Logo

पाँच महिनामै बन्यो झोलुंगे पुल

झापा– झापाको बुद्धशान्ति गाउँपालिकाका–६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’को निर्माण सम्पन्न भएको हो । संघीय सरकारको पाँच करोड ९८ लाख रुपैयाँको लागतमा बुद्धशान्ति–६ र ७ लाई जोड्ने ४७६ मिटर लामो कोलबुङ–रमिते गौडा झोलुंगे पुल पाँच महिनामै निर्माण सम्पन्न भएको हो ।

२०८१ साल असार २४ गते झापा निर्वाचन क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको शिलान्यास गरेका थिए । काठमाडौंको थानी जगदम्बा जेभीले ५ करोड ९८ लाख ८१ हजार रुपैयाँ लागतमा २०८३ जेठ २३ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको कोलबुङ–रमिते गौडा झोलुंगे पुल आगामी जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि शिलान्यास भएको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो ।

कोलबुङ–रमिते गौडा झोलुंगे पुल कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डी–आकृतिको’ को झोलुंगे पुल रहेको सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताले बताए । उनले निर्माण व्यवसायी पक्षले पुल् निर्माण कार्य सम्पन्न गरिसकेको बताउँदै सरकारी तहबाट फाइनल चेक हुन बाँकी भएकाले चाँडै अनुगमन गरेर पुलको हस्तान्तरण प्रक्रिया अघि बढाइने जानकारी दिए ।

कुनैपनि भौतिक पूर्वाधारको निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमान्दारीतामा निर्भर हुने बताउँदै उनले ठेकेदारको अटेरी प्रवृत्तिका कारण कतिपय भौतिक पूर्वाधारको निर्माणको काम ढिलो हुने जनाए । ठेकेदारले चाहे भने १८ महिना लाग्ने काम चार महिनामै पनि पूरा गर्न सक्ने उनको भनाइ छ ।

बुद्धशान्ति गाउँपालिका–६ का वडाध्यक्ष शिवराज पौडेलले दुई वर्षमा बनिसक्ने भनिएको झोलुंगे पुल छ महिनामै निर्माण भएको देखेर आफू चकित भएको बताए । भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्ती भएको गुनासो आफूकहाँ आउने गरेको बताउँदै उनले सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाई अवधिमै निर्माण कार्य सम्पन्न गरेर ठेकेदारले बुद्धशान्तिवासीको मन जितेको जनाए ।

बुद्धशान्ति गाउँपालिका–७ का अध्यक्ष चन्द्र भण्डारीले ठेकेदारले यति छिटो काम सम्पन्न गर्लान् भनेर आफूले कल्पनासमेत नगरेको बताउँदै निर्माण अवधि अघि नै झोलुंगे पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदारलाई धन्यवाद दिए । झोलुंगे पुल निर्माण हुनु अघि बुद्धशान्ति–६ बाट बुद्धशान्ति–७ जान स्थानीयबासीले ठूलो सकस भोग्दै आएकोमा अब झोलुंगे पुल बनेपछि आवागमन सहज हुने उनले बताए ।

बुद्धशान्ति गाउँपालिका –६ का वडाध्यक्ष पौडेलले झोलुंगे पुल बनेपछि वडाबासीलाई आउजाउका लागि मात्र नभएर इलामको रोङ गाउँपालिका–५ र ६ का बासिन्दालाई सुविधा पुगेको बताए ।

बुद्धशान्ति गाउँपालिका–७ को वडा कार्यालय नजिकै बनेको पुल सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म ल्याउन सहज हुने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए । पुल नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा कृषि उपज बजारसम्म पुर्‍याउन असहज भइरहेको अवस्थामा अब भने सहज हुने उनको भनाइ छ । पुल सञ्चालनमा आएपछि झापा र इलामका गाउँलाई पनि जोड्ने अध्यक्ष प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्