Logo

एक हजार युवा चाँडै इजरायल जाँदै

काठमाडौं– इजरायलमा युद्धको त्रास कम भएसँगै केयरगिभरको रोजगारीका लागि जान तयार भएर रोकिएका एक हजार नेपाली जाने भएका छन् ।

इजरायलस्थित नेपाली दूतावासले अवस्था सामान्य रहेको जनाउँदै ‘नो अब्जेक्सन लेटर’ पठाएपछि वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षण गर्न सूचना जारी गरेको छ ।

विभागको इजरायल शाखाका निर्देशक गिरीराज ज्ञवालीले वैकल्पिकसहित २ हजार ११२ जनामध्ये लट्रीमार्पmत छनोट भएका एक हजार जनालाई इजरायल पठाउने प्रक्रिया सुरु भएको जानकारी दिए । यीमध्ये ४ सय पुरुष र ६ सय महिला रहेका छन् । ‘सबैको एकै पटक मेडिकल र अभिमुखिकरण तालिम दिएर नाम इजरायल पठाएर रोष्टर बनाइने छ,’ उनले कारोबारसँग भने, ‘रोष्टरमा रहेका नेपाली ३ महिनाभित्र क्रमशः जानेछन् ।’ विभागले इजरायल जाने युवाका लागि स्वास्थ्य परीक्षण गर्न उपत्यकाका ५ वटा स्वास्थ्य संस्था समेत तोकिसकेको छ ।

इजरायलमा युद्धको त्रास कम हुने संकेत देखिन थालेसँगै रोकिएर रहेका नेपालीलाई पठाउन इजरायल पक्षले पत्र पठाएपछि रोकिएका नेपाली ३ महिनाभित्र इजरायल जाने बाटो खुलेको हो । केही महिनायता इजरायल र यमनका विद्रोही समूहबीच तनाव बढ्दै गएपछि जाने तयारीमा रहेका नेपाली लामो समयदेखि रोकिएका थिए ।

पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको संख्या बढ्दै गएका कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा चासो बढेको छ । यही कारण नेपालबाट नियमित रुपमा नेपाली जान सकेका थिएनन् । दूतावासले जान मिल्ने आशयको पत्र पठाएका कारण सबै कामदारलाई ३ महिनाभित्रको मेडिकल म्यादमा पठाउने विभागको तयारी छ । इजरायलमा हाल १ हजार १ सय जिटुजी कामदारसहित ४ हजार २ सयभन्दा बढी नेपाली रहेका छन् ।

इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित स्वास्थ्य परीक्षण धमाधम हुन थालेको विभागले जनाएको छ । यसबाहेक विगत डेढ वर्षदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर १ हजार १ सयभन्दा बढी रहेका छन् । इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर कोटाका सम्बन्धमा छलफल गरिने जनाउँदै आएको छ ।

आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने रेमिटेन्स पनि वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा मात्र नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्या उल्लेख वृद्धि भएसँगै रेमिटेन्स थप बढ्ने देखिएको हो । यसैगरी केही समयपछि इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि नेपाल सरकारले अन्य क्षेत्रमा थप नेपाली पठाउने गृहकार्य गरिरहेको छ ।

इजरायल सरकारले वार्षिक रुपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाएको छ । इजरायलले यहाँबाट गएका नेपालीलाई इजरायलका विभिन्न वेताबोद र अस्पतालमा काम गर्ने गरी नेपालीलाई रोजगारी दिइसकेको छ । इजरायलले पछिल्लो समय केयरगिभर बाहेक कृषि क्षेत्रका लागि १ हजार नेपाली लैजाने आवश्वासन दिएको छ । ६ महिनाअघि वैकल्पिकसहित ८०० लैजाने जनाउँदै आवेदन माग गरिएकोमा पछि १ हजार थप गरी वैकल्पिकसहित २ हजार माग गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्