सात अर्ब लगानीमा जालपादेवी केवलकार बनाइँदै
धनगढी– करिब ७ अर्ब लगानीमा सुदूरपश्चिमको प्रदेशद्वार चिसापानीबाट राजकाँडासम्म चल्ने केवलकार निर्माण हुने भएको छ ।
जालपादेवी केवलकार कम्पनीको सात अर्ब लगानीमा पर्यटकीय पूर्वाधारसहित सो केवलकार निर्माण थालेको हो । गत बैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले बताए । केवलकार एक वर्षमै सञ्चालनमा ल्याउने बताउँदै उनले यही पुस १३ गते केबलकारको स्टेशन सिलान्यास गरिने बताए ।
केवलकारलगायत सम्पूर्ण पूर्वाधारको डीपीआर केही दिनमै आएपछि लागत एकीन हुने बताउँदै सञ्चालक थापाले त्यसपछि टेण्डर आव्हान गरी निर्माणको काम सुरु गर्ने बताए । उनले राइट अफ वेमा पर्ने रुख काट्ने र सरकारबाट कम्पनीको नाममा जमिन लिने काम सकिएको बताए । आयोजना स्थलका एक हजार ८६६ वटा रुख काटिएका छन् भने केबलकार सञ्चालनका लागि २० बिघा जमिन कम्पनीका नाममा सारिएको छ ।
चिसापानीदेखि राजकाँडासम्म केबलकारको कुल लम्बाई ३.१ किलोमिटरको रहने छ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् । चिसापानीदेखि राजकाँडासम्मको केबलकार यात्रा करिब १० मिनेटको रहने कम्पनीले जनाएको छ । सञ्चालक थापाले केलबकारबाट दैनिक ५ हजार जनाले सेवा लिन सक्ने जनाए ।
केबलकार निर्माणसँगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नती गरिनुका साथै राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटलसमेत निर्माण गरिने सञ्चालक थापाले बताए । कर्णाली नदीमा रहेको चिसापानी पुल नजिकैबाट सुरु हुने जालपादेवी केवलकारबाट कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधामलगायतका धार्मिक स्थल, हात्ती ढुंगाको अवलोकन गर्न सकिने छ ।
जालपादेवी केबलकार सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्र ठूलो लगानीमा बनिरहेको पहिलो पर्यटकीय पूर्वाधार हो । यसमा ६० प्रतिशत स्थानीय र ४० प्रतिशत चन्द्रागिरि केबलकार कम्पनीले लगानी गरिरहेको छ । केबलकारबाट हुने कुल आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई रोयल्टी दिइने छ भने हजारौं व्यक्तिकाको रोजगारीसमेत सिर्जना हुने सञ्चालक थापाले बताए ।
केवलकारको स्टेशन चिसापानीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा प्रमुख आतिथ्यता र उद्योग मन्त्री दामोदर भण्डारी र नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री अरुण चौधरीको सहभागितामा शनिबार शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । चन्द्रागिरि केबुलकारका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र व्यवसायी तथा जिल्ला समन्वय समिति कैलालीका पूर्व प्रमुख सूर्यबहादुर थापाको गत बैशाखमा पुजा गरी पहिलो चरणको काम सुरु गरेका थिए ।
चिसापानी पहाड र तराइको संगमस्थल हो भने राजकाँडा चुरे पहाडको सबै भन्दा अग्लो ठाउँ हो । चिसापानीमा एकदमै गर्मी भइरहेको बेला राजकाँडामा चिसो मौसम हुन्छ । केबलकार बनेपछि १० मिनेटकै अन्तरमा फरक मौसमको अनुभव लिन पाइने सञ्चालक थापाले बताए ।
राजकाँडाको समस्या र सम्भावना
