पोखरामा सडक महोत्सव सुरु
पोखरा– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सडक मार्गबाट पनि पोखराको पर्यटन प्रबद्र्धन गर्न सकिने बताएका छन् ।
शनिबारदेखि सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखराको पर्यटन प्रबद्र्धन गर्न सडक मार्गबाट पनि सकिने दाबी गरेका हुन् । मुग्लिङ सडक खण्ड हाल निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले अब पोखरा काठमाडौं, पोखरा चितवन, पोखरा बुटवललाई सडक सञ्जालको सहज पहुँचमा ४ लेन र डेडिकेट सडकको स्तरोन्नती गर्न सके छिमेकी मुलुक भारतबाट लाखौं पर्यटक नेपालमा भित्र्याउन सकिने दाबी गरेका हुन् ।
पोखराको पर्यटन प्रबद्र्धन गर्न सरकारले सिद्धार्थ राजमार्गलाई डेडिकेट सडक बनाउने योजनामा रहेको उनले बताए । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योग र पर्यटन व्यावसायको मर्कामा परेकाले उनीहरुको राहातको लागि व्याज दर घटाउन पहल गर्ने जनाए । प्रदेशको पर्यटन विकासको लागि नयाँ ढंगबाट अघि बढ्ने योजना रहेको उनले जनाए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालमा ढल मिसाउने १९ जना माथि कारवाही गर्ने चेतावनी दिए । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखराको लाइफ लाइन पोखरा विमानस्थल भएकाले अन्तर्राष्ट्रिय हवाई उडान नियमित सञ्चालन गर्न माग गरे । नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले सडक महोत्सव क्यालेन्डर बनाएर अन्य संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवसँग नजुधाउन आग्रह गरे ।
१७ गतेसम्म सञ्चालन हुने महोत्सव पोखरा लेकसाइडको ४ किलोमिटर क्षेत्रमा विभिन्न प्रकारका खाना, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने महोत्सव संयोजक विकास भट्टराईले बताए ।