Logo

आठौं चेम्बर एक्स्पो माघ १७ गतेदेखि भृकुटीमण्डपमा

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्नलागेको हो ।

व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तानलगायतका देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीहरुले सहभागिता जनाउने छन् । एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शनमा रहने बताइएको छ ।

स्वदेशी र विदेशी गरी २ सयभन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन् । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक चेम्बरका मेला समिति संयोजक चाकुबजीले बताए । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्