कर्मचारीमा उत्प्रेरणाको महत्व «

कर्मचारीमा उत्प्रेरणाको महत्व

शाब्दिक अर्थअनुसार उत्प्रेरणा भन्नाले मानिसको यस्तो आन्तरिक इच्छा, आकांक्षा वा उद्देश्य हो जसको प्राप्तिका लागि मानिस निश्चित कार्य गर्न अग्रसर र उत्साहित हुन्छ । कुनै पनि प्रशासनिक तथा व्यावसायिक संगठनमा कार्यरत कर्मचारीलाई उनीहरूको आफ्नो तोकिएको कार्य सम्पादन गर्ने जोस, जाँगर तथा हौसला बढाई कार्यप्रति अग्रसर गराउनका निम्ति जे–जति प्रक्रिया अपनाइन्छन्, त्यसलाई नै उत्प्रेरणा भनिन्छ ।
कुनै पनि प्रशासनिक तथा व्यावसायिक संगठनमा विभिन्न विभाग स्थापना गरी कार्य सम्पादन गरिएको हुन्छ । यस्ता सम्पूर्ण विभागमा विभिन्न क्षमता तथा योग्यता भएका कर्मचारीहरू भर्ना गरी निश्चित कार्य सम्पादन गर्नका निम्ति जिम्मेवारी तोकिएको हुन्छ र त्यसै जिम्मेवारी तोकिएअनुरूपको अधिकारको पनि व्यवस्था गरिएको हुन्छ । कर्मचारीहरू आफ्ना तोकिएका जिम्मेवारीलाई प्राप्त अधिकारको प्रयोगबाट पूरा गर्ने गर्छन् । कर्मचारीहरूको आ–आफ्नो तह र पदअनुसार तोकिएका कार्यहरू पूरा गर्न लागिपरेका हुन्छन् । उनीहरू खुसी र उत्प्रेरित छन् भने तोकिएको कार्य निश्चित समयावधिभित्रै सजिलै पूरा गर्छन् । यदि उनीहरूमा उत्प्रेरणा नभएको अवस्थामा तोकिएको जिम्मेवारी निश्चित समयमा पूरा गर्न असमर्थ हुन्छन् अनि संगठनको आफ्नो लक्ष्य प्राप्तिको दिशामा बाधा उत्पन्न हुन थाल्छ । कार्यालयभित्र कार्यरत कर्मचारीहरूको यस्ता सबै अवस्थाका बारेमा जानकार रही उत्पे्ररित नभएका कर्मचारीका बारेमा विश्लेषण गरी किन उनीहरू कार्यप्रति उत्साहित छैनन् र कसरी उनीहरूलाई उत्प्रेरित गराउन सकिन्छ भन्नेबारेमा व्यवस्थापकले समयमै सही निर्णय लिन सक्नुपर्छ । यसबाट कर्मचारीहरूको कार्य सम्पादन प्रभावकारी वनाउन सकिन्छ ।
यदि कर्मचारीमा असन्तुष्टि छ, काम गर्ने जोस, जाँगर, उमंग हराएको छ अनि अल्छी मानीमानी काम गरिरहेको छ र एउटै कार्य सम्पादन गर्न पनि पटक–पटक सम्झाइरहनुपर्छ । यस्तोमा कर्मचारीमा उत्प्रेरणाको अभाव छ भनेर बुझ्नुपर्छ । उचित कार्य वातावरणको अभावमा क्षमतावान् कर्मचारीहरूले आफ्नो सम्पूर्ण क्षमता देखाइरहेका हुँदैनन् । आफ्नो योजना र फरक सोचहरू अगाडि ल्याउन अवसर नपाएको अवस्था पनि हुन सक्छ । यी सबैलाई एक सफल व्यवस्थापकले सही रूपमा बुझेर विश्लेषण गरी त्यसैअनुरूपको समाधानार्थ पहल गर्नुपर्ने हुन्छ ।
