बेनीमा म्याद गुज्रेका सामान छ्याप्याप्ती
पर्वत– म्याग्दीको सदरमुकाम बेनी बजारमा म्याद गुज्रेका खाद्यपदार्थ छ्याप्याप्ती भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले गरेको अनुगमनमा अनुगमन उपभोग गर्न योग्य मितिसम्म पनि उल्लेख नभएका खाद्य वस्तु भेटिएका हुन् । कतिपय सामग्रीमा उपभोग्य मितिसम्म पनि नलेखिएको भेटिएको छ ।
बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको बजार क्षेत्रमा अनुगमनका क्रममा म्याद गुज्रेको पेय पदार्थ पाइएको थियो भने केही खाजाका लागि प्रयोग हुने खाद्य वस्तुमा उत्पादन मिति उल्लेख भए पनि उपभोग्य मिति नभएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
बेनी बजारको इन्द्रेणी टोलमा रहेको एउटा बेकरी उद्योग तथा बजार क्षेत्रका अन्य ६ वटा होटल एवं खाजा पसल, चटपट पसल एवं २३ वटा खाद्यान्न पसलहरूको अनुगमनमा भेटिएका म्याद गुज्रेका सामग्री तथा अखाद्य वस्तुहरु नष्ट गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिसा आचार्यको नेतृत्वमा भएको बजार अनुगमनमा चटपट पसलमा अखाद्य रङ मिसाउने गरिएको तथा प्रयोग गर्न नहुने खालको तेल चटपटमा मिसाएर बेच्ने गरेको पाइएकोले उक्त सामान जफत गरी नष्ट गरिएको थियो ।
जेरी तथा समोसा बनाउन प्रयोग गर्ने तेलको गुणस्तर परीक्षण गरी कम गुणस्तरको पाइएपछि तेल पनि नष्ट गरिएको थियो । जेरी, पुडी तथा समोसालगायतका सामग्री पकाउन प्रयोग गरेर गुणस्तर खस्केपछि चटपटमा त्यही तेल प्रयोग गर्ने गरेको चटपट व्यापारीले स्वीकारेका थिए ।
होटलहरुमा प्रयोग गर्ने सामानको गुणस्तर निरीक्षण गर्नुका साथै तारेर पकाइने खाद्यान्नका लागि प्रयोग हुने तेलको गुणस्तर मापन गर्दा गुणस्तर कम भएका स्थानबाट नष्ट गरिएको थियो । बजार क्षेत्रमा रहेका ३० वटा व्यापारीक फर्महरु अनुगमन गर्दा म्याद गुज्रेका सामग्री भेटिएको र त्यसलाई नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख सहन्सा मेहताले जानकारी दिए ।
बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा क्षेत्रमा गरिएको अनुगमनमा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, अर्कैको नामको कागजात राखेर सञ्चालन गरेको भेटिएको थियो । त्यस्तै अन्यत्र जिल्ला दर्ता गरेर म्याद गुज्रिसकेका फर्म देखाउँदै व्यवसाय गरेको जस्ता भेटिएको र उनीहरुलाई आवश्यक प्रक्रिया एक साता भित्रै पुरा गर्न निर्देशन दिएको उनको भनाइ छ । कतिपय खाद्य सामग्रीमा उत्पादन मिति लेखिएको भए पनि प्रयोग गर्न योग्य मिति नै उल्लेख नगरिएको सामग्री पनि पाइएको उनले जानकारी दिए ।
बेनी बजार क्षेत्रमा अनुगमन गर्दा लेज तथा कुरकुरे, पेयपदार्थ कोक, फ्रुटी सुजी, चाउमिन तथा बेकरीको म्याद गुज्रेको पाइएको थियो । त्यस्ता सामान नष्ट गरेको उद्योग वाणिज्य संघ म्याग्दीका प्रथम उपाध्यक्ष लिलाराम गौतमले बताए ।