Logo

कमला–कञ्चनपुर सडक बल्ल आधा बन्यो

काठमाडौं– कमला–कञ्चनपुर सडक विस्तार २०८० कात्तिक ११ मा पूरा हुनुपर्नेमा अहिलेसम्म ५२.५४ प्रतिशतमात्र काम भएको छ । कुल ८६.८३ किलोमिटर सडक विस्तार दुई वर्षमा सक्नका लागि २०७७ असार ११ मा सम्झौता भएको थियो ।

कुल ८६.८३ किलोमिटर सडकमध्ये ७०.३३ किलोमिटर २ लेन र १६.५० किलोमिटर ४ लेन (दुईतर्फ ६÷६ मिटरको सर्भिस लेन), ५४ वटा मेजर पुल, १४६४ पिसिएल ग्रडर, २१८ कल्भर्ट, ७४.९६ किलोमिटर ड्रेन र बस स्ट्याण्ड निर्माण गर्नु पर्नेछ । हालसम्म ५९.४३ किलोमिटर (२ लेन) बाइन्डिङ कोर्स, ३८.६८ किलोमिटर (२ लेन) अस्फाल्ट कंक्रिट, २५ मेजर पुलको डक स्लाब कस्टिङ सम्पन्न भएको छ । १२७९ वटा पिसिएल ग्रडर कस्टिङ, २१२ वटा कल्भर्ट, ७०.४८ किलोमिटर बेस (२ लेन), १४०.८१ किलोमिटर सबबेस, ५७.२२ किलोमिटर ड्रेन गरी ५२.५४ प्रतिशत काम सम्पन्न भएको छ । चाइना रेल्वे इन्जिनियरिङ कम्पनीले अहिले कञ्चनपुर–कमला सडक योजनाको पूर्वी र पश्चिमी खण्ड निर्माणको काम गरिरहेको छ ।

गत आव २०८०–८१ मा लामो समयसम्म ईआईए स्वीकृत नभएर तथा निर्माण सामग्री आपूर्तिमा असहयोग हुँदा खुटी खोलाको निर्माण सामग्री निकाल्न नसकेर काममा अवरोध भएको आयोजनाले जनाएको छ । यो आवमा पनि हालसम्म खुटी खोलाको निर्माण सामग्री निकाल्न कठिनाइ भएको छ भने आर्थिक स्रोत व्यवस्थापन गर्न नसकेर निर्माण व्यवसायीले तोकेको लक्ष्य हासिल गर्न नसकेकोले तत्काल कामको प्रगति बढाउन नोटिस टु करेक्ट जारी गरेको आयोजनाको भनाइ छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विभाग मातहतको आयोजना निर्देशनालयबाट निर्माण भइरहेको छ ।

यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड रुपैयाँ राखिएको छ । यो योजनाअन्तर्गत चार लेनको सडक ७०.३३ किलोमिटर ६ लेनको सडक १६.४९ किलोमिटर र २ लेनको ५४ वटा पुल निर्माण हुने आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले बताए । उनले भने, ‘निर्माणका क्रममा पछिल्लो समय कामले गति लिएको छ । तोकिएको समयमा काम पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता आएको थियो । तर, अहिले म्याद थपको लागि प्रस्ताव आएको छ । निर्णय हुन बाँकी छ, छलफलको क्रममा छौं ।’ उनका अनुसार स्थानीय अवरोध, निर्माण सामग्रीको अभाव, कम्पनीसँग पैसाको अभावलगायत कारण पनि निर्माणले गति नलिएको थियो ।

पूर्वी खण्ड ३९.४२ किलोमिटर सडक कालोपत्रे गर्नु पर्नेछ । यसमा ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिनेछ । ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति हुनेछ । साथै २९ वटा पुल र २ वटा अन्डरपास निर्माण हुनेछन् । यो खण्डको सडकको लागत ७ अर्ब २७ करोड रुपैयाँ रहेको छ । लहान र मिर्चैयामा चार लेन सडकको इन्टरसेक्सनमा सडकको तहभन्दा माथि दुई वटा ओभरपास निर्माण हुनेछ ।

पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार हुनेछ । १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार हुनेछ । यो खण्डको लागत ८ अर्ब ३८ करोड रुपैयाँ छ । आठ वटा अन्डरपास निर्माण हुनेछ । यो खण्डमा २५ वटा पुल निर्माण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्