Logo

सन्दर्भः मध्यपुर महोत्सव

पर्यटन प्रवर्द्धन गर्दै मध्यपुर

मध्यपुर थिमी जात्राका लागि प्रख्यात छ । हुन त यहाँ वर्षभरि नै विभिन्न जात्रा तथा मेला लाग्ने गर्छ । तर, यहाँ विशेष गरी विक्रम संवत्को नयाँ वर्षको आगमनमा यहाँ मनाइने प्रख्यात बिस्का जात्राहरूको बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

दक्षिणबाराही गण जात्रा
सूर्यविनायक नगरपालिकाको क्वाछेँस्थित दक्षिणबाराहीको नेतृत्वमा वैशाख १ गते राति (३ बजेतिर) हुन्छ । चान्हसिया जात्रा भनेर चिनिने यस जात्रामा दधिकोट, हिञ्चोकस्थित हरसिद्धि र थिमी, यमाटोलस्थित अजिमासहित तीनवटा खटको सहभागिता रहन्छ । यो जात्रा बालकुमारी कुहाँ बिज्याकेगु अर्थात् थिमीको नगरदेवता बालकुमारीलाई स्थानीय लायकुबाट क्वलाखुस्थित बालकुमारी मन्दिरमा प्रदर्शन गर्न लगिने जात्रा सम्पन्न भएलगत्तै प्रारम्भ हुन्छ । दक्षिणबाराही गुठीको पालो परेको घरबाट प्रारम्भ हुने यो जात्रा नगरका विभिन्न स्थानको परिक्रमापश्चात् क्वोलाखु पुगेर सम्पन्न हुन्छ ।

सिद्धिकाली गण जात्रा
सिद्धिकाली गण जात्रा वैशाख १ गते साँझ सुरु हुन्छ । कुटिंचिवाबाट इनाएक्वमा रहेको मन्दिर परिसरमा सिद्धिकालीको खट ल्याइन्छ । यहाँ हात्तीमहांकालका कोशिना गणेश, चपाचोबाट विश्वविनायक, इनाय्लाछीका राज गणेश, चोडेबाट नीलवर्ण गणेश, शिवाटोलबाट सिद्धिगणेश, दिगुलीका दिगुगणेश र गाँचाननीका गाँचाननी गणेशलाई आ–आफ्नो ठाउँबाट जात्रा गरी इनाय्क्वमा ल्याउँछन् । चपाचोको विश्वविनायकलाई भने इनाय्क्वको प्रवेशद्वार ध्वाखाबाहिर बिसाइन्छ । विश्वविनायक र सिद्धिकालीका नागवाहन सहअस्तित्वमा रहन नहुने र भएमा ठूलो विपत्ति आइलाग्छ भन्ने किंवदन्तीहरू छन् ।

सिद्धिकाली जात्रामा नाटेश्वरको वरदान भएको मानिने मूःधिमेको नेतृत्वमा कम्तीमा तीन पटक मन्दिर परिसरमा खट परिक्रमा गराइन्छ । त्यसपछि जात्रा गरी भित्री सहरतिर जान्छन् । जनश्रुतिअनुसार सिद्धिकाली नाग बाहनमाथि विराजमान हुन्छिन् । त्यही भएर देवी नागबेली चालमा अघि बढ्छन् । खट कुटिंचिवाः, कुम्हानानी, तुलनानी, नासनानी, चपाचो, स्वङ्गापुख, दुवाफल्चा, कुटुननी, भुलाँखेल, हात्तीमहांकाल र अन्त्यमा कुटिंचिवाः पुग्छ, जहाँ सिद्धिकाली रातभर विराजमान गराइन्छ । अन्य खटहरूलाई आ–आफ्नो मन्दिरअगाडि विराजमान गराइन्छ । भक्तजनहरू रातभर दैवी शक्तिको जयजयकार गर्दै दीप प्रज्वलन गर्दै देवीको दर्शन गर्छन् ।

