Logo

हाइब्रिड उत्पादनबाट आम्दानी लिँदै कृषक

दाङ– खानका लागि मात्रै खाद्यान्न बाली लगाउँदै आएका किसान बीउ उत्पादनमा आकर्षित भएका छन् । आकर्षणसँगै उनीहरूले मनग्य आम्दानीसमेत गरिरहेका छन् ।

उनीहरूले खेतीको क्षेत्रफल र उत्पादनमा समेत गुणात्मक वृद्धि गरिरहेका छन् । गत वर्ष एक करोडभन्दा बढीको रामपुर हाइब्रिड–१० मकैको बीउ सतबरिया कृषि सहकारी संस्थाले मात्रै उत्पादन गरेकोमा यस वर्ष दोब्बरभन्दा बढीको बीउ लगाइएको छ । यसवर्ष सतबरिया कृषि सहकारी संस्थाका ९० घरधुरी किसानले ५० हेक्टर क्षेत्रफलमा स्वदेशी हाइब्रिड मकैको बीउ रामपुर हाइब्रिड–१० लगाएका छन् ।

गतवर्ष सतबरिया कृषि सहकारी संस्थाका ४५ घरधुरी किसानबाट ३० हेक्टर क्षेत्रफलमा लगाउँदा ६६ मेट्रिक टन स्वदेशी हाइब्रिड मकैको बीउ रामपुर हाइब्रिड–१० उत्पादन भएको थियो । उनीहरूले उत्पादन गरेको मकैको बीउ बजार भाउभन्दा महंँगोमा दाङकै गोर्खा सीड कम्पनीले खरिद गर्ने गरेको छ । गत वर्षभन्दा दोब्बर बढी करिब १६० मेट्रिक टन रामपुर हाइब्रिड–१० मकैको बीउ उत्पादनको आँकलन यसवर्ष गरिएको छ । सवा दुई करोडभन्दा बढीको मकैको बीउमात्रै यस वर्ष उत्पादनको लक्ष्य रहेको गोर्खा सीड कम्पनीका सागर खनालले जानकारी दिए ।

गोर्खा सिड कम्पनीमार्फत् दाङमा ५० हेक्टर र कपिलवस्तुमा ७० हेक्टरमा गौतम, एनएल ९७१ र वाणगंगा जातको गहुँको बीउ पनि लगाइएको छ । कपिलवस्तुमा एनएल ९७१ जातको र दाङमा मात्रै गौतम, एनएल ९७१ र वाणगंगा जातको गहुँको बीउ लगाइएको कम्पनीले जनाएको छ । यसवर्ष धानतर्फ गोर्खा सीड कम्पनीले मात्रै किसानबाट हर्दिनाथ–५ जातको ७० मेटन, हर्दिनाथ ६ जातको ५० मेटन र चैते–५ एक सय २० मेटन खरिद गरेको जनाएको छ । यसवर्ष झण्डै एक करोड रुपैयाँको हाइब्रिड धानको बीउ खरिद गरिएको कम्पनीले जनाएको छ ।

नेपाल एग्रो सिड एण्ड इन्पुट्स् कम्पनीले पनि किसानमार्फत् देउखुरीमा धान, मकै र गहुँको बीउ उत्पादन गरिरहेको छ । राप्ती गाउँपालिका–२ बराहखुट्टी र वडा नं. ८ पिपरामा किसानको सहयोगमा बीउ उत्पादन भइरहेको नेपाल एग्रो सिड एण्ड इन्पुट्स् कम्पनीका प्रबन्ध निर्देशक हरिराज भट्टराईले जानकारी दिए । उनका अनुसार मकै, गहुँ र धानको बीउ उत्पादन गरिरहेको कम्पनीले यस वर्ष १२ बिगाह क्षेत्रफलमा १५ जना किसानमार्फत् हाइब्रिड मकैको बीउ रामपुर हाइब्रिड–१० लगाएको छ ।

यसवर्ष एक सय टनभन्दा बढी उन्नत बीउ बिक्री नहुँदा गहुँको बीउमा त्यति आकर्षण नभएकोले गहुँको प्रजनन् बीउमात्रै लगाएको उनले जानकारी दिए । उनका अनुसार दुई हेक्टरमा एकजना किसानले मात्रै तीन सय किलो गहुँको प्रजनन बीउ लगाएका छन् । यसवर्ष १० जना किसानले ३० हेक्टरमा ६० मेटन धानको बीउ उत्पादन गरेका छन् । नेपाल एग्रो सिड एण्ड इन्पुट्स् कम्पनीमार्फत् धानको चैते ५, हर्दिनाथ ६, राधा ४, रामधान र सुख्खा २ जातको बीउ लगाइएको हो । गतवर्ष १५ जना किसानले पाँच हेक्टरमा लगाएको नौ मेटन मकैको बीउ उत्पादन गर्दा १५ लाख कमाएका थिए ।

गतवर्ष नै सहकारीमा आबद्ध किसानसहित २५ जनाले ४० हेक्टरमा लगाउँदा ८० मेटन गहुँको बीउ उत्पादन भएको थियो । नेपाल एग्रो सिड एण्ड इन्पुट्स् कम्पनीमार्फत् किसानले गौतम, विजय, एनएल ९७१ जातको गहुँको बीउ उत्पादन गरेका थिए । नेपाल एग्रो सिड एण्ड इन्पुट्स कम्पनीका प्रबन्ध निर्देशक हरिराज भट्टराईले किसानले राम्रो मूल्य पाएको साथै बजारको ग्यारेन्टी भएकाले आकर्षण बढेको बताए । उनले साधारण खेतीभन्दा बीउ उत्पादनमा चार गुणा बढी फाइदा हुने बताउँछन् ।

