Logo

नियमित उडान पर्खिरहेका कर्णालीका विमानस्थल

वीरेन्द्रनगर– निजी हवाई सेवा प्रदायक संस्था तारा एयरले कर्णालीका तीन जिल्लामा हप्तामा दुई उडान भर्न सुरु गरेको दुई हप्ता भन्दा बढी भयो । कर्णाली प्रदेश स्थापनापछि नेपालगन्ज स्थानान्तरण भएको कर्णालीको आन्तरिक हवाई सेवा सुर्खेतबाट दोस्रो पटक सुचारु भएपछि केही आशा पलाएको छ ।

ताराले सुर्खेतबाट जुम्ला, हुम्ला र मुगुमा उडान भरेपछि नेपालगन्ज जाँदा पर्ने आर्थिक भारका साथै समयसमेत बचत भएको छ । हिमाली टुर्स एण्ड ट्राभल्सले तारा एयरको टुइनेटर विमानमार्फत् उडान सुरु ट्राभल्सका प्रबन्ध निर्देश कमिनबहादुर रावलले बताए । हालप्रति उडान जुम्ला र मुगुमा एक लाख ७५ हजार र हुम्लामा दुई लाख ७५ हजार रुपैयाँ खर्च आउने गरेको छ । यात्रु नहुँदा यो रकम कम्पनी आफंैले बेहोर्दै आएको छ । तीन जिल्लामा हुने साताको दुई उडानका लागि भाडा दरसमेत तय गरिएको छ । जसमा सुर्खेत–मुगु–सुर्खेत ६ हजार पाँच सय, सुर्खेत–जुम्ला–सुर्खेत ६ हजार पाँच सय र सुर्खेत–सिमकोट–सुर्खेत रुटमा आठ हजार भाडा दर तोकिएको छ । यो भाडा दर नेपालगन्जको भन्दा सस्तो हो ।

अहिले मुगु–नेपालगन्ज सात हजार पाँच सय भाडा दर रहेको रावल बताउँछन् । डोल्पामा पनि निकट केही दिनमा उडान भर्ने योजना रहेको रावललको भनाइ छ । मुगु, हुम्ला र जुम्लाबाट सुर्खेत आउनेको संख्या धेरै भए पनि माथि जानेको संख्या कम भएको उनले बताए । प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश सरकारले हवाई सेवामा प्रदान गर्ने भनिएको सहुलियत कार्यविधि नबन्दा अघि बढ्न नसकेको उनले बताए ।

आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमार्फत् कर्णाली प्रदेशमा हवाई सेवा भरपर्दो, सुलभ र सहज बनाउने भन्दै बजेट व्यवस्थापनको काम सुरु गरिएको थियो । बजेट व्यवस्थापन गर्ने तर सो सम्बन्धित कानुनी कार्य पूरा नगर्दा वर्षेनी बजेट फ्रिज हुँदै आएको छ । पहिलो पटक आएको बजेटमा सुर्खेतलाई केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान भर्ने एयरलाइन्सलाई इन्धनमा सहुलियत दिने उद्देश्यले रकम व्यवस्थापन गरिएको थियो । चालु आर्थिक वर्षमा पनि यही शीर्षकमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको भए पनि कार्यविधि नबन्दा कार्यान्वयन समस्या हुँदै आएको हो । एयरलायन्सहरूलाई इन्धनमा सुविधा दिने घोषणा गर्नुअघि प्रदेश सरकारले कर्णालीका ज्येष्ठ नागरिकका लागि विमान टिकटमा एक हजार रुपैयाँ सहुलियत दिँदै आएको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कार्यविधि निर्माण नभएको बताए । तर कसरी साविकका कर्णालीका लागि आफूले कसरी उडानलाई निरन्तर बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए । प्रदेश राजधानी भएसँगै सुर्खेत राजनीतिक, प्रशासनिक, आर्थिक तथा शैक्षिक हब बनेको वीरेन्द्रनगर १० वटै जिल्लाका नागरिकको रोजाइ बन्दै गएको छ । कर्णालीको आन्तरिक आकाशमा न सरकारले आफ्ना जहाज उडाउने प्रयास गरेको छ, न त निजी सेवा प्रदायक कम्पनीलाई नै प्रोत्साहन गरेको छ । सञ्चालन खर्चका कारण नेपाल वायुसेवा निगम नै कर्णालीमा आन्तरिक उडान गर्न नसक्ने जवाफ दिँदै आएको छ ।

जहाज पर्खंर्दै सुनथराली विमानस्थल
कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडामा निर्माण गरिएको सुनथराली विमानस्थल जहाजको पर्खाइमा छ । विसं. २०४२ सालबाट निर्माण थालिएको विमानस्थल ३९ वर्षमा पूरा भएको यो विमानस्थल परीक्षण उडानमै सीमित भएको छ । विमानस्थल निर्माण थालिएको झण्डै चार दशकमात्रै बितेको छैन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुँदा २०७३ माघमा पहिलो पटक यो विमानस्थलमा परीक्षण उडान सफल भएको थियो । त्यसयता २०८० फागुनमा पूर्व उपप्रधानतथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्व संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किराँती, कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए ।

विमानस्थलको उद्घाटन गर्दै खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन भएको बताएका थिए । यात्रुको माग हेरेर हप्ताको एकपटक उडान भर्ने प्रतिबद्धतासमेत उनको थियो । त्यसयता यसतर्फ भने कसैको चासो नजाँदा अहिले कोटबाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ ।

पाँच वर्षदेखि प्रयोगविहीन चौरजहारी विमानस्थल
रुकुम पश्चिमको चौरजहारी विमानस्थल पाँच वर्षदेखि बन्द छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुमपश्चिमलगायत क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित छन् । २०७५ देखि बन्द विमानस्थल सञ्चालन हुन नसक्दा नागरिक मर्कामा पर्दै आएका छन् । पहिले सातामा दुई दिन नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले सेवा दिने गरे पनि अहिले सो सेवा बन्द छ । पाँच करोड ५९ लाख ४९ हजार रुपैयाँ लागतमा २०७२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । विमानस्थलमा जहाज नआउने भएपछि अहिले यो विमानस्थल घाँसे मैदान जस्तो बनेको छ ।

डोल्पाको मसिनेचौर विमानस्थलको हालत पनि उस्तै
निर्माण कार्य सम्पन्न भइसक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । त्रिपुरासुन्दरी नगरपालिमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको छ । डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्