विष्णुवीर गण जात्रा
यो जात्रा सुँगाटोलस्थित विष्णुवीरको नेतृत्वमा वैशाख १ गते साँझ सुरु हुन्छ । बाय्सिंसिया जात्रा भनेर चिनिने यो जात्रा सुँगाटोलबाट प्रारम्भ भई नगरको विभिन्न स्थानको परिक्रमापश्चात् क्वलाखु टोलमा पुगेर सम्पन्न हुन्छ । सुंगाटोलस्थित विष्णुवीर मन्दिर परिक्रमा गरी कय्कुताँ जाने क्रममा विष्णुवीरलाई लास लगेझैँ सी बाजा बजाएर जात्रालुहरू मलामी गए जसरी टोपी फुकालेर भावुक मुद्रामा जाने गर्छन् । कय्कुताँस्थित पोखरी डिलमा पुगेपछि पुनः धिमेबाजा बजाएर हर्षोल्लासका साथ जात्रा सुरु गरिन्छ । त्यहाँबाट इनाएलाछी, दिगुटोल हुँदै द्वंदः, भुलांखेल, बागः तुंथि, वाःननिबाट दक्षिणपूर्वको भागमा सञ्चालन हुने यस जात्रामा पर्सिक्व गणेश (पर्सिक्व टोल), भादे गणेश (वामुने टोल), थास्वः गणेश (क्वलाखु टोल) र गांताः गणेश (तछुटोल) को सहभागिता रहन्छ । दताः गणेश (बथुटोल) भने विष्णुवीरको गण जात्रामा नपरे तापनि इच्छाअनुसार जात्रामा सहभागिता रहने चलन छ ।

सिद्विगणेश बाय्लिसिया जात्रा
नगदेश क्षेत्रमा सिद्धिगणेशको जात्रा हुन्छ । सिद्धिगणेश जात्रा वैशाख १ र २ गते दुई दिन सञ्चालन गरिन्छ । वैशाख १ गते बेलुका (९ बजेतिर) को जात्रालाई बाय्लिसिया जात्रा भनिन्छ । यो जात्रा स्थानीय लाछिटोलबाट प्रारम्भ हुन्छ । नगदेश लायकु प्रतिनिधिले सिद्धिगणेशलाई धनिचास्वां (एक प्रकारको फूल) र सिँदूर चढाएपछि सुरु हुन्छ । यो जात्रा नगदेशका विभिन्न टोलको परिक्रमापछि लाछिटोल पुगेर सम्पन्न हुन्छ । सिद्धिगणेशको खटलाई लाछिमा बिसाएपछि भक्तजनहरू १ सय ८ दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बस्छन् ।

सिद्विगणेश सुथसिया जात्रा
सिद्धिगणेशको अर्को जात्रा वैशाख २ गते बिहान प्रारम्भ हुन्छ । यस जात्रामा अघिल्लो दिनझँै नगदेशका विभिन्न टोलको परिक्रमा गराई सिद्धिगणेशलाई बाहाखा बजार, भीमसेनचोकबाट थिमीको मूल सडक हुँदै क्वलाखु टोल पुर्‍याइन्थ्यो । यहाँ बालकुमारी जात्रा प्रारम्भ गराएर सिद्धिगणेशलाई थिमीको विभिन्न स्थानको परिक्रमा गरेर बाहाखा मिलरोड हुँदै सानच्व पुर्‍याइन्थ्यो । सिद्धिगणेशको स्वागतार्थ यहाँ प्रतीक्षारत नीलबाराहीसँगै तिगनीको तःधंटोल पुगेर तिगनीका विभिन्न स्थानको परिक्रमापश्चात् दुइटै खट नगदेश लगिन्थ्यो र नगदेशको विभिन्न टोल घुमेर न्याःगाः स्थित द्यःछें प्रांगणमा पुगेर सिद्धिगणेश जात्रा सम्पन्न हुने गथ्र्याे । हाल सिद्धिगणेशको जात्रा नगदेशका विभिन्न टोलका साथै बाहाखा बजार र सिउचाक्वोमा पनि परिक्रमा गराइन्छ ।

