कैलाशमा पूर्ण सरसफाइ उन्मुख टोल अभियान सुरु
हेटौंडा–खानेपानी तथा सरसफाइका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु भएको छ । मकवानपुरमै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएकोमा शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।
शुक्रबार कैलाश गाउँपालिका–९ को बिर्ता, अम्बोटे र बरेटार टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)सँगको सहकार्य र कैलाश गाउँपालिले सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुदृढीकरण र व्यवहार परिवर्तन परियोजनाअन्तर्गत आरआरएनले कैलाशमा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।
घोषणाका लागि स्वच्छ र सफा घरका सूचकहरूको निर्धारण गरी सो सूचक पूरा गर्नका लागि काम गरिएको थियो । घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, पर्याप्त पानीसहित चर्पीमा सरसफाइ सामग्री भएको, खुला स्थानमा दिसा नभएको, बच्चाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । साथै बच्चालाई फोहोरबाट टाढा राखी सरसफाइ गरेको अवस्था, आधारभूत स्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी शुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाडा सुकाउने र राख्ने र्याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायतका डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरी पूर्ण पालना भएपछि पूर्ण सरसफाइ उन्मुख र स्वच्छ सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
शुक्रबार कैलाश–९ मा वडाध्यक्ष भुवनसिं घलानको अध्यक्षतामा भएको घोषणासभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विकट गाउँमा खानेपानीको पहुँचबाटै टाढा रहेको नागरिकलाई खानेपानी र सरसफाइ सम्बन्धी काम गर्नु चुनौतीपूर्ण भएता पनि आरआरएनसँगको सहकार्यमा टोलटोलमा काम गर्न सफल भएको बताए । हरेक टोललाई पूर्ण सरसफाइ र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।