विगत तीन वर्षदेखि अरुण–२ जातको उन्नत मकैको बीउ उत्पादन गरिरहेको सिएन सीड कम्पनीले गत वर्ष २९ मेटन उत्पादन गर्‍यो । लमही–८ सतबरियामा ५५ जना किसानमार्फत् बीउ उत्पादन गरेको सिएन सीड कम्पनीका अमृत चौधरीले बताए । उनका अनुसार प्रतिकिलो ६० रुपैयाँका दरले किसानमार्फत् उन्नत मकैको बीउ खरिद गरिएको थियो । १७ लाख ४० हजारको बीउ सिएन सीड कम्पनीले मात्रै खरिद गरेको हो । सिएन सीड कम्पनीले यस वर्षदेखि भने हाइब्रिड मकैको बीउ उत्पादनमा किसानसँग सहकार्य गरेको छ ।

चौधरीका अनुसार यसवर्ष १३ हेक्टर क्षेत्रफलमा २८ जना किसानले रामपुर हाइब्रिड–१० जातको मकैको बिउ लगाएका छन् । मूल्य राम्रो पाएपछि किसानको बीउ उत्पादनमा आकर्षण बढेको चौधरीले बताए । देउखुरीमा किसानले उत्पादन गरेको बीउ बीउ कम्पनीले उन्नत धानको प्रतिकिलो ४० रुपैयाँ, उन्नत मकैको किलो ६० रुपैयाँ र हाइब्रिड मकैको प्रतिकिलोको १५० रुपैयाँमा बीउ खरिद गरिरहेको जनाएका छन् ।

गतवर्ष देउखुरीमा स्वदेशी हाइब्रिड मकैतर्फ रामपुर हाइब्रिड–१०, त्यसैगरी उन्नत मकैतर्फ अरुण–२ र रामपुर कम्पोजिट, उन्नत धानतर्फ चैते–५, हर्दिनाथ–५, हर्दिनाथ–६, तरहरा–२ लगायतका बीउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । त्यसैगरी उन्नत गहुँतर्फ विजय, एनएल ९७१ जातको बीउ पनि उत्पादन भएको थियो । करिब साढे ३० हेक्टर क्षेत्रफलमा गरिएको रामपुर हाइब्रिड–१० मकै बिउ उत्पादन कार्यक्रममा करिब ८० मेट्रिक टन बीउ उत्पादन भएको कार्यालयले जनाएको छ । उत्पादित बीउ करिब चार हजार हेक्टर क्षेत्रफलको लागि पुग्ने अनुमान छ । त्यसैगरी करिब ५० हेक्टर क्षेत्रफलमा उन्नत जातको चैते–५ धानको बीउ उत्पादन भएको छ ।

करिब ४० हेक्टर क्षेत्रफलमा उन्नत गहुँको विजय जातको बीउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दाङले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सतबरियामा गतवर्ष २० हेक्टरमा रामपुर हाइब्रिड–१० मकैको बीउ लगाउँदा ६५ मेटन फलेको जनाएको छ । राप्ती गाउँपालिका–२ को दूरदर्शी कृषक समूहले तीन दशमलव १० हेक्टर क्षेत्रफलमा चार मेट्रिक टन र राप्ती गाउँपालिका–८ पिपरामा बीउ उत्पादन समूहले चार हेक्टर क्षेत्रफलमा साढे पाँच मेट्रिक टनभन्दा बढी मकैको बीउ उत्पादन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

त्यसैगरी राजपुर गाउँपालिका–६ गंगदीको बड्का बगिया कृषक समूहले चार मेट्रिक टन मकैको बीउ उत्पादन गरेको छ । परियोजनामा कार्यरत कृषि प्राविधिक विमला पौडेलले पिपरा र बराहखुट्टीमा १०/१० हेक्टरमा रामपुर हाइब्रिड–१० लगाउँदा आठ मेटन उत्पादन भएको बताइन् ।

उन्नततर्फ १३० हेक्टरमा लगाउँदा १५० मेटन उत्पादन भएको थियोे । उत्पादन गरेको मकैको बीउ गोर्खा सिड कम्पनी र नेपाल एग्रो सिड एण्ड इन्पुट्स् कम्पनीले खरिद गर्ने गरी सम्झौता भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दाङले जनाएको छ ।

स्वदेशी बिज वृद्धि कार्यक्रममा प्राविधिकरूपमा नेपाल सिड एण्ड फर्टिलाइजर प्रोजेक्ट, राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र र बजार व्यवस्थापनमा गोरखा सिड कम्पनी र नेपाल एग्रो सिड एण्ड इन्पुट्स् कम्पनीले सहयोग गरेका छन् । खाद्यान्नभन्दा बीउको बजार ग्यारेन्टी भएको, उत्पादन पश्चात तुरुन्त बिक्री हुने र तुलनात्मकरूपमा बजार मूल्य उच्च हुने भएकाले बिजवृद्धिमा किसान उत्साहित भएको पाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्