Logo

सिरियाको आर्थिक पतन

सिरियालाई मध्यएसियामा तेल कम भएको र गरिब देशका रूपमा लिने गरिन्छ । नेपालभन्दा भूमिको हिसाबले अलिकति ठूलो तर जनसंख्याको हिसाबले हामीभन्दा सानो र भौगोलिक अवस्थाका आधारमा समथर उब्जाउ भूमि, पहाड र मरुभूमिसमेत भएको तथा भूमध्यसागरमा पहुँच रहेको मध्यएसियाको देश सिरियामा झन्डै ५३ वर्षदेखि शासनको बागडोर सम्हाल्दै आएको असद परिवारले सत्ता छोड्ने अवस्था आउनुमा आर्थिक कारणलाई पनि एक प्रमुख कारण मानिएको छ ।

२ करोड ५० लाख जनसंख्या भएको देशलाई सन् २०१० तिर अरब विश्वमा युवाहरूको चरम बेरोजगारी र खाद्यान्नको मूल्यवृद्धिका कारण सल्केको अरब स्पिडले सिरियालाई नराम्रोसँग गाँज्यो । किनभने यो घटना दबाएलगत्तै सिरियामा पनि आन्तरिक विद्रोह प्रारम्भ भयो र सिरियाको अर्थव्यवस्था पनि क्रमशः ओरालो लाग्यो । यो १४ वर्षको दौरानमा सिरिया एउटा मध्यम आय भएको देश (कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आम्दानीका हिसाबले) बाट न्यून आय भएको र अविकसित देशमा झर्न बाध्य हुनुपर्‍यो । अर्को शब्दमा भन्नुपर्दा २०१० तिर पाराग्वे र स्लोभानियाजस्ता देशहरूको पंक्तिमा रहेको सिरिया अब आएर चाँद र प्यालेस्टाइनजस्ता अतिकम विकसित देशको पंक्तिमा रहन पुग्यो । सिरियाको तत्कालीन सरकारलाई इरान र रुसको समर्थन थियो ।

भयावह अवस्थाको समष्टिगत आर्थिक परिसूचक
अर्थव्यवस्थामा तेल खानी र कृषिको योगदान झन्डै–झन्डै चौथाइका दरले योगदान भएको सिरियाको अर्थव्यवस्थाको आकार अरब स्प्रिडको समयमा ६८ अर्ब अमेरिकी डलरबराबरको थियो भने सन् २०२३ मम्म आइपुग्दा अर्थव्यवस्थाको आकार ८५ प्रतिशतले घटेर ९ अर्ब अमेरिकी डलरमा झरेको छ । तत्कालीन अवस्थामा १ सय ९६ देशमध्ये अर्थव्यवस्थाको आकारको हिसाबले सिरियाको स्थान ६८ मा थियो भने २०२३ मा आइपुग्दा १ सय २९ औँ स्थानमा झर्न पुगेको छ । सन् २०१५ तिर प्रतिव्यक्ति आम्दानी करिब ३ हजार अमेरिकी डलर रहेकोमा सन् २०२० मा आएर ५ सय ३३ डलरमा झर्‍यो । गत वर्षसम्म लगातार बढेको बेरोजगारी दर ५२ प्रतिशत पुगी बालश्रमको व्यापक रूपमा प्रयोग भएको पाइन्छ । सन् २०२२ मा अलिकति बेरोजगारीको दर घटेको जस्तो देखिए तापनि गत वर्ष बेरोजगारीको दर १ सय १६ प्रतिशत पुगेको छ । किनभने सन् २०२२ मा बेरोजगारी दर ८५ प्रतिशत मात्र थियो ।

सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको आधा र सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको २ सय ५० प्रतिशत रहेको र व्यापार घाटा पनि कुल गार्हस्थ्य उत्पादनको ७० प्रतिशत पुगेको र निर्यात अमूल्य आयातित वस्तुको झन्डै ६ प्रतिशत मात्र रहेको थियो । यसले गर्दा सिरियाको मुद्रा सिरियन पाउन्ड अमेरिकी डलरको तुलनामा कमजोर हुँदै गयो । सन् २०२० मा एक अमेरिकी डलरबराबर १ हजार ९ सय ३५ सिरियन पाउन्ड विनिमय दर रहेकोमा सन् २०२० मा आएर यो विनिमय दर बढेर १० हजार ५ सय ६५ सिरियन पाउन्ड पुग्यो । यी अवस्थाका कारण सिरियनहरूको दैनिक जीवन निकै कष्टकर बन्दै गयो । सन् २०२० पछि सिरियामा तीव्र गतिमा बेरोजगारी बढेको, सार्वजनिक सेवामा कमी आएको, वञ्चितीकरण बढेको, बेरोजगारी बढेको र खाद्यान्न असुरक्षा पनि बढेकाले सिरियन अर्थव्यवस्था सन् २०२० देखि तीव्र गतिमा पतनोन्मुख दिशातर्फ लागेको पाइन्छ ।

