६ वर्षदेखि स्वास्थ्य चौकीको भवन अलपत्र
पर्वत– पर्वतको फलेवास नगरपालिका–९ भँगरामा निर्माणाधीन स्वास्थ्य चौकी भवन ६ वर्षदेखि अलपत्र बनेको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि भन्दै १८ महिनामा सम्पन्न हुनेगरी विसं २०७५ साल माघदेखि निर्माण सुरु भएको स्वास्थ्य चौकीको सुविधा भवन ६ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो ।
समयमै भवन निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासी स्वास्थ्य सुविधावाट वञ्चित भएका छन् । निर्माण व्यवसायीले काम छोडेर बीचमा भागेपछि भवन अलपत्र परेको हो । दुई करोड ४४ लाख रुपैयाँमा भवन निर्माणका लागि विसं २०७५ साल माघमा नेसनल डेभलपमेन्ट निर्माण कम्पनी काठमाडौंले जिम्मा लिएको थियो ।
लामो समयसम्म भवनले पूर्णता पाउन नसक्दा निर्माण भएको पूर्वाधारसमेत जीर्ण बन्दै गएको छ । दुई तले १२ कोठे भवनमा बिरामीको उपचारका लागि औषधि भण्डारण, बिरामी चाँज कक्ष, गर्भवती जाँच कक्ष कर्मचारी आवास, प्रशासन, बर्थिङ सेन्टरका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत् निर्माण भएको भवन सम्पन्न गर्नका लागि चार पटक म्याद थप गरिसकिएको छ । ठेकेदारले बिचमै काम छोडेर बेपत्ता भएपछि आयोजनाले पटकपटक म्याद थप गदै निर्माण कम्पनीलाई तोकता गर्दै काममा लगाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर शंकरराज कोइरालाले जानकारी दिए । उनका अनुसार भवनको ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत नगरी निर्माण ब्यवसायी बेपत्ता भएको हो ।
भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडाध्यक्ष हितमान गुरुङले बताए । मौखिक रुपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचनासमेत जीर्ण र पुरानो हुँदै गएको उनको भनाइ छ । ‘वर्ष दिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ,’ उनले भने ।
गाउँमा गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सानोतिनो रोग र चोटपटक लागेमा अन्यत्र जानुपर्ने बाध्यता स्थानीयको छ । ‘सामान्य समस्या भयो भने कुश्मा वा पोखरा पुग्नुपर्ने बाध्यता छ,’ स्थानीय सुमिना गुरुङले भनिन्, ‘सुविधा सम्पन्न भवन अलपत्र परेर सेवा विस्तारमा सहज नहुँदा यहाँका महिला र ज्येष्ठ नागरिकले बढी सास्ती बेहोर्नुपरेको छ ।’
साविक गाउँ विकास समितिको पुरानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको स्वास्थ्य चौकी प्रमुख विरबल विकले बताए । वर्षात्मा भवन चुहिएर समस्या हुने गरेको उनले बताए । उनले भवन निर्माण भएर सञ्चालनमा आए यहाँ नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए ।
स्थानीयवासी तथा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले लामो समयदेखि स्वास्थ्य चौकीको भवन अलपत्र परेको देखेर चिन्तित बनेको बताइन् । सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनाउन आफनै पहलमा बजेट बिनीयोजन गर्नेदेखि आफ्नो परिवारले नि:शुल्क जग्गासमेत उपलब्ध गराएको बताउँदै ठेकेदारले काम नगर्दा समस्यामा परेको बताए । भवन तत्काल सम्पन्न गरेर सञ्चालनमा ल्याउन उनको माग छ ।