर वितरण, एकीकृत घुम्ती शिविर सञ्चालन, ‘क’ वर्गका अपाङ्गलाई घरमै पुगेर परिचय पत्र वितरण, एकल पुरुष भत्ताको सुरुवात, नि:शुल्क आँखा शल्यक्रिया कार्यक्रम, पालिकास्तरीय मुटु शिविर सञ्चालन, सामुदायिक स्वास्थय शिविर र नि:शुल्क अल्ट्रासउन्ड सेवाको सञ्चालन गरेको छ ।

नि:शुल्क शिक्षा
यस्तै शिक्षामा माध्यमिक तह ११/१२ मा नि:शुल्क शिक्षाको व्यवस्था, स्थानीय पाठयक्रम निर्माण, कृषिमा अनुदान, नि:शुल्क माटो परीक्षण प्रयोगशाला निर्माण, खेलकुदमा प्रोत्साहन गर्न पालिकामा अध्यक्षको कपको सञ्चालन, राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट हुनेलाई पालिकाको तर्फबाट सम्मान, अध्यक्ष कप छात्रवृत्ति, जिल्लाभित्रकै क्याम्पसमा उच्चशिक्षा अध्यान गर्ने विद्यार्थीलाई छात्रवृत्ति, उत्कृष्ट २० खेलाडीलाई सम्मान, वडा तहमै इलेक्ट्रिसियन र प्लाम्बरसमेत गाउँपालिकाले राखेको छ । खानेपानी एवं सरसफाइ विपद् व्यवस्थापनलगायतमा पनि इस्माले गरिरहेको छ ।

गाउँपालिकाको वडा–१ मा खड्क जालपा कोट उजुङको व्यवस्थापन, खेलमैदान निर्माण, सीता गुफा, काठका पोल विस्थापन, पहिरो नियन्त्रण मल्दी, हेल्थ पोष्टमा ग्याभिन जाली लगाउने, जैढुगां वीपी उद्यान, गुर्वाफाँट चक्लाबन्दी, हिमालय माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई वार्षिक रोजगारको ग्यारेन्टी, आइसिटी ल्याबको स्थापना, ९० घरमा एक घर एक धारा, खानेपानीको पहुँचमा नभएकालाई नि:शुल्क खानेपानी, गुर्वाखोला कल्र्भट निर्माण र अखिल विश्व गायत्री शक्तिपीठको व्यवस्थापनलगायतका काम वडा–१ मा भइरहेको वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।

गाउँपालिकाको वडा–२ मा रातडाँडा ताल्तुङ हर्पुकोट सडक, छल्दी रातडाँडा इन्द्रेगौंडा सडकको स्तरोन्नती, मनकामना मन्दिरको व्यवस्थापन, झेंदी जावुनपाटा देउरालीडाँडा खानेपानी, वडा कार्यालय भवन निर्माण, स्वास्थ्य इकाईको भवन निर्माण, खड्क जालपा मन्दिर व्यवस्थापन, छल्दी दोभान पौवाघाट सडकको स्तरोन्नति, जिम्रेघाट हाँडीखोला वडामान थापचौर मोटरबाटोको स्तरोन्नती, स्याँला चिसापानी कुमालगाउँ रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ जोड्ने पक्की पुल निर्माण, घर्तीफाँट चिसापानी पालुखा मावि जोड्ने मोटरबाटो ट्रयाक निर्माण, ट्रस निर्माण छल्दी, पालुखा नाच्नेडाँडा ट्रस निर्माण, खजुरीनेटा खड्क मन्दिर, साराखेत सिँचाइ कुलो योजना निर्माण र विद्यालय भवन निर्माणलगायतका काम वडा–२ मा भइरहेको वडाध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।

गाउँपालिकाको वडा–३ मा थामाको गढी सिँढी निर्माण, खग्रेटामा एक घर एक धारा निर्माण, कृषि सेवा केन्द्रको स्थापना, हेलिप्याडको व्यवस्थापन, ठाडढुंगा बजार क्षेत्रको सडक कालोपत्रे र प्रधानमन्त्री रोजगारमार्फत् सिँडी निर्माणलगायतका काम वडा–३ मा भइरहेको वडाध्यक्ष ज्योतिराज कुँवरले जानकारी दिए ।

वडा–४ मा इस्मा गाउँपालिकाकै सबैभन्दा बढी जोखिममा रहेको माझी भीर सडकको ढलान, ढोकामुख कोटकोटरी सडकको स्तरोन्नति, कोटकोटरी ऐतिहासिक मन्दिर निर्माण, देउराली पार्कले थप सौन्दर्यकरण, गुम्बा र रिप मन्दिरको तप व्यवस्थापन भइरहेको वडाध्यक्ष राजु बस्नेतले जानकारी दिए ।

गाउँपालिकाको वडा–५ मा इस्मा कोटको थप व्यस्थापन, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ऐतिहासिक पोखरी निर्माण, चौतारी निर्माण, कृषिका लागि टनेल वितरण, बीउबिजन वितरण, विषादी वितरण, पशुपंक्षीका लागि औषधि वितरण, विद्यालय भवन निर्माण, खानेपानी एक घर एक धारा निर्माण, सिंँचाइ र वडा कार्यालयबाट सबै काम नियमित रूपमा नागरिकमैत्री हिसाबले काम भइरहेको वडाध्यक्ष झवीन्द्र अर्यालले जनानकारी दिए ।

