पानीजहाजमा नेपालको झण्डा राख्नुपर्ने
काठमाडौं– नेपालमा दर्ता भएका प्रत्येक व्यापारिक पानीजहाजमा राष्ट्रिय झण्डा राख्नुपर्ने भएको छ । पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
गत बिहीबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा पानीजहाजमा राख्ने झण्डाको आकार, स्वरूप तथा प्रकृतिसम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ । दर्ता भएको व्यापारिक पानीजहाजको झण्डा राष्ट्रियताको चिन्ह हुने र झण्डाले पानीजहाजलाई विदेशी बन्दरगाह वा समुद्रमा रहँदा अन्तर्राष्ट्रिय महासन्धि बमोजिमको सुविधा तथा सम्मानको अधिकार प्राप्त हुने व्यवस्था विधेयकमा छ ।
पानीजहाजको पछिल्लो भागमा फहराउनुपर्ने प्रस्ताव गरिएको छ । झण्डा प्रयोग गरी देशबाहिर सञ्चालन हुने पानीजहाजलाई नेपाली राष्ट्रियता प्राप्त हुने तथा दर्ता प्रमाणपत्रलाई पानीजहाजको नेपाली राष्ट्रियताको प्रमाणपत्र मानिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । राष्ट्रियताको अस्थायी प्रमाणपत्र विदेशस्थित नेपाली कूटनीतिक नियोगले प्रदान गर्न सक्नेछन् । यस्तो प्रमाणपत्रको अवधि नसकिँदै दर्ता प्रमाणपत्र प्राप्त गरेमा यसलाई पानीजहाज कार्यालयमा फिर्ता गर्नुपर्ने व्यवस्था छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् । अनुसार पानीजहाज सञ्चालनलाई विकास र विस्तार गर्न ऐन बनाउन लागिएको हो । योसँगै २०२७ सालमा बनेको नेपालको व्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन, पानीजहाज दर्ता ऐन र नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचा) ऐन विस्थापन हुनेछन् । पानीजहाजको विकास र विस्तारका साथै त्यसको प्रभावकारी नियमन गरी यसलाई सुरक्षित, स्तरीय, विश्वसनीय, नियमित र व्यवस्थित बनाउने बुँदा विधेयकमा समेटिएका छन् ।
प्रस्तुत विधेयकले जलमार्गको रुट निर्धारण, अनुमति र प्रयोगसम्बन्धी व्यवस्था गर्ने, पानीजहाज निर्माण, पानीजहाज सेवा सञ्चालन, सर्भे, दर्ता, पानीजहाजमा रहने लिखत, दर्ता प्रमाणपत्र र रोजनामाचा सम्बन्धी व्यवस्था गर्ने, व्यापारिक पानीजहाजलाई राष्ट्रियताको प्रमाणपत्र प्रदान गर्ने प्रस्ताव गरिएको छ ।
पानीजहाजको स्वामित्व र बन्धकीको हक हस्तान्तरण, टनेज तथा सुरक्षाको प्रमाणपत्रसम्बन्धी व्यवस्था, सञ्चालन गर्दा पालना गर्नुपर्ने सर्त, प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापन, मर्मतसम्भार आदि विधेयकमा समेटिएका छन् । साथै दुर्घटनाको जाँचबुझ, खोज तथा उद्धार, पानीजहाज कार्यालय, रजिष्ट्रारको काम, कर्तव्य र अधिकार, रेडियो निरीक्षक, पानीजहाज निरीक्षक, नाविक तथा कर्मचारीको नियुक्ति, नाविक किताब तथा नाविक परिचयपत्र, पोशाक, पारिश्रमिक तथा सुविधाको व्यवस्था पनि विधेयकमा छ ।
विधेयक पारित भएपछि आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाजको दर्ता तथा नियमन भई पानीजहाज सेवा सुरक्षित, स्तरीय, विश्वसनीय, नियमित र व्यवस्थित हुनुका साथै समुन्द्रमा सञ्चालन हुने अपेक्षा सरकारको छ । पानीजहाजको दर्ता, सर्भे तथा झण्डा सम्बन्धी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन भई समुन्द्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन सम्भव हुने र यसबाट देशको आर्थिक विकासमा सघाउ पुग्ने विधेयकमा भनिएको छ ।