यदि संस्थामा उत्प्रेरित कर्मचारीहरू छन् भने त्यो स्थिति संस्थाका लागि अति नै बलियो अवस्थामा रहन्छ अनि त्यो मानवीय उत्प्रेरित कर्मचारीहरू संस्थाको मूल्यवान् सम्पत्ति बन्छन्, अन्यथा बोझ मात्रै हुन्छ । उत्प्रेरित कर्मचारी उच्च मनोबलका साथ, आत्मविश्वासी भएर सकारात्मक सोचका साथ आफ्नो कार्यक्षेत्रमा लाग्छ, जसबाट कार्यालयमा कर्मचारीबीच पनि एक–अर्कामा सुमधुर सम्बन्ध कायम हुन जान्छ । आपसी सहयोग बढ्न जान्छ । मिलेर कार्य गर्ने भावनाको विकास हुन्छ । कार्यालयमा कार्य गर्ने राम्रो वातावरण सिर्जना हुन पुग्छ । अनि कार्य सम्पादनको गतिमा पनि वृद्धि हुन पुग्छ । कार्यको गुणस्तरीयता बढ्न जान्छ । यसबाट आर्थिक उत्पादकत्वमा पनि वृद्धि हुन पुग्छ । यदि कर्मचारी उत्प्रेरित हुन सकेन भने यी माथि उल्लेख गरिएका सबै राम्रा पक्षहरू ठीक उल्टो हुन पुग्छन्, अर्थात् सम्पूर्ण नकारात्मक दिशातर्फ उन्मुख हुन पुग्छ । यसबाट संस्थाले आफ्नो लक्ष्य हासिल गर्न असमर्थ हुन्छ । त्यसकारण व्यवस्थापकले संस्थामा कार्यरत तल्लो तहका कर्मचारीदेखि लिएर माथिल्लोसम्मलाई कसरी उत्प्रेरित गराएर कार्यउन्मुख गराउने र संस्थाको तोकिएको लक्ष्य पूरा गर्नेतर्फ अग्रसर गराउने भन्ने कुरा जान्नुपर्छ । कर्मचारीको असन्तुष्टिको जड छिचोलेर उनीहरूलाई विभिन्न उपायद्वारा उत्प्रेरित गराउन व्यवस्थापकले जानेको हुनुपर्छ । उत्प्रेरणाका विभिन्न प्रकार प्रचलनमा छन् । ती सबैमध्ये कुनै पनि तरिका अवलम्बन गरी कर्मचारीलाई आफ्नो कार्यप्रति उत्प्रेरित गराउन सकिन्छ । कर्मचारीहरूलाई सकारात्मक उत्प्रेरणाको सिद्धान्त प्रयोग गरी उत्प्रेरित गर्नु सबैभन्दा पहिलो तथा दीर्घकालीन उपाय पनि हो, जसअनुसार उनीहरूको मनोबल बढाउने, जोस, जाँगर तथा हौसला बढाउने गर्नुपर्छ । यसका लागि कर्मचारीको प्रशंसा गर्ने र राम्रो कार्य गर्नेलाई पुरस्कार प्रदान गर्ने व्यवस्था गर्न सकिन्छ । यदि नकारात्मक उत्प्रेरणाको सिद्धान्त प्रयोग गरिन्छ भने भय, त्रास देखाउने, कर्मचारीलाई अप्ठ्यारो पर्ने ठाउँमा सरुवा गर्ने, तलब रोक्का गर्ने, काम नगर्नेलाई सेवाबाट हटाउने आदि गर्ने गरिन्छ । कर्मचारीको प्रकृति र परिस्थितिअनुसार नकारात्मक उत्प्रेरणाले पनि कहिलेकाहीं राम्रो परिणाम देखा पर्छ । तर, यो विधि सधैंभरि प्रभावकारी हुँदैन अनि राम्रो पनि मानिँदैन । त्यस्तै वित्तीय उत्प्रेरणाअन्तर्गत अर्थसँग सम्बन्धित तलब, भत्ता, बोनस, उपदान, बिमा, सेयरको व्यवस्था आदिबाट कर्मचारीलाई उत्प्रेरित गराउन सकिन्छ । त्यस्तै गैरवित्तीय उत्प्रेरणाअन्तर्गत कर्मचारीको वृत्ति विकास, सहभागितामूलक निर्णय प्रक्रिया अपनाउने, कर्मचारीलाई विभिन्न किसिमका अवसरहरू प्रदान गर्ने, जिम्मेवारी सुम्पने साथै अधिकार प्रत्यायोजन गर्ने आदि पर्छन् । यस्तै व्यक्तिगत उत्प्रेरणाका रूपमा कर्मचारीलाई प्रशंसा गर्ने, प्रमाणपत्र प्रदान गर्ने, नोकरीको सुरक्षा गर्ने, सम्मान प्रदान गर्ने, विकासका विभिन्न अवसर प्रदान गर्ने आदि विधिहरू पर्छन् । त्यस्तै गरी सामूहिक उत्पे्ररणाअन्तर्गत काममा सहभागिता, बोनस, विभागीय पुरस्कार, सुझाव व्यवस्था एवं