अमला बिक्रीबाट आम्दानी गर्दै सामुदायिक वन
दाङ– अमलाको फल बिक्रीबाट दाङका सामुदायिक वनले राम्रो आम्दानी गर्न थालेका छन् । सामुदायिक वनमा आफैँ उम्रिएका र वृक्षारोपण गरिएका रुखहरूमा फलेका अमलाका फल बिक्री हुन थालेपछि सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँ आम्दानी गर्न थालेको हो ।
देउखुरीको राजपुर गाउँपालिका–३ खरदरियामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष करिब एक लाख रुपैयाँको अमलाको फल ठेक्कामा बिक्री गरेको वन समूहका अध्यक्ष लीला यादवले बताए । । वन समूहका अध्यक्ष यादवका अनुसार गत वर्ष वन समूहले ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । अमलाका फल बिक्री गरेर वन समूहले आम्दानीसँगै वन सरक्षणको काममा लगाउने गरेको बताए । वन रोपेका अमलालगायत बिरुवासँगै फल संरक्षणका लागि वन हेरालु राखेर जडीबुटीका बिरुवा रोप्नेसँगै आम्दानी लिने गरेको उनी बताउँछन् ।
गत वर्षको तुलनामा यस वर्ष वनमा राम्रो फल लागेपछि दोब्बर आम्दानी भएको वन समूहका अध्यक्ष यादवले बताए । वन समूहले खाली जग्गामा रोपेका अमलाका रुखहरूमा फल लाग्न थालेपछि बर्सेनि आम्दानी बढ्दै गएको उनको भनाइ छ । वन समूहका अध्यक्ष यादवले भने, ‘पहिले थोरै बोट थियो, पैसा खासै हुँदैन थियो । तर अमलाका फल बिक्न थालेपछि बिरुवा बर्सेनि बढाउँदै गएका छौँ ।’
वन समूहको करिब २५ हेक्टर क्षेत्रफलमा साना–ठूला गरेर करिब दुई हजार पाँच सय बढी रुख रहेको अध्यक्ष यादवले बताए । केही वर्ष अघिसम्म खाली रहेको जमिनमा वन समूहले वृक्षारोपण गरी पछिल्लो समय अमला उत्पादनमा पनि जोड दिएको अध्यक्ष यादवले बताएका छन् । काठ जन्य बिरुवासँगै जडीबुटी र फलफूलका बिरुवा रोपेर वन समूहलाई आम्दानीसँग जोड्ने काम गरेको अध्यक्ष यादव बताउँछन् ।
जनकल्याण सामुदायिक वन जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वन समूहहरूले अमलालगायतका फल बिक्री गरेर आम्दानी गर्ने गरेको डिभिजन वन कार्यालय लमहीले जनाएको छ । जनकल्याण जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वनले अमलालगायतका जडीबुटी तथा फलफूलका बिरुवा रोपेर आम्दानी गर्दै आएको सवडिभिजन कार्यालय बेलाका कर्मचारी विश्वजंग विकले बताए । सामुदायिक वनबाट ठेक्कामा खरिद गरेको अमलाको फललाई आयुर्वेदिक औषधी बनाउने उद्योगलाई प्रति किलो ५० रुपैयाँका दरले बिक्री गर्ने गरिएको छ ।