Logo

किसान प्रोत्साहन कार्यक्रम छैनन्, करोड खर्चेर ६० मन्दिर र गुम्बा बनाइए

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका कृषि उत्पादनका हिसाबले जिल्लाकै अन्न भण्डार मानिन्छ । उक्त क्षेत्रका अधिकांश नागरिक कृषि र जडिबुटिमा संलग्न छन् । पातारासीमा उत्पादन हुने स्याउ, सिमि, कोदो, फापर, आलुजस्ता बालीको उत्पादन वृद्धि र बजारीकरणमा स्थानीय तहले कुनै विशेष कार्यक्रम ल्याएको छैन ।

किसानले पटक–पटक उत्पादन बृद्धि र बजार प्रवद्र्धनका कार्यक्रम ल्याउन स्थानीय सरकारसमक्ष माग राख्दै आएका छन् । कृषिमा विशेष प्राथमिकता दिएर लगानी गरे समृद्ध पातारासी बन्ने सम्भावना पनि प्रचुर छ । तर, पातारासी गाउँपालिकाको ध्यान सम्भावना भएको यो क्षेत्रलाई छोडेर मन्दिर निर्माण र संरक्षणमा गएको छ । स्थानीय स्तरमा नयाँ मन्दिर बनाउने र भएका मठमन्दिरको संरक्षण गर्नु सरकारको दायित्व हो । तर, त्यसका लागि कति लगानी गर्ने भन्ने मूल प्रश्न पनि हो । पातारासीले मन्दिर निर्माणजस्तो अनुत्पादक क्षेत्रमा ठूलो लगानी गरेको छ । अधिकतम प्रतिफल दिने क्षेत्रमा राज्यकोष लगानी गर्नुपर्नेमा पातारासीले मन्दिर तथा गुम्बाको निर्माण र मर्मतमा करिब एक करोड बजेट लगानी गरेको हो ।

पातारासी गाउँपालिका प्राविधिक शाखाको प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०–८१ मा पातारासी गाउँपालिकामा करिब एक करोड बजेट लगानीमा ६० वटा मन्दिर, गुम्बा निर्माण र मर्मत भएका छन् । पातारासीका ७ वटा वडाका विभिन्न गाउँमा विभिन्न देवताका मन्दिर (थान),गुम्बाको निर्माण र मर्मत गरेको भेटिएको हो । ७ वडामा ६० भन्दा बढी मन्दिर र गुम्बा निर्माण गर्न गत आवमा कुल ९६ लाख ३० हजार रुपैयाँ खर्चिएको छ । अधिकांश मन्दिर निर्माणका योजना अध्यक्ष र उपाध्यक्ष कोषबाट निर्माण भएका छन् भने केही योजना गाउँपालिकाको बजेटबाट निर्माण गरेको देखिन्छ ।

उत्पादनशील क्षेत्रलाई छोडेर अनुत्पादक क्षेत्रमा एकै आर्थिक वर्षमा एक करोड लगानी हुनुलाई धेरैले राम्रो मानेका छैनन् । पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले मन्दिर निर्माणमा गरिएको लगानीले नागरिकको माग पूरा भए पनि लगानीको प्रतिफल शून्य भएको बताइन् । ‘गाउँ गाउँमा मन्दिर बनाइदिन स्थानीय स्तरबाट आएका माग थेगी नसक्नु छन्,’ उपाध्यक्ष रोकायाले कारोबारसँग भनिन्, ‘मैले अनुत्पादक क्षेत्रमा लगानी नगरौं भन्दै आएको थिएँ । अध्यक्षज्युले मन्दिर बनाउन बजेट दिनुभयो । मैले नदिँदा विरोध हुने देखियो । त्यसैले गाउँमा दर्जनौं मन्दिर बनेका छन् । अब अनुत्पादक क्षेत्रमा गरिने लगानी रोक्नुपर्छ भन्ने कुरामा हामी सबै सहमत छौं । पातारासी क्षेत्र कृषिको उर्वर भूमि भएको सबैलाई थाहा छ । किसानको हित हुने र उत्पादनशील क्षेत्रमा लगानी गर्नु हाम्रो दायित्व हो ।’

कुन वडामा कति मन्दिर बने ?
पातारासी गाउँपालिकाले ६० मन्दिर र गुम्बा बनाउन गत वर्ष ९६ लाख ३० हजार लगानी गरेको छ । यसमध्ये वडा नम्बर एकमा एक लाख रुपैयाँ लगानी गरी एउटा मन्दिर निर्माण गरिएको छ । यस्तै २ नम्बर वडामा २५ लाख ५० हजार लगानीमा ६ वटा मन्दिर निर्माण भएका छन् भने ३ वडामा २१ लाख ३० हजार लगानीमा १८ वटा मन्दिर तथा गुम्बा बनाइएका छन् । यस्तै ४ वडामा ८ लाख ५० हजार खर्चेर ७ वटा मन्दिर निर्माण भएका छन् ।

प्रतिवेदनअनुसार ५ वडामा १० लाख ६० हजार लगानीमा १० मन्दिर तथा गुम्बा बनेका छन् भने वडा ६ मा १५ लाख ७० हजार लगानीमा ९ वटा मन्दिर तथा गुम्बा निर्माण गरिएका छन् । यस्तै ७ वडामा ९ वटा मन्दिर बनाइएका छन् । यसको लागत १४ लाख ५० हजार परेको छ ।

प्रतिक्रिया दिनुहोस्