आर्थिक पतनका कारण
सिरियाको अर्थव्यवस्था पतन हुनुमा तीनवटा कारणलाई जिम्मेवार बनाउन सकिन्छ । पहिलो हो, त्यहाँको आन्तरिक विद्रोह । यसले गर्दा सिरियाको २ करोड ५० लाखमध्ये करिब ४८ लाख मानिस बाह्य रूपमा र करिब ७० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुन पुगे । यसले गर्दा एकातिर तेलखानीमा विद्रोहीहरूको कब्जा बलियो मात्रै हुन पुगेन कि कृषि उत्पादनमा पनि प्रतिकूल असर पुग्यो । यसले सिरियाको अर्थव्यवस्थालाई युद्ध अर्थव्यवस्थामा परिणत गरिदियो ।
द्वन्द्वमा संलग्न नेतृत्वका लागि एकाधिकारको रूपमा, वस्तु तथा साधन उपलब्ध गराउने, प्राकृतिक साधनको अप्रत्याशित दोहन, लागू पदार्थको कारोबार, भ्रष्टाचार, कालोबजारी, अपहरण, साधन–स्रोत जबर्जस्ती हत्याउने कार्यजस्ता घटनाहरू सिरियाको अर्थव्यवस्थामा बढ्यो । आन्तरिक द्वन्द्वका कारण सिरियामा काम गर्ने उमेर समूहका मानिसको संख्या अफगानिस्तानमा जस्तै घट्यो । दोस्रो हो, सन् २०२३ को महाभूकम्प । यसले सिरियाको अर्थव्यवस्थामा करिब ५.८५ अर्ब अमेरिकी डलरबराबराको क्षति पुगेको अनुमान गरिएको छ । यसले साढे ८ हजार मानिसको ज्यान लिएको थियो ।

नागरिकमाथि गरिएको दमनलाई लिएर युरोपियन युनियन, क्यानडा, अस्ट्रेलिया, स्वीजरल्यान्ड, अमेरिका आदि देशले आर्थिक नाकाबन्दी लगाएपछि एकातिर सिरियाले आफ्नो तेल निर्यात गर्न पाएन भने अर्कातिर तेलका लागि इरानमाथि भर पर्नुपर्ने अवस्था आयो । अमेरिकी इन्धन प्रशासनका अनुसार सन् २०११ अगाडि अर्थात् नाकाबन्दी लाग्नुअगाडि सिरियाले दैनिक ३ लाख ८३ हजार ब्यारेल तेल उत्पादन गरी निर्यात गरिरहेकोमा नाकाबन्दीपछि ४० हजार ब्यारेल प्रतिदिनमा झर्न पुग्यो । यसैगरी ब्रिटिस पेट्रोलियमका अनुसार प्राकृतिक ग्यासतर्फ हेर्ने हो भने नाकाबन्दीअगाडि ८.७ अर्ब घनमिटर ग्यास उत्पादन गरेकोमा नाकाबन्दीपछि ३ अर्ब घनमिटरमा सीमित हुन पुग्यो । यसप्रकार सिरियामाथि लागेको नाकाबन्दी अलि प्रभावकारी नै भएको देखियो । एक जना अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञले त सिरियालाई लगाएको अन्तर्राष्ट्रिय नाकाबन्दी एकदम कडा खालको भएको प्रतिक्रिया दिएको पाइन्छ । पश्चिमा देशहरूले लगाएको अन्तर्राष्ट्रिय नाकाबन्दीले सिरियाको अर्थव्यवस्थालाई पतनोन्मुख हुन अरू मलजल गरेको छ । यसले गर्दा सिरिया विश्व अर्थव्यवस्थाबाट एक्लियो । किनभने उसको बैंकिङ व्यवस्थालाई मान्यता प्राप्त भएन ।

फाइनान्सियल टाइम्सका अनुसार पहिलाको सरकारले रुसमा मात्रै सन् २०१८ र २०१९ को बीचमा २५ करोड डलर खर्चेर गहुँ र सैनिक सामग्रीहरू खरिद गरेको पाइन्छ । मोर्गान स्टान्लेका अर्थशास्त्री रुचिर शर्माको भनाइमा लामो समयसम्म तानाशाहले शासन गरेको हुनाले पनि सिरियाको आर्थिक विकास पछि परेको हो ।
अहिले सिरियाको ढुकुटीमा विदेशी मुद्रा शून्य छ । नयाँ सरकारले भद्दा खालको र भ्रष्टाचारमा लिप्त कर्मचारीतन्त्र उपहारको रूपमा पाएको छ । नयाँ सरकारलाई चुनौती भनेको शान्ति र सुव्यवस्था कायम गरी जनतालाई नियमित काममा फर्कने वातावरण तयार गर्नु हो ।

सरकारसँग सिरियन पाउन्ड मात्रै छ र यसले गर्दा वित्तीय रूपमा सिरिया अहिले निकै अप्ठेरो अवस्थामा पुगेको छ । अबको सरकारलाई एकातिर आन्तरिक विद्रोहका कारण ध्वस्त भएका आधारशिलाहरूको मर्मत–सम्भार गर्नुपर्ने हाँक छ भने अर्कातिर सरकारी संस्थाहरू, जसले आधारभूत सार्वजनिक सेवा, सुरक्षा र संरक्षणका कार्य सम्पन्न गर्न सकेको छैन । अहिले जवाफदेहिताको ह्रास भएको छ । त्यसलाई पुनस्र्थापन गर्नु नयाँ सरकारको प्रमुख दायित्व रहेको छ । अन्तर्राष्ट्रिय समुदायले यसअघिका शासकहरूले देशबाहिर लगेको सम्पत्ति फिर्ता गराउन समय लाग्ने भएकाले तत्काल सहायता उपलब्ध गराउनु आवश्यक देखिन्छ । अन्तर्राष्ट्रिय रूपमा सिरियाविरुद्ध लागिआएको नाकाबन्दी हटाउनु पनि त्यत्तिकै आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्