Logo

बचत फिर्ता माग्दै सहकारी पीडित आन्दोलित

जुम्ला– बचत रकम फिर्ता माग्दै जुम्लाका सहकारी पीडित आन्दोलित भएका छन् । दियालो बहुउद्देश्यीय सहकारीले बचत रकम फिर्ता नगरेपछि सहकारी पीडित आन्दोलित भएका हुन् ।

बचत रकम फिर्ता नपाउनेमा चन्दननाथ नगरपालिका– ४ की टोमा छिरिङ लामा पनि छिन् र उनले तीन वर्षअघि १७/१८ प्रतिशत ब्याज पाउने आशामा उक्त सहकारीमा १२ लाख रकम बचत गरेकी थिइन् । एक वर्षमा ब्याजसहित बचत फिर्ता पाउने आश्वासन दिइए पनि बचत गरेको तीन वर्ष र बचत फिर्ताको माग गरेको ९ महिना बित्दा पनि हालसम्म उनले बचत फिर्ता पाउन नसकेको बताइन् ।

२०७७ मै उनको श्रीमानको मृत्यु भएको थियो । तीन छोरीको लालन पालन गर्दै आइरहेकी छिन् । ब्याज त परै जावस आफ्नै साँवा मात्रै फिर्ता पाउने स्थिति नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनको दुखेसो छ ।

सहकारी प्रबन्धकले हुन्छ भन्दा भन्दै ९ महिना बितिसक्दा पनि वास्ता नगरेको उनले गुनासो गरिन् । पातारासी–१ गडीगाउँका दत्त बुढाले पनि १६ प्रतिशत ब्याज पाउने लोभमा १० लाख रकम मुद्धति निक्षेपमा बचत गरेका थिए । तोकिएको ब्याज र सावा भनेकै समयमा दिने सहकारीले आश्वासन दिएको थियो । तर आजसम्म पैसा नपाएको उनले बताए ।

त्यस्तै गुठिचौर–५ का धर्मनन्द धितालले २०७६ साल वैशाख ८ गते ५ लाख रुपैयाँ बचत गरे । उनले ५ लाख बचतको पाँच वर्षपछि १० लाख पाउने योजनाअन्तर्गत बचत गरेका थिए । १० लाख रुपैयाँ २०८० चैतमा पाउनु पर्ने हो । तर ९ महिनादेखि निरन्तर साँवा मात्रै फिर्ताको माग गरे पनि सुनुवाइ नहुँदा आन्दोलन गर्नु परेको धितालले जानकारी दिए ।

बचत पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका धर्मनन्द धितालका अनुसार हाल दियालो सहकारीमा ५१ जना बचत कर्ताले बचत फिर्ताको मागसहित निवेदन दिएका छन् । सहकारीको तथ्यांकअनुसार बचत कर्ताको संख्या करिब चार हजार ५ सय जना रहेका छन् । ती मध्ये हाल ५१ जना मात्रै बचत फिर्ताको माग गरी आन्दोलनमा छन् ।

शनिबार पत्रकार महासंघ जुम्लामा आयोजित पत्रकार सम्मेलनमा सहकारी पीडितहरूले हाल आन्दोलित ५१ जनाको एक करोड २२ लाख रुपैयाँ बचत फिर्ता पाउनु पर्ने बताएका छन् ।

बचत फिर्ता गर्नु पर्ने करोडौं भए पनि हाल ५१ जनाले मात्रै बचत फिर्ता निवेदन दिएको र ९ महिनासम्म सुनुवाई नहुँदा आन्दोलन गरेको धितालले बताए । यद्यपि अन्य बचत कर्ता पनि आन्दोलनमा सहभागी हुने तयारीमा रहेका छन् । बचत फिर्ता गर्छु भन्दा भन्दै महिनौ बितेकाले अब आन्दोलन र मुद्धा प्रक्रियामा जानुको विकल्प नरहेको पीडितको तर्क छ । बचत फिर्ताकै क्रममा कार्यालयमा पुग्दा उल्टै धम्क्याउने गरेको उनीहरूको आरोप छ ।

कति महिलाले श्रीमानको असहमतीमै सहकारीमा बचत गरेको, कतिले ज्याला मजदुरी गरेको पैसा बचत राखेकोले सहकारीले बिना ढिला सुस्ती बचत कर्ताको बचत फिर्ता गर्नु नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाई बताउँछन् ।

बचत फिर्ताका लागि पहल गरिदिन महासंघमै बचतकर्ता आएकोले सहकारी प्रबन्धकसँग वार्ताका लागि सहजीकरण गरिएको उनको भनाइ छ ।

चैतसम्म सबै बचत फिर्ता
दियालो सहकारीका प्रबन्धक दिपक शाहले सहकारीका सबै बचतकर्ताको बचत आगामी चैतसम्म फिर्ता गर्ने तयारी रहेको बताए । ‘सहकारीमा हाल ४ हजार ५ सय जति बचत कर्ता रहेका छन् । हामी सबै बचत कर्ताको बचत फिर्ता गर्छौ । उनले भने,‘ म केही दिन व्यक्तिगत कामले काठमाडौं गएको थिए । अध्यक्ष पनि देश बाहिर छन् । हामीले कसैलाई धम्क्याएका छैनौं । बचत फिर्ता गर्ने हाम्रो मुख्य लक्ष्य छ । आन्दोलन गरेर मुद्धा गरेर ऋण असुली प्रभावित भएमा बचत फिर्तामा पनि समस्या हुने देखिन्छ ।’

बचत फिर्ता नगर्ने हाम्रो नियत कदापी होईन् । ऋण असुली खराब हुँदै जाँदा समस्या देखिएको हो । प्रबन्धक शाह भन्छन,‘सहकारीमार्फत जिल्लामा करिब ३६ करोड ऋण लगानी भएको छ । जसमा ऋण असुली ६/७ करोड मात्रै भएको देखिन्छ । अझै २८ करोड बढी ऋण असुली हुन बाँकी छ । करिब १७ देखि १८ करोड रुपैयाँसम्म बचत फिर्ता गर्न बाँकी छ ।’

‘हामी कतै भागेका छैनौं । हरेक बचत कर्तासँग कुराकानी र छलफल गरिरहेका छौं । सबैको सहयोगले ऋण असली छिटो हुने र त्यतिनै छिटो बचत फिर्ताको प्रक्रिया सुरु हुन्छ’ प्रबन्धक शाहले बताए ।

हाल सहकारी सञ्चालक समितिका अध्यक्ष टेकबहादुर शाही कामको शीलशाीलामा भारतको कोलकत्तामा छन । प्रबन्ध शाहले ऋण असुलीलाई कडाइ गर्न आन्तरिक तयारी थालेको र बचत फिर्ता हुने कुरामा ढुक्क रहन समेत आग्रह गरेका छन् । ऋण असुली नभए पनि विभिन्न ठाउँमा रहेका जग्गा बिक्री गरेर बचत फिर्ता गरेरै छोड्ने सहकारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्