र्याफ्टिङ पर्यटक कम «

र्याफ्टिङ पर्यटक कम

तेह्रथुम-पर्यटक आउने सिजनमै अत्याधिक चिसो बढेपछि तमोर नदीमा र्याफ्टिङका लागि आउने पर्यटकको संख्या घटेको छ । तापक्रम बढ्ने समय भए पनि यो वर्ष मौसम चिसिरहेकाले र्याफ्टिङका लागि आउने पर्यटक घटेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
यो सिजनमा वसन्तपुरको रुट भएर पर्यटक र्याफ्टिङका लागि तमोर नदीको शिरतर्फ गएका छैनन् । जसले गर्दा यस भेगको पर्यटन व्यवसाय केही खस्कीएको पर्यटन विकास तथा प्रवद्र्धन समिति सदस्य प्रकाश श्रेष्ठले वताए । असोज महिना सुरु भएसँगै आउने पर्यटकहरू यो सिजनमा कम मात्र देखा परेको लालीगुरा“स होटल चौकीका सञ्चालक उदयकुमार लोले बताए । अघिल्ला वर्षहरूमा वसन्तपुरको पदमार्ग भएर विभिन्न देशका पर्यटकहरू तमोर नदीतर्फ जलयात्राका लागि बोट साथैमा लिएर जाने गरेका भए पनि यो सिजनमा न्यून मात्र देखिएका छन् । पछिल्लो समय काठमाडौं र धरानका विभिन्न ट्राभल्स एजेन्सीले पर्यटकलाई स्थल मार्गमार्फत सार्वजनिक यातायातका साधन रिजर्भ गरेर वसन्तपुरसम्म साथैमा लिएर आउने गरेकाले यस क्षेत्रमा पर्यटकको चाप बढ्दो थियो । तर, यो सिजनमा र्याफ्टिङका लागि आएका बाह्य पर्यटकको संख्या एकदमै न्यून छन् ।
काठमाडौंबाट सिधै हवाई यात्राबाट ताप्लेजुङ पुग्न सजिलो भए पनि पर्यटक रमणीय गुरा“स भूमि तीनजुरे मिल्के जलजले क्षेत्रको दृश्यावलोकन गर्दै वसन्तपुरको बाटो भएर पदयात्रा गर्न मन पराउने गरेको हिँड्न सांग्रिला ट्रेकिङ एक्पिडिसन प्रालि काठमाडौंका गाइड तुला मगरले बताए । १२ महिना चिसो र ठण्डा हावापानी रहने वसन्तपुर काठमाडौंबाट छुटेका पर्यटकको पहिलो गन्तव्य हो । गत वर्ष यही सिजनमा तमोर नदीमा जलयात्रा (र्याफ्टिङ) का लागि इङलेन्ड, चेक रिपब्लिक, स्वीट्जरल्यान्ड, अमेरिका, स्वीडेन, फ्रान्सलगायतका देशका पर्यटक वसन्तपुरको पदमार्ग भएर तमोर नदीतर्फ गएका थिए । तर, त्यस यता यी देशका पर्यटक कम देखिएका छन् । यहाँ आउने पर्यटकको रेकर्ड अहिलेसम्म कुनै सरकारी तथा गैरसरकारी संघ–संस्थाले राख्ने गरेका छैनन् ।
हवाई यात्राको तुलनामा स्थल मार्ग भएर आउदा कम खर्चिलो र प्राकृतिक सौन्दर्यको आनन्द पनि एकै साथ लिन पाइने भएकाले पर्यटकले सम्भव भएसम्म स्थल मार्गलाई नै रोज्ने गरेका छन् । वसन्तपुरलाई पहिलो गन्तव्य बनाएर आउने पर्यटकले वसन्तपुरदेखि तमोर नदीको शिर दोभानसम्म तीन दिन पैदल यात्रा गरी त्यसपछि चार दिनसम्म तमोर नदीमा जलयात्रा गर्दै सुनकोसी नदीमा पुगेर टुंग्याउने गर्छन् । अन्य नदीको तुलनामा तमोर नदीमा र्याफ्टिङ गर्नु धेरै रमाइलो हुने गरेको पर्यटकहरू अनुभव सुनाउँछन् ।
केही वर्ष अघिसम्म हवाई यात्राबाट सिधै ताप्लेजुङको तुम्लिङटार उत्रिने गरेका पर्यटक वसन्तपुरसम्म सडक मार्ग बनिसकेकाले यतैबाट आउन थालेका छन् । काठमाडौंमा रहेका विभिन्न टुर अपरेटर तथा ट्राभल्सहरूले आफ्नै सवारी साधनमा राखेरसमेत पर्यटक लिएर आउने गरेका छन् । तर, यो वर्ष त्यताका पर्यटक नदेखीएको याक होटल वसन्तपुरका सञ्चालक पेम्बा भोटियाले बताए ।
वसन्तपुरदेखि ताप्लेजुङ दोभान सम्मको बीचमा पर्यटकका लागि कुनै पनि सुविधा र पूर्वाधार छैनन् । जसले गर्दा पर्यटक आवास, संचार, औषधि उपचार, सुरक्षा जस्ता आधारभूत सेवा सुविधाबाट समेत बञ्चित हुने गरेका छन् । काठमाडौंबाट स्थल मार्ग भएर आएका पर्यटक वसन्तपुरसम्म सवारी साधनमै आइपुग्छन् । तर, यसभन्दा अगाडि लामो समय पदयात्रा गर्नुपर्ने भएकाले सेवा सुविधाका लागि भने वढी जोखिम रहेको पर्यटन व्यवसायीहरूले गुनासो गर्दै आएका छन् । १० वर्षअघि दोभान क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकलाई पदयात्राकै क्रममा डाका समुहले आक्रमण गरेका थिए । त्यस लगत्तै र्याफ्टिङकै क्रममा अर्का विदेशी नागरिकको तमोर नदीमा डुवेर मृत्यु भयो । यस्ता घटनाले पनि पर्यटकका लागि भरपर्दो सेवा, सुविधा र सुरक्षा छैन भन्ने कुराको पुष्टि गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ । त्यसको असर क्रमशः यहाँको पर्यटन क्षेत्रमा पर्दै गएको यहाँका पर्यटन व्यवसायीहरूको भनाइ छ ।
तमोर नदीमा र्याफ्टिङका लागि राम्रो र दिगो संभावना भएकाले पर्यटक आकर्षणका लागि सरकारले पूर्वाधार निर्माणमा विशेष ध्यान दिएर काम गर्नुपर्ने पर्यटन व्यवसायमा लागेकाहरूको भनाइ छ । पर्यटकको सेवा सुविधाका लागि पर्यटन मन्त्रालयले वसन्तपुरमा पर्यटन सूचना केन्द्रको स्थापना गरेपनि सञ्चालनमा आएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्