पाइपबाट इन्धन ढुवानीले वार्षिक तीन अर्ब बचत
बारा– पाइपलाइनबाट डिजेल, पेट्रोल, मट्टितेल ढुवानी हुन थालेपछि नेपाल आयल निगमको वार्षिक तीन अर्ब बढी रकम बचत हुने भएको छ । ट्यांकरको ढुवानी र भाडा बापतको रकम एवं प्राविधिक नोक्सानी पूर्ण रूपमा बन्द भएपछि उक्त बचत हुने देखिएको हो ।
मोतीहारी—अमलेखगन्ज पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको सबै काम सम्पन्न भएपछि एउटै पाइपलाइनबाट पेट्रोलियम पदार्थको ढुवानी अमलेखगन्जमा सुचारु भएको छ ।
निगमका मधेश प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आर्चायले पाइपलाइनबाट पेट्रोलियम पदार्थको मल्टिप्रोडक्ट ढुवानी सुरु भइसकेको बताउँदै पेट्रोल, मट्टितेल ल्याउन मासिक नौ करोड रुपैयाँ ट्यांकर भाडा र प्राविधिक नोक्सानी २ करोड गरी ११ करोड रुपैयाँ निगमको बचत हुनेछ ।
परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतीहारीबाट अमलेखगन्जसम्म विस्तार क्रस बोर्डर पाइपबाट २०७६ भदौ २४ देखि डिजेल आउन थालेको थियो । सोही पाइपबाट यसै सातादेखि पेट्रोल, मट्टितेल मल्टिप्रोडक्ट आउन थालेको हो ।
पाइपबाट ढुवानी हुन थाले पछि ट्यांकरको अन्तर देशीय ढुवानी बन्द भएको छ । आन्तरिक सप्लाईमा मात्र ढुवानी हुनेछ । हवाइ इन्धन र एलपि ग्यासको मात्र व्यवस्थित प्रकारको ट्यांकरबाट ढुवानी हुने निगमले जनाएको छ ।
देशभरको ८० प्रतिशत पेट्रोलियम पदार्थको माग अमलेखगन्ज डिपोले धान्ने बताउँदै आर्चायले भने,‘आपतकालीन अवस्था बाहेक धनगढी, नेपालगन्ज, बिर्तामोडमा भने भारतबाट ट्यांकरमार्फत ढुवानी हुनेछ ।
पाइपबाट इन्धनको मल्टिप्रोडक्ट ढुवानी सुरु भएसँगै ट्यांकरहरूले एसोसिएसन खडा गरी अनेकौँ माग र दबाबमा निगमलाई बाध्य पार्ने प्रचलन जस्तै बनेको शैली र एकाधिकार अन्त्य भएको छ ।
ट्यांकर व्यवसायीले सञ्चालन घाटा देखाउँदै निगमसँग भाडा नबढाए भारत नजाने भन्दै गर्ने बार्गेनिङबाट निगम मुक्त भएको छ । एउटा नेपाली ट्यांकरले भारतको बरौनी डिपोमा गएर पेट्रोलियम पदार्थ ल्याउँदा ५१ हजार गाडी भाडा निगमले तिर्ने गरेको थियो । मासिक दुई हजार बढी ट्यांकर पेट्रोल र मट्टितेल लिन भारत जाने गरेका थिए । ट्यांकर ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशतसम्मले वृद्धि गर्दा आयल निगमलाई वार्षिक ८० करोड भार थपिने गरेको थियो ।
उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्ने गरी ढुवानी भाडा वृद्धि गरेको भन्दै निगमले आलोचनासमेत खेप्नु परेको निगमका अधिकारीहरू बताउँछन् ।
ट्यांकर ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुने समस्या अब अन्त्य विश्वास लिँदै उद्योग वाणिज्य संघ सिमरा–जितपुरका सभापति मोहन शर्माले मुलुकमा समय—समयमा आइपर्ने प्राकृतिक विपत्ति, महामारी, नाकाबन्दीलगायत समयमा पनि इन्धन आपूर्ति गर्न सहज हुने भएकोले व्यापार व्यवसायमा थप सहज हुने बताए ।
पाइपलाइनबाट प्रतिघण्टा औसतमा २ लाख ५० हजार लिटर पेट्रोलियम पदार्थ आउने बताउँदै निगमका इन्जिनियर प्रशान्त भट्टराईले प्राविधिक नोक्सानी शून्य तथा गुणस्तरको पनि सुनिश्चितता भएको बताए ।
दैनिक ६५ लाख लिटरसम्म डिजेल आयात हुँदै आएको छ भने अब स्टक र मागअनुसार पेटोल र मट्टितेल आयात हुन थालेको छ । भण्डारणका लागि चाहिने अन्तर्राष्ट्रियस्तरको थप दुई वटा पेट्रोलका ट्यांक निर्माण गरिएको डिपो ६७ हजार ७ सय २४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।
डिपोमा १५ हजार एक सय दश किलो लिटर क्षमताको पेट्रोल टं्याकी, २४ हजार ८ सय ४० किलो लिटर डिजेल र २ हजार २ सय ६० किलो लिटरको मट्टितेल ट्यांकी भण्डारण गर्ने क्षमता रहेको र यसले मुलुकलाई एक महिना धान्ने प्रमुख आर्चायले जानकारी गराए ।
पाइपलाइनबाट हाल डिजेल मात्रै आयात गरिँदै आएको थियो भने पेट्रोल लिनका लागि भारतको बरौनीसम्म नेपाली भाडाका ट्यांकरहरु निगमले पठाउने गरेको थियो । देशभरका करिब १९ सय ट्यांकरहरूबाट निगमले आवश्यकताअनुसार आन्तरिक ढुवानी गर्दै आएको छ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाअन्तर्गत मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ देखि सञ्चालनमा आएको थियो ।