सडक लगायत पूर्वाधार नबनेका कारण ओझेलमा परेका सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यमध्ये मोहन्याल गाउँपालिका–७ मा पर्ने राजकाँडा पनि एक हो । चिसापानीबाट छ किलोमिटर ठाडो उकालो चढेपछि आउने राजकाँडाको प्रमुख समस्या नै चिप्लो र ठाडो बाटो हो । त्यहाँ शुद्ध पिउने पानीको पनि उत्तिकै समस्या रहेको स्थानीयले बताए ।
चुरे क्षेत्रको सर्वाधिक अग्लो डाँडा भएकाले कैलालीको राजकाँडाबाट सुदूरपश्चिमका धेरैजसो पर्यटकीय क्षेत्र तथा स्थानको सजिलै अवलोकन गर्न सकिने त्यहा पुगेका पर्यटकको अनुभव छ ।
राजकाँडाबाट भेरी र कर्णाली नदीको संगम, तराईमा कर्णालीको तीन भंगाला र कर्णालीका भंगालाहरुले बनाएका टापुहरु, बर्दिया राष्ट्रिय निकुञ्ज, तराईका फाँटहरु, भारतमा चलेको रेल, तथा कर्णाली तथा सेतीका हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ ।
मौसम सफा भएको बेला अपि, व्यास, साइपाल हिमालको चुचुरो देखिनुका साथै सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, कर्णाली पुल पनि स्पष्ट रुपमा हेर्न सकिने स्थानीयको भनाइ छ । राजकाँडाको सबैभन्दा अग्लो चुचुरोबाट सूर्योदय र सूर्यास्तसमेत देखिने गरेको स्थानीय उत्तर विष्टले बताए । प्राकृतिक रुपमासुन्दर राजकाँडा सूर्याेदय अवलोकनका लागि पनि प्रसिद्ध छ ।
ठाडो कुमालो बाटो भएपनि जम्मा दुई घण्टामा उक्लिन सकिन्छ । तर राजकाँडामा उत्पादन भएका कृषि उपज तराई लगेर बेच्न र तराईबाट सामान ल्याउन कठिन छ, राजकाँडाबासीलाई । राजकाँडामा पर्यटकीय सम्भावना मात्रै छैन, त्यहाँको मौसम सधैंभरि हिउँद जस्तै हुने भएकाले वर्षभरि काउली, बन्दा, गोलभेंडा, आलुलगायतका हिउँदे तरकारी खेती गर्न सकिने विष्टले बताए । तर बाटो नभएकाले उत्पादन भएका सुन्तला, नास्पाती, केरालगायतका फलफूलले बजार नपाएको स्थानीय डम्बर बुढाले बताए ।
राजकाँडाको सम्भानालाई समानका लागि पहिलो प्राथमिकता साथ बाटो बनाइदिन उनले माग गरे । उनले बाटोसँगै खानेपानीको व्यवस्था भएमा राजकाँडामा आएका पर्यटकलाई होम स्टेको व्यवस्था गरेर स्वागत गर्न सकिने बताए । राजकाँडामा बाह्रै महिना चिसो हुने भएकाले त्यहाँ फलफूल र तरकारी खेती पनि फस्टाउने गरेको छ । सबैभन्दा धेरै र स्वादिष्ट नास्पाती उत्पादन भएपनि बाटो नभएकै कारण बजार नपाउने गरेको बुढाले बताए ।
लम्कीबजारबाट राजकाँडा हुँदै सुंगरखालको कुइनेसम्म पुग्ने मोटरबाटो निर्माणकै चरणमा छ । सो बाटोको ट्रयाक राजकाँडासम्म खोलिएको छ । तर बीचमै गएको पहिरो र कटानले गर्दा मोटरबाटो बाह्रै्र महिना चल्न नसक्ने अवस्थामा छ । सो बाटोमा लम्कीबाट राजकाँडासम्म १० किलोमिटर पर्छ । बाटो बनाउने काम रोकिएपछि ट्रयाक खनेको बाटो पनि भग्नावशेषमा परिणत भएको छ । स्थानीय अमरबहादुर खत्री चिसापानीबाट राजकाँडा जाने बाटोलाई पर्यटनका लागि टे्रकिङ टे्रल र लम्कीदेखि कुइनेसम्मको पुग्ने मोटरबाटो बनाइदिन माग गर्छन् ।
खानेपानी र बाटोको व्यवस्थाका गरिदिए आफूहरुको समस्या समाधान भई पर्यटन विकासमा समेत सहज हुने स्थानीय कर्णबहादुर खत्रीले बताए । ‘राजकाँडासम्म पुग्ने बाटो नभएकाले यहाँको जमिन पनि उपयोग हुन सकेको छैन’ उनले भने, ‘बाटो, बिजुली, खानेपानीको अभावले यहाँका स्थानीय तराईमा जग्गा लिएर बस्न थालेका छन् ।’