बालकुमारी जात्रा
क्वोलाखु टोलमा यःसिं ठड्याएपछि (यःसिं ठड्याउने प्रचलन अचेल हराइसकेको छ) औपचारिक रूपमा बिस्का जात्रा प्रारम्भ हुन्छ । चैत्र मसान्तमा बालकुमारीको मूल गहना (किंकिपाः) क्वोलाखुस्थित बालकुमारी मन्दिरमा भित्र्याएपछि खटजात्रा प्रारम्भ हुन्छ । यसलाई सुथसिया जात्रा भनिन्छ । २ गते बिहान प्रारम्भ हुने यो जात्रामा थिमी क्षेत्रका दक्षिणबाराही गण, सिद्धिकाली गणलगायत २३ देवीदेवताका खट सहभागी रहन्छन् । यी सबै खट र नगदेशको सिद्धिगणेश क्वलाखु टोलमा भेला भएलगत्तै लायकुका प्रतिनिधि (नायोपःमा) ले सिउ (बालकुमारीमा बलि दिएको बोकाको मूल प्रसाद) र सिन्दूर चढाएर जात्रा प्रारम्भ गर्छ । नगदेश सिद्धिगणेश उपस्थितिपछि मात्रै बालकुमारी जात्रा प्रारम्भ गरिने प्रचलन रहे तापनि केही वर्षदेखि सिद्धिगणेश थिमी आउने परम्परा रोकिएपछि सिद्धिकालीलाई सिउ दिएर चढाएपछि जात्रा सञ्चालन हुने गर्छ ।

जिब्रो छेड्ने जात्रा
वैशाख २ गते बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । तान्त्रिक भीमदत्त कर्माचार्यले नगरवासीलाई दुःख दिइरहेका ख्याकलाई आफ्नो विद्यामा फसाएर सोही ख्याकलाई नगर परिक्रमा गराइएको, कसैले नदेखिने गरी भागी जाला भन्ने डरले खुट्टामा आवाज आउने गरी घुँघरु बाँधिदिएको, अझ मनलाई अत्याश पार्न उक्त ख्याकलाई बलेको महादीप र त्यसमा काठको गह्रौँ भारी बोकाएर जिब्रो छेडाएको किंवदन्ती छ ।

खट जात्रा
वैशाख २ गते बिहान पाँचो क्षेत्रमा पाँचो गणेश, भुरिखा गणेश, हाँसिमला गणेश, न्हू नीलबाराही, पुलां नीलबाराही, महालक्ष्मी भैरव र कालिका माईरकुमारीको खट क्रमशः लाइनमा लगाइन्छ । जिब्रो छेड्ने जात्रा सुरु भएर जिब्रो छेडेको व्यक्ति नगर परिक्रमा गएपछि प्रधान नाइकले सबै खटमा सिन्दूर चढाइन्छ । त्यसपछि महालक्ष्मीबाहेक सबै खटलाई कुमारी मन्दिर परिसरमा पुर्‍याएर तीन पटक मन्दिरको परिक्रमा गरी खटलाई क्रमशः पाँचो ढोकामा ल्याइन्छ, जहाँ महालक्ष्मीको खटले नगर जाने बाटो अवरुद्ध गर्छ । जिब्रो छेड्ने व्यक्तिले महालक्ष्मी मन्दिरमा गणेशको खट नपुगेसम्म जिब्रोबाट सियो निकाल्न नमिल्ने र गणेशको खट आइसकेपछि महालक्ष्मी मन्दिर परिसरको गणेश मन्दिरमा सियो निकाली किला ठोक्ने गर्छ ।

यःसिं ठड्याउने
नयाँ वर्षको पूर्वसन्ध्यामा बोडेको महालक्ष्मी मन्दिर परिसरमा यस्सी (काठको खम्बा) ठड्याउने गरिन्छ । यःसिंमा कपडाका ३२ हात लामो हलिंपत्ता झुन्ड्याइन्छ जसलाई सर्पको जोडी (नाग र नागिन) को प्रतिनिधित्व मानिन्छ ।

