समृद्धि र विकासमा दुई प्रदेशका मुख्यमन्त्रीबीच प्रतिबद्धता
![](https://www.karobardaily.com/wp-content/uploads/2024/12/dang-news-page-5.jpg)
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशको बीचमा १९ बुँदे साझा प्रतिबद्धता गरेका छन् । दुई प्रदेशको समृद्धि र विकासको साझा सरोकारको विषयलाई दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।
दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्ने गरी साझा प्रतिबद्धता गरिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । कार्यान्वयन गर्नेगरी प्रतिबद्धता गरिएको साझा संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने, प्रदेश कानुनबमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने, राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकारसमक्ष समन्वय गर्ने र स्थानीयस्तरका आयोजना सम्बद्ध सवालमा स्थानीय तहसमेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने, अन्तरप्रदेश आबद्ध भएका देहायका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ ।
लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गने, भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर सुर्खेत १३२ केभीए प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने, दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुनसक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने, विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढंगबाट कार्य गर्ने, लागू औषध ओसारपसार प्रभावकारी रूपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने, लुम्बिनी प्रदेशमा आउने धार्मिक पर्यटकलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
त्यसैगरी दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणका लागि निजी क्षेत्रसंँग समन्वय र सहकार्य गर्ने, दुवै प्रदेशको सीमानामा रहेका नदीनालामा जलविद्युत उत्पादन प्रसारणलाइन विस्तार तथा सिंँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । यसैगरी प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–१ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–५ को साँध सिमानाको विवाद प्रचलित कानुन र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रूपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेशको फलफूल, जडिबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई सुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवम् लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्द्धन सदै कर्णाली प्रदेशका बजार केन्द्रहरू सम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । त्यस्तै दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय गरिने भएको छ ।