गाउँपालिकाको वडा–६ मा लखन थापा खेलकुद मैदानमा वाल निर्माण, सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागु, सेरामिक्स उद्योगमा तालिम प्रदान, जनजाति समुदायमा एक घर एक टनेल वितरण, सडक ग्राभेल, सडकमा नाली निर्माण र काठका पोल विस्थापन र स्थानीय सरकारबाट हुने सबै काम वडा–६ मा भइरहेको वडाध्यक्ष ढालबहादुर कुँवरले जानकारी दिए ।

जीर्णोद्धारपछि चिटिक्क इस्मा कोट
इस्मा गाउँपालिकाले अहिले प्रदेश सरकार र संघीय सरकारको सहयोगमा इस्मा कोटको पुन: निर्माण गरेको छ । जसमध्ये इस्माकोट भवन पुन: निर्माण, बली दिने स्थल जीर्णोद्धार, रानीले कपाल कोर्ने ठाउँ जीर्णोद्धार, ढुंगाले छाएको छाएको प्रतीक्षालय निर्माण, कोट हेरालु घर र गेट निर्माण, कोट वरिपरी घेराबार र इनार मर्मत गरिएको छ । यसको अलावा विभिन्न जातका बिरुवा रोपण गरिएको छ ।

इस्माकोट जीर्णोद्धारमा स्थानीय ढुंगा र काठको अधिकतम प्रयोग भएको छ । पुरातात्विक र प्राचीन झल्को दिने झक्तपुरे इटाको प्रयोगले इस्मा कोट चिटिक्क बनेको छ । यस आर्थिक वर्षमा पिउने पानीको प्रबन्ध, शौचालय मर्मत, सडक स्तरोन्नति, भत्किएको पर्खाल पुन:निर्माण, राष्ट्रिय झण्डा, डिजिटल बोर्ड र पदमार्गको व्यवस्थापनलगायतका काम गर्ने गाउँपालिकाको तयारी रहेको छ । आगामी पुस महिनाको समयमा आरु बखडालगायतका फलफूलका बिरुवा रोप्ने गाउँपालिकाको तयारी रहेको छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको पवित्र तपोभूमि रेसुंगाको काखमा रहेको गुल्मीको सदरमुकाम तम्घासबाट मात्रै १० किलोमिटरको यात्रामा इस्मा गाउँपालिकाको सीमा टेक्न सकिन्छ ।

छल्दी, पनाह र निस्ती खोलाले घेरेको इस्मा गाउँपालिकाको छल्दी किनार मदन भण्डारी राजमार्गले छिचोलेको छ । जसअन्तर्गत छल्दी, झरना, छिनुवा, हुलाके र बुल्मबाट इस्मा कोट निस्कन्छ सकिन्छ । सबै पक्षसँग समन्वय गरी सबै इस्माबासीको परिचय र चिनारीको उद्गम इस्मा कोटलाई पुन:निर्माण, जीर्णोद्धार र व्यवस्थापन गर्न जुटेको अध्यक्ष भगत सिंह खड्काले बताए ।

गाउँपालिकाको सिदुङ्खा, मैनडाँडा, ढेंगाटोल मड्किना, टिम्लेखर्क र कोटकोटरीमा २०८१ वैशाख ८ गते जंगलमा लागेको आगो बस्तीमा पुग्दा २६ घर र ४९ गोठ पूर्ण रूपमा नष्ट भएका थिए । आगलागीले क्षति भएको क्षेत्रमा गाउँपालिकाले प्रतिघर एक/एक लाख दिएर घर पुन:निर्माण सम्पन्न छ । प्रदेश र संघबाट आउने अनुदान आउन बाँकी रहेको छ । आगलागी हुने बित्तिकै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले तत्काल राहत र उद्धारको काममा जुटेका थिए । आगलागी पीडितलाई आफूसँगै साथमा स्थानीय सरकार रहेको महशुस जनप्रतिनिधि र कर्मचारीले पीडितलाई अनुभूति गराएका थिए । हाल क्षतिग्रस्त क्षेत्रमा काम गरिरहेको छ ।

उदाहरणीय न्यायिक समिति
इस्माले न्यायिक समितिको क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ । न्यायिक इजलासको निर्माणदेखि लिएर न्यायिक सम्पादनमा इस्मा गाउँपालिका अब्बल रहेको छ । साथै इस्माका विकास निर्माणका गतिविधिमा अनुगमन पनि प्रभावकारी ढंगबाट अगाडि बढेको छ । उपाध्यक्ष कुँवरले न्यायिक सम्पादनमा कुनै बिलम्ब नहुने गरेको बताइन् । उनले योजनाको प्रभावकारी रुपमा अनुगमन गर्ने र इस्माको विस्तारै विकासको लयतर्फ लैजाँदै गरेको जानकारी दिइन् ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सिँचाइ, कृषि तथा पशुपालन र सामाजिक सचेतनालगायतका क्षेत्रमा काम गरिरहेको छ । २०७९ वैशाखमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकालको अघिल्लो दुई वर्षको समयमा प्रभावकारी ढंगले काम अगाडि बढाएको अध्यक्ष भगत खड्काले जानकारी दिए । उनले कृषि, पशुपालन र पर्यटनतर्फबाट इस्माको समुन्नतिको यात्रामा लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्