Logo

भैरहवा सेजबाट दुई अर्ब ७३ करोडको निकासी

भैरहवा– विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा सञ्चालनमा आएदेखि हालसम्म (मंसिर मसान्त) २ अर्ब ७३ करोडको सामान भारत निकासी भएको छ ।

भैरहवा सेजमा स्थापित उद्योगले २०७६ सालदेखि आफ्नो उत्पादन भारत निकासी गर्न सुरु गरेकामा ५ वर्षको अवधिमा यो निकासी भएको हो । भैरहवा सेजबाट गत आर्थिक वर्ष २०८०–८१ मा ६० करोड ३६ लाख रुपैयाँको र चालु वर्षको ५ महिना (साउनदेखि मंसिर) सम्म २४ करोड ८२ लाखको सामान भारत निकासी भएको भैरहवा सेजका सहायक निर्देशक सबुत डुम्रेले बताए । ‘अहिले भैरहवा सेजमा सञ्चालित सीमित उद्योगले आफ्नो उत्पादन नेपालको आन्तरिक बजारसँगै भारत निकासी गरिरहेका छन् ।

गत आर्थिक वर्ष उत्पादित वस्तुमध्ये ६६ प्रतिशत र चालु वर्षको ५ महिनामा ४८ प्रतिशत निकासी भएको छ,’ डुम्रेले भने, ‘निकासी विस्तारै बढ्दैछ । पहिलो वर्ष एउटा उद्योगबाट उत्पादन भई निकासी सुरु भएकोमा अहिले ५ वर्षमा पुग्दा ११ उद्योग स्थापना भई उत्पादन सुरु भएका छन् ।’ उनका अनुसार अहिले भैरहवा सेजमा सञ्चालन भइरहेका श्रीशक्ति मिनरल्स, विस्तार ग्लोबल प्रालि, ब्रिलियन्ट लाइटिङ, तिरुपति मेटल, हिमालयन ग्रेनाइट, एस पोलिमर्स, हिमालयन इको इनर्जी, श्री इस्पर्ट, इको नेपाल, आर्सी इन्डस्ट्रिज उद्योगबाट उत्पादित सामान भारत निकासी भइरहेका छन् । त्यहाँ रहेका पञ्चकन्या मेट एसएस एक्स्पोर्ट र जयबुद्ध मेटल उद्योग भने अहिले प्राविधिक कारणले बन्द छन् ।

यहाँका उद्योगले चुनढुंगा प्रशोधन गरी उत्पादित चिप्स, स्टिलका भाँडा, बिजुली बत्ती, प्लास्टिकका सामान प्रशोधन गरी दाना चिप्स, कच्चा ढुंगा ल्याएर मार्बल–टायल, फर्निस आयल, पुरानो ब्याट्री प्रशोधन गरी लिड निकाली सामान बनाउने गर्दै आएका छन् । यी सामान आन्तरिक बजारमा खपत गर्नुका साथै भारत निकासी हुँदै आएका छन् । सेजका उद्योगबाट उत्पादित सामान निकासी र आन्तरिक बजारमा खपतका लागि २०८१ वैशाखमा कुल उत्पादनको ३० प्रतिशत निकासी र ७० प्रतिशत आन्तरिक बजारमा खपत गर्न सकिने नियम सरकारले ल्याएको थियो । उद्योग सञ्चालनको पहिलो ३ वर्ष उत्पादित सबै सामान स्वदेशमै खपत गर्न सकिने प्रावधान छ ।

सेजमा भाडा महँगो भएको, विद्युत आपूर्ति राम्रो नभएको र अन्य सेवासमेत नभएको जनाउँदै उद्योगीहरु आकर्षित नभएपछि विशेष आर्थिक क्षेत्र व्यवस्थापन समितिले २०७५ सालमा ऐन संशोधन गरी प्रति वर्गमिटर १५० रुपैयाँको भाडा घटाएर २० रुपैयाँमा झारिएको थियो । यो भाडा पनि महँगो भएको गुनासो आएपछि त्यसलाई अब १० रुपैयाँ प्रति वर्गमिटर बनाउने तयारी भइरहेको छ । विद्युततर्फ भने सबस्टेसन निर्माण अन्तिम चरणमा रहेको र माघ अन्तिमसम्म सञ्चालन हुने लक्ष्य रहेको भैरहवा सेजका सबइन्जिनियर दीपकचन्द्र भाटले बताए ।

भैरहवा सेजमा उद्योग स्थापनाका लागि ६८ प्लट छुट्याइएकोमा अहिलेसम्म त्यहाँ सञ्चालनमा रहेका उद्योगले ३१ वटा प्लट लिएका छन् । बाँकी रहेका ३७ प्लट पनि बुकिङ भइसकेको कार्यालयले जनाएको छ । उद्योग सञ्चालन गर्न प्लट बुकिङ गरेका उद्योेगीहरुलाई छिटोभन्दा छिटो सम्झौता गर्न कार्यालयले ताकेता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्