Logo

वित्तीय क्षेत्रमा चोरी, सुरक्षा माग

बारा— वित्तीय संघ, संगठनहरूले सरकारसँग विशेष सुरक्षाको माग गरेका छन् । औद्योगिक क्षेत्रका विभिन्न वित्तीय संस्थाहरूमा चोरीका घटना दैनिक हुन थालेपछि उनीहरूले सुरक्षा माग गरेका हुन् ।

वित्तीय अपराधको घटनासँगै पछिल्लो समय बैक, वित्तीय संस्थामा नगदसहित कार्यालयका उपकरणसमेत दैनिक जसो चोरी हुन थालेपछि संघ संगठनहरूले विज्ञप्तिमार्फत वित्तीय क्षेत्रमा विशेष प्रकारको सुरक्षाको माग गरेका छन् ।

जीतपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले केही समय यता औद्योगिक क्षेत्रमा बढ्दो वित्तीय अपराधसँगै बैंक वित्तीय संस्था लक्षित चोरी हुन थालेपछि अपराध बढ्ने देखिएकोले व्यावसायिक काम गर्ने वातावरणमा त्रास बढेको चिन्ता व्यक्त गरे ।

उनले विज्ञप्तिमार्फत सरकारसँग वित्तीय क्षेत्रमा विशेष सुरक्षाको माग राख्दै अब बैंक, वित्तीय संस्थामा कारोबार गर्ने उद्योगी व्यवसायी तथा सर्वसाधारणमा त्रास सिर्जना भएकोले सुरक्षाको प्रत्याभूति माग गरेका हुन । शुक्रबार नेपालकै उत्कृष्ट तथा ठूलो कारोबार गर्ने डुम रवाना र फत्तेपुर बजारका साना किसान सहकारीको लाखौँ नगद, व्यावसायिक उपकरणहरू चोरी भएको छ । सोही क्षेत्रमा केही समयअघि बैंकको एटिएम चोरी भएको थियो । वित्तीय संस्थाको काउन्टरमा रहेको भल्ट समेत फुटाएका चोर समूहले नगद तथा कार्यालयको सिसिटिभीको मुख्य ब्याक अप बक्सनै उठाएर लगेको पाइएको छ ।

चोरीका घटना यसरी बढ्दै गए आर्थिक कारोबारका वित्तीय मात्र नभई सबै क्षेत्रमा संकट आउने साना किसान सञ्चालक समितिका अध्यक्ष प्रदीप सिंह बरालले बताए । उनले चोर समूहले उपमहानगरमा वित्तीय चहलपहल बढी हुने सहकारीहरू लक्षित चोरीका घटना गरेसँगै कारोबारमा असुरक्षा बढेको छ । वित्तीय कार्यालयमा नियमित कार्य सञ्चालनमा त्रास बढ्न थालेको उनले बताए ।

जिल्लको प्रमुख बजार, निजगढ, सिमरा, जितपुर, कलैया क्षेत्रमा समेत चोरीका घटना बढेपछि व्यवसायीहरू आतंकित हुन पुगेका छन् । मुख्य व्यावसायिक स्थान नै प्रहरीले सुरक्षा गर्न नसकेको हुँदा पछिल्लो समयमा चोरीको घटनाहरू बढ्दै गएपछि वाणिज्य तथा व्यावसायिक संघहरूले विज्ञप्तिमार्फत सुरक्षामाथि प्रश्न गर्न थालेका छन् ।

औद्योगिक क्षेत्रमा वित्तीय कारोबार बढी हुने हुँदा वित्तीय संस्थामा चोरीका घटनाले यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण आतंकित हुन पुगेका छन् ।

बाराका प्रहरी प्रमुख महेन्द्र खडकाले वित्तीय क्षेत्रमा चोरीका घटना हुन थालेको बताउँदै बढ्दो अपराध रोक्न जिल्लामा रहेका वित्तीय तथा व्यावसायिक क्षेत्रमा सुरक्षा दिन प्रहरीले सादा पोसाकका प्रहरी चौबीसै घण्टा खटाई सकेको बताए ।

पथलैया—वीरगन्ज औद्योगिक कोरिडोरका विभिन्न उद्योग प्रतिष्ठान, व्यावसायिक सटर तथा गोदाममा समेत चोरी बढ्दै गएकोमा वाणिज्य संघले चिन्ता प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्