समितिहरूको गठनजस्ता विधिहरू पर्छन् । कर्मचारीहरूलाई आन्तरिक उत्प्रेरणाको विधिअनुसार कर्मचारी कार्यमा व्यस्त रही कार्यसन्तुष्टि प्राप्त गर्ने वातावरण बनाउनुसँग सम्बन्धित रहन्छ भने बाह्य उत्प्रेरणाअन्तर्गत जीवन बिमा, बिदा वा विश्राम सुविधा, अतिरिक्त पारिश्रमिक आदिद्वारा कर्मचारीलाई उत्पे्ररित गराउन सकिन्छ । कर्मचारीलाई विभिन्न प्रकारबाट आफ्नो कार्यमा उन्मुख गराउने तरिकाहरू व्यवस्थापकले समयमै अवलम्बन गर्न सक्नुपर्छ, अन्यथा संस्थाले प्रभावकारी रूपमा कार्यसम्पादन गरी आफ्नो लक्ष्य हासिल गर्न असक्षम हुन्छ ।
यस प्रकारबाट कुनै पनि प्रशासनिक तथा व्यावसायिक संगठनमा कार्य गर्ने कर्मचारीलाई जबसम्म कार्यप्रति उत्प्रेरित गराई उनीहरूबाट बढीभन्दा बढी कार्यसम्पादन गराउन सकिँदैन तबसम्म कुनै पनि संस्थाले आफ्नो निर्धारित लक्ष्य हासिल गर्न त सक्दैन नै, झन् संस्थाको साख गुम्न पुगी संस्था धराशायी बन्ने खतरा बढ्दै जान्छ र यस्तो अवस्था लगातार दोहोरिए साँच्चै एक दिन संस्थाको अस्तित्व मेटिन पनि बेर लाग्दैन; तसर्थ कुनै पनि संस्थाले आफ्नो कर्मचारीको कार्य अवस्थाका बारेमा सदैव ध्यान दिन जरुरी हुन्छ । व्यवस्थापकले कर्मचारीमा देखिएका स–साना गुनासा र असन्तुष्टिहरूलाई बेलैमा पहिचान गरी त्यसको जरैसम्म पुगी समयमै समाधान गर्नुपर्छ । कतिपय कर्मचारी आफ्नो असन्तुष्टि प्रत्यक्ष रूपमा आफ्ना व्यवस्थापकसँग राख्न सक्दैनन् । उनीहरू गुनासो गर्न डराउँछन्, त्यो कुरा उनीहरूले आफ्नो कार्यबाट व्यक्त गर्छन् अनि पिल्सिएर मन नलागी–नलागी कार्य गर्छन् । एक सफल व्यवस्थापकले यस कुरालाई समयमै बुझ्न सक्नुपर्छ । उनीहरूसँग घुलमिल भएर सहज वातावरण बनाई समस्याका बारेमा जानकारी लिएर समाधानको पहल गर्नुपर्छ । यदि त्यसलाई मतलब नराखी थाहा पाएर पनि थाहा नपाएजस्तो गरी बेवास्ता गरियो अनि दबाउन खोजियो र हरबखत कर्मचारीलाई नियन्त्रणमै राख्ने प्रयास गरियो भने त्यो एक दिन विस्फोट पनि हुन सक्छ र त्यतिबेला नेतृत्वपंक्तिले पछुताएर बस्नुको विकल्प हुनेछैन, जतिबेला सम्पूर्ण ध्वस्त भइसकेको हुनेछ । जुन मानव संसाधनले गर्दा संगठनको उद्देश्य पुरा गर्न सकिएको हुन्छ, त्यस्तो मूल्यवान् साधनलाई अरू अन्य निर्जीव प्रकृतिका साधनलाई जस्तो व्यवहार नगरी खुसी बनाएर उनीहरूबाट बढीभन्दा बढी कार्यसम्पादन गराउने कार्य वातावरण बनाई सधैं उत्प्रेरित गराई कर्मचारीबाट धेरै काम लिन सक्नु एक सफल व्यवस्थापकको गुण हुनेछ र यो व्यवस्थापनको सीप व्यवस्थापकले अवश्य अवलम्बन गरी कर्मचारीलाई सदा उत्प्रेरित गराएर संस्थाको लक्ष्य प्राप्तिमा उन्मुख गराउनु बुद्धीमानी हुनेछ ।
(लेखक ओम डेभलपमेन्ट बैंक लिमिटेड, नारायणगढमा कार्यरत छन् ।)

प्रदीप खनाल

प्रतिक्रिया दिनुहोस्