Logo

नाकाबासीको पीडा सधैं खानेपानी समस्या

दाङ– राजपुर गाउँपालिका–६ खाङग्रा नाका भारतसँग सीमा जोडिएको सीमाबस्ती गाउँ हो । २०२८ सालतिर खाङग्रा नाकामा बस्ती बसेको थियो । सीमा क्षेत्रमा नागरिकको बसोबास बढ्दै गएपछि विकासका पूर्वाधार विकास हुँदै गए पनि खानेपानीको समस्याले भने स्थानीयलाई सधै सताउने गरेको छ । खोला, जरुवाको पानी खाएर वर्षौं बिताएका खाङग्रा नाकाका स्थानीयले गाउँमा बाटोघाटो पाए पनि अझै खानेपानी, विद्युत, सञ्चारको सुविधा पाउन सकेका छैनन् ।

दैनिक जीवनका लागि अत्यावश्यक पर्ने पानीको जोहो गर्न स्थानीयलाई निकै सकस पर्ने गरेको छ । बर्खाका समयमा खोलाको पानी रसाउँदा जरुवाको भर पर्ने खाङग्रा नाकाबासी हिउँद र गर्मीयाममा जरुवा सुक्दा पानीका लागि निकै समस्या हुने गरेको शेरबहादुर पुन बताउँछन् । केही वर्षअघि गाउँको बीचमा खनेको कुवाले अहिले सिंगो गाउँबासीलाई प्यास मेट्दै आए पनि हिउँदमा सुक्दा खोलामा पानी खोज्दै हिँड्नुपर्ने बाध्यता भएको बताए ।

वर्षातको समयमा कुवाको पानीले पुर्‍याउने भए पनि गर्मीयाममा कुवाको पानी सुक्दै जाँदा स्थानीयलाई खानेपानीको समस्या पनि बढ्दै जाने बताउँछन् । कुवा सुकेपछि गाउँनजिक रहेको खोला खोस्रेर पानी पिउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले भने, ‘आजभोलि जसोतसो कुवाले टिकाएको छ, तर गर्मी मौसममा खोलामा जरुवा खनेर पानी खानुपर्ने बाध्यता हुन्छ ।’ उनको जस्तै गुनासो छ, स्थानीय मंगलादेवी खत्रीको पनि । खत्रीका अनुसार गर्मीयाम सुरु भएपछि कुवा सुक्ने गरेको छ ।

गर्मीयाममा एक घण्टा हिँडेर पानी ल्याउने बाध्यता रहेको उनी बताउँछिन् । पानीकै समस्याका कारण गर्मीयाम सुरु भएपछि घरमा परपाहुना नआए हुन्थ्यो भन्ने लाग्ने गरेको भन्दै खत्रीले भनिन्, ‘पानीको निकै समस्या हुने गरेको छ, पानी नहुँदा घरमा पाहुना नआइदिए हुन्थ्यो झैं लाग्ने गर्दछ ।’ उनका अनुसार आजभोलिदेखि नै खाङग्रा नाकाबासीले प्रयोग गर्दै आएको कुवामा पानीको सतह घट्दै गएको छ । अहिले एक गाग्री पानीका लागि पनि लाइन बसेर पानी लग्नुपर्ने अवस्था रहेको उनी बताउँछिन ।

खानेपानी अभाव भएपछि स्थानीय खोलाको भर पर्न थालेका छन् । सोही ठाउँकी सम्झना सेन ठकुरीले रोजगारीका लागि पुरुष बाहिर जानुपर्ने बाध्यताका कारण पानी बोक्नुपर्ने समस्या महिलाले नै बढी झेल्नु परेको बताउँछिन् । उनले वैशाख–जेठ महिनामा खोला सुक्ने भएकाले जरुवा बनाएर पानीको समस्या टार्ने गरेको बताउँछिन् । नाका क्षेत्रमा आउने नेतालाई प्रत्येक चुनावमा खानेपानीको समस्या समाधान गरिदिन माग गरे पनि नेताले हुन्छ भन्ने तर बजेट नपार्दा जनताले वर्षौंदेखि खानेपानीको समस्या भोग्न बाध्य भएको बताइन् ।

गाउँका करिब ७० घर परिवारले पानी खाने कुवा सक्न थालेको उनले बताइन् । उनले भनिन्, ‘पूरै गाउँका मानिसले पानी खाने कुवा हो तर अहिले नै सुक्न थालेको छ । पछि गर्मी मौषममा कति दु:ख हुने होला ।’ खोलाको पानी लिन पनि आधा घण्टा हिँड्नुपर्ने बाध्यता रहेको भन्दै उनले खोला पनि सुकेपछि गाउँमा पानीको हाहाकार हुने गरेको बताइन् । एक गाग्री पानी पाउनका लागि संघर्ष गर्नुपर्ने भन्दै उनले गाईवस्तुलाई पानी पुर्‍याउन झन समस्या हुने बताउँछिन् ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले नागरिकको सेवामा क्रियाशील रहँदा पनि अझै विभिन्न समस्या र चुनौती रहेको बताए । जटिल भौगोलिक बनोटसँगै ससाना बस्तीमा गाउँ विभाजित हुँदा खानेपानी लगायतका योजना पुर्‍याउन समस्या भएको बताउँछन् । जनतालाई अत्यावश्यक खानेपानी, सडक, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार विकास गर्दै लगेको उनले बताए । अध्यक्ष बुढाथोकीले भने, ‘सानो बजेटले नाका क्षेत्रमा विकास निर्माणका काम गर्न सकिँदैन । ठूलो बजेट हालेर विकास गर्ने गाउँपालिकाको अवस्था छैन ।’

गाउँपालिका अध्यक्ष बुढाथोकीले नाका क्षेत्रका स्थानीयले वर्षौंदेखि भोग्दै आएका खानेपानी, शिक्षा, सडक, सञ्चार, स्वास्थ्य लगायतका आधारभूत सेवा पुर्‍याउनका लागि गाउँपालिका लागिरहेको समेत बताए । गाउँपालिका क्षेत्रमा खानेपानी तथा सिँचाइको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयलाई समस्या भइरहेको अध्यक्ष बुढाथोकीले बताए । संघीय सरकारले सहयोग गरेमा सबै नागरिकलाई घरघरमा पानीको सुविधा पुर्‍याउन सकिने बताउँछन् । नाका क्षेत्रमा बस्तीनजिकै खानेपानीको स्रोत नभएकाले पनि खानेपानीका लागि स्थानीयलाई समस्या भएको उनी बताउँछन् ।

वडाको भूगोल ठूलो भएका कारण सबैतिर विकासको काम गर्न कठिनाइ भएको उनले बताए । उनले क्रमागत रूपमा आवश्यक काम अघि बढाइएको भन्दै स्थानीयको आवश्यकता अनुसार खानेपानी लगायतका पूर्वाधार विकासमा पालिकाले ध्यान दिइरहेको बताए । गाउँमा विद्यालय, प्रहरी चौकी, एकीकृत सेवा इकाई स्थापना भएको हुँदा खानेपानी अत्यावश्यक रहेको स्थानीय बताउँछन् । सीमावर्ती क्षेत्रमा बस्दै आएका नाकाबासी खानेपानी, सडक, विद्युत, सञ्चार, यातायात लगायत सेवाबाट वञ्चित छन् ।

प्रतिक्रिया दिनुहोस्