रथ पूजा र द्यः म्हु वनेगु
वैशाख १ गते थिमी, नगदेश, बोडे र तिगनीमा जात्रा गरिने खटमा पूजा गर्न जानेलाई रथ पूजा वा द्यः म्हू वानेगु पनि भनिन्छ । यो जात्रा हरेक वर्ष बोडेका विभिन्न टोल र समूहले आयोजना गर्ने गर्छ । बिस्का जात्रामा बोडे, नगदेश, थिमी र तिगनीमा जम्मा ३२ वटा खट जात्रा गरिन्छ । रथ पूजामा धिमे बाजा, बाँसुरी र पछिमा बाजा बजाएर परम्परागत पोसाकमा लामबद्ध भएर सबै खटलाई प्रसाद चढाउँछन् । सो कार्यको सुरुवातमा आयोजक टोलबाट ठूलो भागमा प्रसाद चढाइन्छ, जसमा प्रायः ठूला पातको थालीमा सेवई, रोटी, खजुरी, पुरी आदी मिठाई हुन्छन् । मुख्य प्रसादलाई पछ्याउँदै अन्य व्यक्तिले पनि आफ्नो व्यक्तिगत रूपमा इच्छाएको प्रसाद चढाउँछन् । हिन्दू धर्ममा सबैभन्दा पहिले गणेशको पूजा हुने भएकाले बोडेको पाँचो गणेशबाट सुरु हुने र सबै ठाउँको परिक्रमा गरी बाँकी रहेका सबै प्रसाद कुमारीको खटमा अर्पण गरेर यो पूजा लाछीटोलमा समापन गरिन्छ । यस रथ पूजाको मुख्य आकर्षण भनेको परम्परागत पोसाक र परम्परागत लोकसंगीतको माध्यमबाट मानिसले आफ्नो संस्कृति झल्काउनु हो ।

चान्हेसिया जात्रा
बोडेमा चान्हेसिया जात्रा वैशाख १ गते मध्यरातमा सुरु हुन्छ । यो जात्रा लाछिटोलबाट कालिका माई भनेर चिनिने कुमारीको खट उठाएपछि सुरु हुन्छ । कुमारी देवीको सम्बन्धित गुठीले कुमारी देवीको लागि दशकर्म गर्छन्, त्यसपछि पूजा गर्छन् । पूजापछि चिलाख र धिमे बाजाको साथमा जात्रा सुरु हुन्छ । लायकु टोलमा खट पुगेपछि नकमीको घरबाट चटामारी चढाइन्छ । जात्रालुले यसलाई समातेर प्रसादको रूपमा खान्छन् । त्यसपछि खट बोडेको कुमारी मन्दिरमा लगिन्छ ।

खटलाई माथिबाट कुमारी मन्दिरतर्फ लैजाँदा धिमे बाजाले असाध्यै रमाइलो ठूलो आवाजमा सङ्गीत बजाइन्छ । यसरी ओरालो लाग्दा कुमारी देवी ओरालोमा रुँदै गएको भन्ने किंवदन्ती छ । यस्तो भइरहेको बेला कुमारी देवीको खटको पछाडिबाट लिपिं कपडालाई गुठीका मानिसहरूले गोप्य रूपमा निकाल्छन् । खट कुमारी मन्दिर परिसरमा पुगेपछि तीन पटक मन्दिरको परिक्रमा गरी कुमारी मन्दिर अगाडि खटलाई विश्राम गराइन्छ । जब सबै दर्शक फर्किन्छन् । फेरि गुपचुप रूपमा गुठियारले दशकर्म गर्छन् र त्यसपछि मध्यरातमा खट फेरि बोडेमा लगिने प्रचलन छ ।

अतः उल्लिखित विभिन्न महोत्सव, जात्रा तथा मेला, मौलिक कला–संस्कृति, स्थानीय परिकार आदिमार्फत पर्यटन प्रवद्र्धन गरी मध्यपुर थिमीलगायत नेपालकै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सकिने ठूलो सम्भावना छ । यस्ता जात्रा तथा कला–संस्कृतिलाई नेपाललगायत विश्व बजारमा प्रभावकारी रूपमा प्रचारप्रसार गर्न सके पर्यटन आगमनमा वृद्धि गरी राष्ट्रिय अर्थतन्त्र सबल बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्