Logo

सौराहामा पर्यटन विकास गर्न हात्ती महोत्सव

चितवन– चितवनको पर्यटकीय नगरी सौराहामा १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव बिहीबारदेखि सुरू भएको छ । जिल्लाको पर्यटन विकास गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको महोत्सवको नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्नुको तुक नरहेको बताए । हात्तीले चितवनको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताए । ‘अधिकारका नाममा हात्ती महोत्सव रोकिन हुँदैन’, उनले भने, ‘महोत्सवलाई जनावरमैत्री बनाउँदै अझै शक्तिशाली बनाउनुपर्छ ।’

हात्तीका गतिविधि अवलोकन गर्न पर्यटक आउने भन्दै उनले यो सकारात्मक पक्ष भएको बताए । हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उनले महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने बताए । चितवनका पर्यटन व्यवसायीको हात्तीप्रतिको लगाव र प्रतिबद्धताका अगाडि अधिकारको नाममा गरिएको विरोध निरीह रहेको उपप्रधानमन्त्री सिंहले बताए ।

वन्यजन्तुप्रति मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको भन्दै उनले पर्यटकीय गतिविधिलाई कुनै पनि बहानामा विरोध गर्ने छुट कसैलाई नभएको बताए । चितवनको सफारी पर्यटनलाई असर पर्ने गरी हात्ती महोत्सवप्रति असहमति जनाउन नहुने उनको तर्क छ ।

चितवनको सफारी देशकै पर्यटन उद्योगको अनुपम नमुना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र यसअन्तर्गत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए । स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्दै उनले संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । सम्पदा जोगाउँदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘देशको अर्थतन्त्रमा प्रभाव पर्ने गरी संस्कृति र पर्यटनको उपयोग गर्नुपर्छ’, उनले भने, ‘पर्यटन उद्योग सुस्तायो भने देशको अर्थतन्त्रमा असर गर्छ ।’

यस्तै, प्रदेशसभा सांसद् कृष्णप्रसाद खनालले पशु अधिकारकर्मीहरुले हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नभएको बताए । उनले बृहत् पर्यटन विकास समिति गठन गरी सोही समितिले हात्ती महोत्सव गर्नुपर्ने सुझाव दिए ।

जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले चितवनको पर्यटन विकासका लागि पाहुनालाई प्रदान गरिने सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । चीन सरकारले भ्रमण वर्षको घोषणा गरी आफ्ना नागरिकलाई जुनसुकै देशमा घुम्न जान आह्वान गरेको भन्दै उनले त्यसको भरपूर फाइदा चितवनका पर्यटन व्यवसायीले लिने गरी तयारी गर्नुपर्ने बताए ।

हात्ती महोत्सवअन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग अन्तरक्रिया हुने संघका महासचिव गुणराज श्रेष्ठले जानकारी दिए । महोत्सवमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्